राजनीति

मुकुल ढकालको निष्कर्ष : घण्टी सुक्दै गयो, ८४ सम्म विवेकशीलकै हालत हुन सक्छ

By खबरहब

June 26, 2024

काठमाडौं- स्थापनाको छोटो समयमै संघीय संसद्‍का २१ सिट जित्न सफल राष्ट्रिय स्वतन्त्र पार्टी संकटतिर धकेलिएको प्रतिवेदन महामन्त्री मुकुल ढकालले ल्याएका छन् ।

महामन्त्री ढकालले वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाएको रास्वपा र सभापति रवि लामिछानेको लोकप्रियता खस्किँदै गएको ‘विश्लेषण प्रतिवेदन’ बुझाएका हुन् ।

उनले उक्त प्रतिवेदन बुधबार पार्टी सभापति रवि लामिछानेलाई बुझाएका छन् । उनले उक्त प्रतिवेदनमा गठनको दुई वर्षमै पार्टी तत्कालीन ‘विवेकशील’ कै बिजोग अवस्थामा पुग्न लागेको निष्कर्ष सुनाएका हुन् ।

‘पार्टीमा पहिलेको जस्तो ‘चार्म’ छैन, जनतामा आकर्षण घट्दै गएको छ’, ढकालले आफ्नो देश दौडाहापछिको निष्कर्ष सुनाउँदै खबरहबसँग भने, ‘विस्तारै पार्टीको चार्म सकिँदै गएको छ ।’

उनले सहकारी प्रकरणले मात्रै नभएर पार्टीले गरेका वाचा पूरा नगर्दा पनि जनतामा निराशा बढेको बताए । ‘सहकारीले मात्रै होइन, हामीले गरेको वाचाअनुसार काम नहुँदा निराशा बढेको छ’, उनले भने, ‘जनतामाझ जाँदा पार्टीको अवस्था संकटग्रस्त भएको देखेँ । हाम्राअगाडि ठूला चुनौती देखिएका छन् । मैले यसबारे नेतृत्वलाई घच्घच्याउन खोजेको छु ।’

रास्वपाले पछिल्लो सयम ‘मिसन—०८४’ अभियान चलाइरहेको छ । रास्वपाका केही नेताले पार्टी २०८४ मा पहिलो बन्ने बताइरहेका छन् । तर उता महामन्त्री ढकालले भने सभापति लामिछाने र रास्वपा दुवैको जनमत निरन्तर ओरालो लागेको देखेको प्रतिवेदन दिएका हुन् ।

गत वैशाख १० गते इलाम क्षेत्र नम्बर २ मा जमानत जफत हुने गरी रास्वपा हारेको थियो । त्यसपछि रास्वपाले नेताहरूलाई देशब्यापी अभियानमा होमेको थियो । रास्वपाले कार्यकर्ता भेटघाट र समीक्षाका लागि खटाएपछि ढकाल देश यात्रामा होमिएका थिए ।

उनले ‘समीक्षा यात्रा’ टुंग्याएर तयार पारेको‘विश्लेषण प्रतिवेदन’ सभापति लामिछानेलाई बुझाएका हुन् । उनले २०८४ मा पहिलो दल बन्ने नभई रास्वपा विघटनतिर जान सक्ने चेतावनी दिएका हुन् ।

उनले पुराना राजनीतिक दलकै फेरो समातेर सत्तामा कुदिरहेमा रास्वपा ‘विवेकशील भाग—२’ मा परिणत हुन सक्ने आँकलन पनि सुनाएका छन् ।

महामन्त्री ढकालले देश यात्राका क्रममा २ हजार ५०० सर्वसाधारणसँग कुराकानी गरेको जनाएका छन् । उनका अनुसार त्यसक्रममा ८० किलोमिटर पैदल यात्रा गरेको बताएका छन् । उनले यो यात्रका क्रममा ४ हजार २१६ किलोमिटर गाडीबाट गुडेको बताएका छन् ।

महामन्त्री ढकाल जेठ ६ गतेदेखि देश यात्रामा निस्किएका थिए । उनले असार ६ गतेसम्म ३९ जिल्लाका नेता-कार्यकर्तासँग संवाद गरेका थिए ।