अन्तर्राष्ट्रिय

चर्को लोडसेडिङको विरोधमा पाकिस्तानमा प्रदर्शन

By खबरहब

June 26, 2024

एजेन्सी – चर्को लोडसेडिङको विरोधमा पाकिस्तानको खैबर पख्तुनख्वामा प्रदर्शन भएको छ ।

बारम्बार विद्युत आपूर्ति ठप्प हुँदा जनजीवन कष्टकर बनेको भन्दै खैबर पख्तुनख्वाका पेशावर, नौसेरा र मर्दानजस्ता सहरमा प्रदर्शनको आयोजना गरिएको हो ।

प्रदर्शनकारीले ग्राण्ड ट्रंक रोडमा चक्काजाम गर्दै सरकारविरोधी नाराबाजी गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । प्रदर्शनका कारण केही एम्बुलेन्स पनि बीच बाटैमा रोकिएका छन् ।

त्यसबाहेक प्रान्तका पूर्वमुख्यमन्त्री परभेज खट्टकको कार पनि प्रदर्शनकारीको निशानामा परेको एएनआईले उल्लेख गरेको छ ।

प्रदर्शनमा पूर्वप्रधानमन्त्री इमरान खान नेतृत्वको पाकिस्तान तहरिक ए इन्साफ पीटीआई पार्टीले पनि ऐक्यबद्धता व्यक्त गरेको छ । प्रदर्शनमा व्यवसायी, विद्यार्थी, कानून व्यवसायी तथा आम सर्वसाधारणको सहभागिता रहेको जनाइएको छ ।