ब्रेकिङ स्टोरी

प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन : सरुवा-बढुवाका लागि कसैकहाँ थैलो बोकेर कुद्नुपर्दैन

By खबरहब

August 26, 2024

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार मुलुकमा स्थिरता र विकासका लागि गठन भएकाले संविधान र कानुनविपरीत अपराधीलाई छुट दिन वा निर्दोषलाई फसाउन कुनै दबाब नदिने बताएका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौँको भद्रालीस्थित नवनिर्मित भवनको सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुकको शान्ति सुरक्षाको प्रमुख जिम्मेवारीमा रहेको नेपाल प्रहरीले आपराधिक घटनाको पूर्वानुमान र अनुसन्धान गरी त्यस्ता घटना हुन नदिने र भइहालेमा कडाइका साथ कारबाही गर्नेतर्फ हरदम सचेत भएर काम गर्न निर्देशन दिए ।

अस्थिरता र अराजकता मच्चाउन खोज्ने प्रयासप्रति हरदम सचेत भएर जनतालाई शान्ति सुरक्षा दिने मामिलामा दृढ र ढुक्क भएर लाग्न उनले आग्रह गरे ।

‘वर्तमान सरकारले कुनै पनि अपराधीलाई नसमाऊ भन्दैन, निर्दोषलाई राज्य संयन्त्र प्रयोग गरेर फसाऊ भन्ने अपराध गर्दैन र दोषीलाई छाड्दैन पनि’, ओलीले भने, ‘यो सरकार केवल एक सरकारको ठाउँमा अर्को सरकार होइन, यसले केही गरौँ भन्ने अठोट लिएको छ । स्थिरताको प्रवृत्ति यसले बोकेको छ । वर्तमान सरकार देश र जनताको पक्षमा केही गर्ने सङ्कल्पका साथ गठन भएको छ । संविधान र काननुबमोजिम कर्तव्य निर्वाह गर्न प्रहरी स्वतन्त्रतापूर्वक लाग्नुपर्छ । उन्नत ज्ञानको प्रयोग गरी जनतालाई गुणस्तरीय सेवा पछि पर्नु हुँदैन ।’

प्रहरीमा बढुवा र सरुवाका लागि कुनै दौडधूप गर्न नपर्ने उनले बताए । ‘झोला थैला बोकेर कसैकहाँ कुद्नु पर्दैन, अहिलेको सरकार भात–रोटी खान्छ, घुस खाँदैन, तपाईंहरू कर्तव्य पालनामा पूर्ण स्वतन्त्र भएर ढुक्कले लाग्नुस्, अवाञ्छित र अनुचित प्रभावमा लागिरहनुपर्ने कुनै आवश्यकता छैन’, ओलीले भने ।

वर्तमान प्रधानमन्त्री ओलीकै कार्यकालमा उक्त प्रहरी परिसरका लागि नेपाल खाद्य संस्थानबाट एक अर्ब १० करोडमा १५ रोपनी जग्गा खरिदका साथै अन्य प्रबन्ध भएको थियो ।

नेपाल प्रहरीमा संरचनागतरुपमा यो भवन हालसम्मकै ठूलो उपलब्धि मानिएको छ । एक अर्ब २६ करोडको लागतमा उक्त अत्याधुनिक भवन निर्माण भएको हो ।

कार्यक्रममा गृहमन्त्री रमेश लेखकले मुलुकमा स्थिरता र शान्ति सुरक्षाका लागि ठूला दलको सहभागितामा सरकार बनेको बताए ।

उनले सरकार गठनको एक महिनामै सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनमा सहमति हुनु उपलब्धि भएको बताए ।