खेलकुद

एक शताब्दीको ओलम्पिक यात्रा : पेरिसदेखि पेरिससम्म

By मनोज घिमिरे

July 26, 2024

पहिलो पटक रङ्गशाला बाहिर उद्घाटन। विगतका धेरै ओलम्पिक खेलकुद महोत्सवमा प्रभाव जमाएको रुसको अनुपस्थिति। केही नयाँ खेल। यी र यस्तै कारणले पेरिसमा शुक्रबार मध्यरातमा उद्घाटन हुने ओलम्पिक खेलकुदको विशेष महत्त्व छ।

महत्त्व यत्तिमा सीमित छैन। एक सय वर्ष अघि पनि ओलम्पिक खेलकुदको आयोजना गरेको पेरिसमा अहिले पनि ओलम्पिक खेलकुदको आयोजना हुँदैछ। एक शताब्दी बिचका पेरिस ओलम्पिकमा धेरै भिन्नता आएका छन्। खेल सङ्ख्यामा, खेल स्तरमा र प्रविधिमा ठुलो उपलब्धि भएको छ। सबै क्षेत्रमा संसारले फड्को मारेको छ।

यो दुई साता भन्दा लामो समयको खेल महोत्सवलाई संसारले चासो पूर्वक हेरेको छ। ओलम्पिक खेलकुदको इतिहासमा फ्रान्सको सबै भन्दा ठुलो र महत्त्वपूर्ण भूमिका छ।

ओलम्पिकमा पुनः जागरण गर्ने तथा बारम्बार ओलम्पिक महोत्सवको आयोजना गर्ने देश फ्रान्सलाई यस महोत्सवको जननी नै ठान्दा पनि हुन्छ। पहिलो ओलम्पिक काँग्रेसको आयोजक फ्रान्स नै बारम्बारको आयोजक पनि हो।

पहिलो आधुनिक ओलम्पिक खेलकुदको आयोजना सन् १९८६ मा फ्रान्समा भएको थियो। दोस्रो ओलम्पिक खेलकुदको आयोजना सन् १९०० मा फ्रान्समा भएको हो। फ्रान्समा पहिलो पटक भएको ओलम्पिकमा ९९७ जना खेलाडीको सहभागिता थियो। २४ देशको सहभागिता रहेको सो ओलम्पिकमा पहिलो पटक २२ जना महिला खेलाडी सहभागी भएका थिए। बेलायतकी चार्लेट कपुर पहिलो ओलम्पिक स्वर्ण पदक विजेता महिला खेलाडी हुन्।

सन् १९२४ मा फेरि पेरिसमा नै ओलम्पिक खेलकुदको आयोजना भएको थियो। त्यस समयमा भन्दा अहिले धेरै परिवर्तन भइसकेको छ। त्यो बेला १७ खेलका १२६ स्पर्धा समावेश गरिएका थिए। १३५ महिलासहित ३०८९ खेलाडीको सहभागिता थियो। ४४ देशले सहभागिता जनाएको सो ओलम्पिक खेलकुद चार महिनासम्म चलेको थियो। त्यसै ओलम्पिकमा खेलकुदका साथै सांस्कृतिक प्रतिस्पर्धा पनि भएको थियो। आर्किटेक्चर, साहित्य, मूर्तिकला र गीत प्रतियोगिता समेत रहेको सो ओलम्पिक १५ मार्चदेखि १५ अप्रिलको बिचमा भएको थियो। चार मेदेखि २७ जुलाइसम्म खेल आयोजना भएको थियो।

त्यो ओलम्पिकमा ओलम्पिक भिलेजको व्यवस्था भएको थियो। भिलेज ओलम्पिक खेलकुदको समाप्तिपछि त्यो प्रयोग नगर्ने सोचमा साथ बनाइएको थियो। पहिलो शीतकालीन ओलम्पिक पनि सोही वर्ष फ्रान्समा नै भएको थियो। २५ जनवरीदेखि ४ फेब्रुअरीसम्म शीतकालीन ओलम्पिक आयोजना भएको थियो। १६ देशका ११ महिलासहित २५८ खेलाडी सो ओलम्पिकमा सहभागी भएका थिए। सो खेल महोत्सव १० हजार दर्शकले टिकट काटेर हेरेका थिए। फिनल्यान्डले सबै भन्दा धेरै ५ स्वर्ण पदक जितेको थियो।

त्यसको ४४ वर्षपछि शीतकालीन ओलम्पिक फेरि फ्रान्समा नै फर्किएको थियो। ग्रनोब्लेमो सो महोत्सव भएको थियो। जिन क्लाउडी किलीले पाएको सो सफलता शीतकालीन ओलम्पिकमा विशेष चर्चाको विषय बनेको थियो।

