खेलकुद

युरोकपमा फ्रान्स र पोल्याण्डले खेले बराबरी

By खबरहब

June 26, 2024

काठमाडौ– युरोकप फुटबलको समूह डीमा रहेका फ्रान्स र पोल्याण्डले बराबरी खेलेका छन् । गएराति भएको समूह चरणको अन्तिम खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।

यो बराबरीसँगै फ्रान्सले समूह विजेता बन्ने अवसर गुमाउँदै उपविजेतामा सिमित भएको छ । फ्रान्सका लागि केलियन एम्बाप्पेले एक गोल गरेका थिए । यस्तै, पोल्याण्डका रोबर्ट लेवान्डोस्कीले एक गोल फर्काएका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको ५६औँ मिनेटमा एम्बाप्पेले पेनाल्टीमार्फत गोल गर्दै फ्रान्सलाई सुरुवाती अग्रता दिलाएका थिए । तर ७९औँ मिनेटमा पोल्याण्डका लेवान्डोस्कीले गोल फर्काउँदै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि दुवैतर्फबाट थप गोल नहुँदा खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

यो समूहबाट अष्ट्रिया विजेता र फ्रान्स उपविजेताका रुपमा अन्तिम १६ मा पुग्दा ४ अंक भएको नेदरल्याण्ड्सको सम्भावना पनि बलियो छ । पोल्याण्ड भने बाहिरिसकेको छ ।