समाचार

लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता

By खबरहब

June 26, 2024

लमजुङ– लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुम गाउँमा गएराति पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता भएका छन् ।पहिरोमा परी एकजना घाइते भएका छन् ।

लगातारको वर्षासँगै घर माथिबाट आएको पहिरोले स्थानीय चित्र घले, रुद्रमान गुरुङ र पञ्चकुमारी गुरुङको घर पुरिएको हो ।

पहिरोमा परी रुद्रमान गुरुङ, पञ्चकुमारी गुरुङ र उनकी पाँच वर्षीया छोरी नम्रता तथा सात वर्षीया इच्छा गुरुङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाइँले जानकारी दिए ।

अहिले प्रहरी टोली घटनास्थलमा उद्धारका लागि जाँदै छ । रुद्रमान र पञ्चकुमारी ससुरा बुहारी हुन् भने इच्छा रुद्रमानका भाइकी नातिनी हुन् । पञ्चकुमारीको छोरो अर्को घरमा सुत्न गएकाले सकुशल छन् ।

क्व्होलासोथार गाउँपालिकाका योजना शाखा प्रमुख चित्र घलेका अनुसार गएराति २ः३० बजे पहिरो गएको हो । राति नै प्रहरी चौकी मालिङलाई खबर गरेको उनले जानकारी दिए ।

स्थानीय जुना घलेका अनुसार रुद्रमानकी श्रीमती भने छोरीको घरमा गएकाले उक्त घटनाबाट जोगिएकी छिन् ।