ब्रेकिङ स्टोरी

बालबालिकामा देखिने गिर्खा हुनसक्छ ठूलो रोगको संकेत

By पवन मुडभरी

May 26, 2024

काठमाडौं – अधिकांश बालबालिकाको कानमुनि वा शरीरका विभिन्न भागमा स-साना मासुका डल्ला वा गिर्खा देखिने गर्छ। धेरैले यस्ता गिर्खालाई वास्ता गर्दैनन्। तर, सबै गिर्खामा वेवास्ता गर्नु दीर्घकालीन रुपले बालबालिकाको लागि घातक हुनसक्ने चिकित्सक बताउँछन्। चिकित्सकका अनुसार गिर्खा सँगसँगै स्वास्थ्यमा अन्य समस्या देखिएका छन् र गिर्खा बढ्ने, दुख्ने समस्या भइरहेको छ भने ढिलो नगरी जाँच गराइहाल्नुपर्छ। बालबालिकामा यस्तो गिर्खा किन आउँछ ? यस्ता गिर्खा देखिए भने के गर्ने के ? यसको उपचार कस्तो हुन्छ ? यी र यस्तै विषयमा दमक अस्पताल झापामा कार्यरत नाक, कान र घाँटीरोग विशेषज्ञ डा.अरुण सापकोटासँग गरिएको कुराकानीः

विभिन्न भाइरल तथा ब्याक्टेरियल इन्फेक्सनका कारण बालबालिकामा गिर्खा आउने समस्या हुन्छ। त्योबाहेक औषधीको रियाक्सनले पनि यो समस्या देखिन्छ ।

बालबालिकामा कान तथा घाँटीमा गिर्खा आउने समस्यालाई हामीले कसरी बुझ्ने ? विभिन्न भाइरल तथा ब्याक्टेरियल इन्फेक्सनका कारण बालबालिकामा गिर्खा आउने समस्या हुन्छ। त्योबाहेक औषधीको रियाक्सन जस्तै कुनै एन्टिबायोटिक चलाउँदा गिर्खा आउने हुन्छ। त्यस्तै कहिलेकाहीँ ब्लड क्यान्सर टीबी रोगका कारणले पनि गिर्खा आउने हुन्छ। त्यसैले गिर्खा मात्रै नभएर त्यससँगै अन्य कुनै स्वास्थ्य समस्या छ कि छैन भनेर बुझ्नुपर्ने हुन्छ।

सामान्य गिर्खा वा कुनै रोगका कारण आएको गिर्खालाई कसरी छुट्याउन सकिन्छ ? टिबी हुँदा पनि गिर्खा देखिने हुन्छ। जसलाई ग्ल्यान टिबी भनिन्छ। ती गिर्खामा टिबीको किटाणु बसेको हुन्छ। तर घाँटीमा गिर्खा भेटिँदैमा आत्तिनु भने पर्दैन गिर्खा सँगसँगै खोकी लाग्ने छाती दुख्ने समस्या छ र घाँटीको भिडियो एक्सरे गर्ने क्रममा कुनै शंकास्पद रिपोर्ट आएमा लिम्फ नोडबाट पानी निकालेर परीक्षण गरिन्छ। समस्या देखिए मात्र त्यसको आधारमा उपचार गर्नुपर्छ। त्यस्तै क्यान्सरको कुरा गर्नुपर्दा गिर्खा सँगसँगै बालबालिकाको तौल घट्ने, खान मन नलाग्ने जस्ता लक्षण देखिएमा शंका गर्न सकिन्छ।

बच्चालाई टन्सिल हुँदा पनि गिर्खा आउने र बढ्ने, घट्ने हुन्छ। गिर्खा बढ्दै गयो, गिर्खा दुखिरहने समस्या छ र गिर्खा भएको ठाउँको छाला रातो हुँदै गयो भने सम्बन्धित चिकित्सकलाई देखाउनुपर्छ।

कुन आकारको गिर्खालाई सामान्य मान्ने ? सामान्यतया १ सेन्टिमिटरसम्मको गिर्खालाई सामान्य मानिन्छ। त्यस्तै बच्चालाई टन्सिल हुँदा पनि गिर्खा आउने र बढ्ने, घट्ने हुन्छ। तर गिर्खा बढ्दै गयो, गिर्खा दुखिरहने समस्या छ र गिर्खा भएको ठाउँको छाला रातो हुँदै गयो भने सम्बन्धित चिकित्सकलाई देखाउनुपर्छ।