सन् १९६८ को पेरिस शीतकालीन ओलम्पिक धेरै अर्थमा विशेष रहेको छ। सोही ओलम्पिकमा धेरै प्रविधिको विकास भएको थियो।

सन् १९९२ मा फेरि एक पटक फ्रान्समा नै शीतकालीन ओलम्पिकको आयोजना भएको थियो। ८ देखि २३ फेब्रुअरीका बिचमा अल्बर्टभाइलमा भएको खेलमा ६४ देशका १८०१ खेलाडीको सहभागिता थियो। ती खेलाडीमा ४८८ महिला थिए। ५७ खेलमा उनीहरूले सहभागिता जनाएका थिए।

सन् १९९२ को शीतकालीन ओलम्पिकको अर्को विशेषता पनि थियो। शीतकालीन ओलम्पिकसँगै प्यारालिम्पिकको पनि आयोजना गरिएको थियो। अर्को ओलम्पिक खेलकुदको आयोजना २६ जुलाइका दिन फेरि पेरिसमा नै सुरु भएको छ। सो ओलम्पिकमा केही खेल बुधवार नै सुरु भइसकेका छन्। फुटबल, रग्बी सेभेन बुधबार सुरु भयो भने ह्यान्डबल बिहीबार सुरु भए।

एक शताब्दी अघि फिनल्यान्डका धावक पावो नुर्मी ओलम्पिक खेलकुदका नायक बनेका थिए। उनले सो ओलम्पिकमा पाँच स्वर्ण पदक जितेका थिए। त्यस भन्दा अघि नै उनले ओलम्पिकमा तीन स्वर्ण पदक जिती सकेका थिए।

एक सय वर्षपछि पनि नुर्मीको सो सफलतालाई पार गर्ने एथलेटिक्स खेलाडीको सफलतालाई पार गर्ने अन्य कुनै खेलाडीको जन्म हुने सम्भावना कमै छ। पावो नुर्मीको जस्तै सफलता एक शताब्दीपछि फेथ केपगेइनको नाममा हुनसक्ने छ।

फ्रान्स एथलेटिक्स डायमंड लिग

सेन नदीको किनारमा ६ किलोमिटरसम्म खेलाडीलाई बोकेर पेरिस ओलम्पिक २०२४ को उद्घाटन हुँदै छ। त्यहाँ सेलाइन डियोन र लेडी गागाले प्रस्तुति दिने छन्। यस ओलम्पिकमा पहिलो पटक महिला र पुरुषको बराबर सहभागिता रहने छ। ५२५० महिला तथा त्यत्ति नै सङ्ख्यामा पुरुषको सहभागिता रहने छ।

फ्रान्सेली राष्ट्रपति एमानुएल म्याक्रोनले सम्पूर्ण तयारी पुरा भइसकेको जनाएका छन्। पेरिस सहरको सुरक्षा अवस्थालाई ध्यान दिइएको छ। ओलम्पिक खेल महोत्सवलाई नै भनेर पाँच हजार सुरक्षाकर्मी राखिएको छ।

यो ओलम्पिकको कुल खर्च ९ अर्ब युरो अनुमान गरिएको छ। आयोजक कमिटीले इतिहासको सबै भन्दा स्वर्णिम ओलम्पिक बनाउने प्रतिबद्धता बारम्बार व्यक्त गरेको छ। फुटबलको मक्का स्टेड द फ्रान्स र रोनाल्ड ग्यारोस टेनिस कोर्टमा खेल आयोजना हुँदैछ। सेन नदीको पानीको गुणस्तरको कारण वर्षौँदेखि प्रयोगमा आएको थिएन। १७ जुलाइमा पेरिसका मेयर अन्ना हिडाल्डोले आफैले पौडने प्रयास गरेर यो सेन नदीको पानीको उपयोग योग्य भएको प्रमाणित गर्न खोजेका थिए।

आधुनिक ओलम्पिकको विकास क्रममा लामो योगदान भएको फ्रान्समा आयोजना हुने सो ओलम्पिकमा संसारका धेरै देशको चासो र ध्यान परिणाममा नै हुनेछ। यसै ओलम्पिक खेलकुदमा लगभग ६० भन्दा बढी देशले पदक पाउने सम्भावना छ। एक सय हाराहारी देश पदकको नजिक पुग्ने छन्। (चौथो वा पाँचौँ भएर गुमाउने) जनसंख्याको आधारमा संसारको ४९ औं देश तथा पुरानो संस्कृति भएको देश नेपाल भने सहभागिता जनाउने मात्र लक्ष्यका साथ सरिक हुँदै छ। स्रोत : ओलम्पिक, एटलान्टा र बिबिसी