देश/प्रदेश

सहकारी प्रकरण : कार्यदलसहित शीर्ष नेताहरुको बैठक बस्दै

By खबरहब

May 26, 2024

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको कार्यादेश (टीओआर) टुंगो लगाउन कार्यदलसहित प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको बैठक आज बस्दै छ । बैठक बिहान ९ बजे बालुवाटारमा बस्ने बताइएको छ ।

शनिबार दिउँसो कार्यदलको बैठक सहमति नजिक पुगेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका सदस्यसहित शीर्ष नेताबीचको छलफल निचोडमा नपुगेपछि आज पुनः छलफल हुन लागेको हो ।

कार्यदलबीच जुनजुन सहकारीबाट रकम नियमविपरीत अपचलन भएको छ, जुन कम्पनीले लिएको छ, ती सहकारी र अपचनलमा संलग्न संस्थाहरुको नाम उल्लेख गरेर जाने र त्यसैलाई केन्द्रमा राखेर छानबिन गर्ने लगभग सहमति भएको छ ।

तर कांग्रेसले गृहमन्त्री रवि लामिछानेको नामको विकल्पमा गोर्खा मिडियाको प्रबन्ध निर्देशक उल्लेख गर्नुपर्ने प्रस्तावमा सत्ता पक्ष सहमतिमा नआइसकेको कार्यादल सदस्य जीवन परियारले जानकारी दिए ।

उनले सहकारी सञ्चालकहरू, गोरखा मिडिया नेटवर्कलगायत कम्पनीहरू, यसका सञ्चालक समितिका पदाधिकारी, प्रबन्ध निर्देशक र आवश्यक अन्य कर्मचारीका बारे समेत छानबिन गरिनुपर्छ भन्ने प्रतिपक्षको कुरामा सत्ता पक्ष सहमत भइसकेको छैन ।

यस अघि कार्यदलको बैठकमा सत्ता पक्ष ठगि भएका सहकारीको नाम र ऋण लैजाने कम्पनिको नाम उल्लेख गरेर छानबिन अगाडी बढाउन सहमत भएको थियो ।