समाचार

‘राष्ट्रियसभाका गतिविधिलाई मिडियाले दिएको प्राथमिकतामा समीक्षा गरौँ ‘

By खबरहब

July 26, 2024

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सञ्चारमाध्यमले राष्ट्रिय सभामा हुने गतिविधिलाई दिएको प्राथमिकताका बारे समीक्षा गर्नुपर्ने बताएका छन् ।

शुक्रबार काभ्रेको धुलिखेलमा आयोजित एक कार्यक्रममा दाहालले राष्ट्रिय सभाको गतिविधि पत्रकारितामा कम प्राथमिकता परेकोमा गुनासो गर्दै राष्ट्रिय सभामा हुने गतिविधिलाई दिएको प्राथमिकताका बारे समीक्षा गर्नुपर्ने बताएका हुन् ।

उनले सञ्चारमाध्यममा राष्ट्रियसभा ओझेलमा पर्दा आम नागरिक राष्ट्रिय सभाको गतिविधिमा सुसूचित हुने अवसरबाट वञ्चित हुने धारणा राखे ।

उनले सभाका गतिविधि जनतासमक्ष लैजान र नागरिकको सूचित हुने अधिकार सुनिश्चित गर्नमा जोड दिए ।

अध्यक्ष दाहालले सरकारी विधेयकको हकमा नेपालमा हालसम्म तीन वटा गैरसरकारी विधेयक ऐन बनेको इतिहास रहेको र त्यी विधेयक  राष्ट्रिय सभामै उत्पत्ति भएर ऐन बनेको जानकारी दिए ।

त्यसतै कार्यक्रममा  राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले पत्रकारले उठाएका विषय सांसद र संसदीय प्रक्रिया सुधार गर्ने अवसर हुने उल्लेख गरिन् । उनले सञ्चारमाध्यमको प्राथमिकतामा राष्ट्रिय सभा र यसको गतिविधि पर्न नसकेकोमा पनि गुनासो गरिन् ।