बालबालिकामा गिर्खा आउने समस्या पछिल्लो समय बढेको हो ? पहिले पहिले सेवा सुविधा त्यति राम्रो थिएन। अभिभावकलाई चेतना पनि थिएन, बच्चाहरु ठुलो भइसकेपछि मात्रै विद्यालय जान्थे त्यसैले साना तिना समस्या लुकेर केही ठुलै रोग लागेर थला पर्दा मात्रै उपचार हुन्थ्यो। अहिले अभिभावक सचेत छन्। बालबालिका सानैमा विद्यालय जान्छन्। शिक्षकले पनि उनीहरुको समस्या थाहा पाउने हुँदा बढेको जस्तो देखिएको हुनसक्छ। अहिले बढ्नुको कारण चिसो खानेकुरा पनि हो। जस्तै आइस्क्रिम फ्रिजमा राखिएका खानेकुरा खाँदा घाँटीमा समस्या आउँछ र त्यसकै इन्फेक्सनले गिर्खा आउने हुन्छ।

ठुलो मान्छेमा जस्तो बच्चामा नाक, कान र घाँटीको क्यान्सरको जोखिम भने एकदमै कम हुन्छ।

पछिल्लो समय बालबालिकामा क्यान्सरको जोखिम बढेको छ, नाक, कान र घाँटीको क्यान्सरको अवस्था के छ ? बच्चामा लिम्फोमा, ब्लड क्यान्सर, मांशापेसीको क्यान्सर चाहिँ भइरहेकै हुन्छ। ठुलो मान्छेमा जस्तो बच्चामा नाक, कान र घाँटीको क्यान्सरको जोखिम भने एकदमै कम हुन्छ।

बालबालिकालाई थाइराइडको जोखिम कति हुन्छ ? पछिल्लो समयको खानपान र जीवनशैलीले ठुलो मान्छेमा लाग्ने रोगको बच्चामा रहेको छ। जस्तै हामी सानो हुँदा स्कुलबाट आएर केही समय खेल्ने, कुद्ने गर्थ्यौं। अहिलेका बच्चा स्कुलबाट आइसकेपछि टिभी र मोबाइलमा भुल्छन् या त ट्युसन पढ्न जानुपर्ने हुन्छ। बाहिर गएर खेल्ने कुद्ने उनीहरुलाई वातावरण नै हुँदैन। जसले गर्दा विभिन्न रोगहरु निम्तिने जोखिम बढ्दै गएको छ।

सानो बच्चाको नङ काटिदिने, नुहाउँदा कानमा कपास राख्ने, लगायत कुरामा ध्यान दियो भने नाक, कान र घाँटी सम्बन्धी समस्याबाट बचाउन सकिन्छ।

अहिले गर्मीको मौसम छ सँगसँगै पानी पनि परिरहेकाले नाक, कान र घाँटी सम्बन्धी कस्ता समस्या लिएर बालबालिका उपचारका लागि आउने गरेका छन् ? अहिले धेरैजसो नाक, कान र घाँटीको एलर्जीको समस्या लिएर धेरै बालबालिका आउने गरेका छन्। त्यस्तै टनसिल, पिनास, नाकबाट रगत बग्ने, कानको इन्फेक्सन, घाँटीमा गिर्खा आउने, कान कोट्याएर रगत बग्ने जस्ता समस्या लिएर धेरै बालबालिका उपचारका लागि आउने गरेका छन्।

बालबालिकामा देखिने नाक, कान र घाँटी सम्बन्धी समस्याबाट जोगाउन अभिभावकले के कुरामा ध्यान दिनु आवश्यक छ ? सकेसम्म बच्चालाई बाहिरको खानेकुरा खान नदिने, फ्रिजमा राखेको खानेकुरा धेरै नदिने, धुलो माटोमा खेलिसकेपछि आफै सफा गरिदिनुपर्छ। सानो बच्चाको नङ काटिदिने, नुहाउँदा कानमा कपास राख्ने, लगायत कुरामा ध्यान दियो भने नाक, कान र घाँटी सम्बन्धी समस्याबाट बचाउन सकिन्छ।