आर्थिक

खसीबोकामा आत्मनिर्भर बन्यो कोशी प्रदेश, भारततिर निर्यात सुरु

By खबरहब

October 27, 2024

सुनसरी – खसीबोकाको मासुमा कोशी प्रदेश तीन वर्षयता आत्मनिर्भर देखिएको छ । तीन वर्ष अघिको दशैँ–तिहार र छठजस्ता चाडपर्वमा मासुको माग धान्न भारतबाट खसीबोका भित्र्याएको प्रदेश अबलाई आत्मनिर्भर बनेको हो ।

धरानस्थित कृषिउपज बजार व्यवस्थापन समितिका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार कोशीबाट पछिल्लो समय माउबाख्रा र पाठापाठी भारतीय बजारतर्फ निर्यात हुन थालेको छ ।

भट्टराइले भने, ‘खसीबोकाको मासुमा कोशी प्रदेश आत्मनिर्भर हुन थालेको छ । धरानको कृषि उपज बजार कोशी प्रदेशका दर्जन जिल्लाका पशुपालक कृषक र व्यापारीहरूले खसीबोका खरिद बिक्री गर्ने केन्द्रका रूपमा स्थापित हुँदैछ ।’ उनका अनुसार यो वर्ष उक्त बजारबाट डेढ अर्ब रुपैयाँ बराबरका खसीबोका बिक्री भएको थियो ।

कोरोना महामारी फैलिएका दुई आर्थिक वर्षमा वार्षिक सवा अर्ब रुपैयाँ बराबरको मात्र खसीबोका खरिदबिक्री भएको थियो । तर, तीन वर्षयता वार्षिक सरदर डेढ अर्ब रुपैयाँको कारोबार हुँदै आएको व्यवस्थापक भट्टराईले बताए ।

उनले भने, ‘यो वर्ष हाम्रो अभिलेखमा ८० हजारवटा खसीबोका खरिदबिक्री भएको तथ्याङ्क छ ।’ मासुको प्रयोजनका लागि मात्रै यो वर्षको दशैँतिहार लक्षित खसीबोका करिब सातवटा अर्थात् औषतमा १२ करोड रुपैयाँ बराबरको खरिदबिक्री भएको व्यवस्थापक भट्टराईले बताए ।

यो वर्षको चाडबाडको पूर्व छेकोमा लगातार वर्षाले निम्त्याएको बाढीपहिरोका कारण सडक अवरुद्ध भएको थियो । तर पनि कोशी प्रदेशका पहाडी जिल्लाका पशुपालक किसानहरूले धरानको कृषिउपज बजारमा तीन सातामा करिब १२ करोड रुपैयाँ बराबरका खसीबोका बिक्री गरेका छन् ।

गत आर्थिक वर्षको दशैँतिहारमा पनि यो बजारमा करिब ११ करोड रुपैयाँ मूल्य बराबरका खसीबोका बिक्री गरिएको थियो । कोशी प्रदेशका पहाडी जिल्लाहरूबाट धरान ल्याइएका खसीबोका काठमाडौँ, पोखरा र वीरगन्ज लगायत तराईका विभिन्न शहरमा पुर्‍याउने गरिएको छ ।

भट्टराईका अनुसार तीमध्ये करिब १० प्रतिशत माउबाख्रा र पाठापाठी भारतीय बजारमा अनौपचारिक मार्गबाट निर्यात गरिएको छ । व्यवस्थापक भट्टराईका अनुसार पूर्वी पहाडका पशुपालक किसानहरूले उत्पादन गरेका खसीबोका व्यापारीमार्फत अनौपचारिक मार्ग भएर भारतीय बजार निर्यात हुनु खसीबोकाको मासुमा आत्मनिर्भर हुँदै गएको सङ्केत हो ।

उनले भने, ‘केही वर्ष अघिसम्म खसीबोकाको मासुमा आत्मनिर्भर नहुँदा कोशी प्रदेशका व्यापारीमार्फत नेपाली उपभोक्तासम्म भारतीय खसीबोका पुग्ने गरेका थिए । तर पछिल्लो समय पूर्वी पहाडमा खसीबोकापालक किसानहरूको सङ्ख्यामा वृद्धि भएसँगै नेपालको खसीबोका भारतीय बजारमा निर्यात हुन थालेका छन् । यो हाम्रा लागि राम्रो सङ्केत हो ।’

कोशीमा वर्षभर हुनेमध्ये करिब १५ प्रतिशत खसीबोका कारोबार दशैँतिहारजस्ता चाडबाडका बेला हुने गर्छ । चाडबाडको बेला बढी कारोबार हुनुका कारण भने अनेक छन् ।

अधिकांश पशुपालक किसानले घरमा पालेको खसीबोका बिक्री गरेको पैसाबाटै दशैँतिहारको खर्च जोहो गर्ने भएकाले दशैँ तिहारको बेला खसीबोकाको खरिदबिक्री बढी हुने गरेको व्यवस्थापक भट्टराईले बताए ।

उनले भने, ‘पशुपालक किसानले स्थानीय व्यापारीलाई बिक्री गर्ने र ती स्थानीय व्यापारीले ठूला व्यापारीलाई खसीबोका बिक्री गर्ने गरेका छन् । धरानको कृषिउपज बजारमा किसान र व्यापारीलाई प्रत्येक बिहीबार र शुक्रबार बस्ने व्यवस्था नै मिलाइएको छ ।’ उनका अनुसार खसीबोका कारोबार गर्नेमध्ये बिहीबार र शुक्रबारे बजारमा ८० प्रतिशत किसान र २० प्रतिशत व्यापारी आउने गरेका छन् ।

शुक्रबार लाग्ने खसी बजारका लागि तीन दिनअघि नै पूर्वी पहाडी जिल्लाहरू ताप्लेजुङ, भोजपुर, सङ्खुवासभा, खोटाङ, तेह्रथुम, धनकुटा, उदयपुर र सुनसरीलगायत जिल्लाका पशुपालक र व्यवसायीहरूले खसीबाख्रा र भेडाच्याङ्ग्रा ल्याउने गरेका छन् ।

खसीबोका व्यापारी राम बस्नेतले भने, ‘यो वर्षको दशैँ तिहारलाई लक्षित गरेर मैले करिब १५ लाख रुपैयाँको खसीबोका खरिदबिक्री गरेँ । भारतीय खसीबोका नेपाली बजारमा ल्याउने चलन पनि विस्थापित गरियो । बरु उल्टै उनीहरूले यताबाट खरिद गरेर लैजान थालेका छन् । यसो गर्दा खसीबोकाको कारोबारमार्फत थोरै भए पनि विदेशी मुद्रा नेपालमा भित्र्याउन किसानहरू सफल भएका छन् । हामी सबैका लागि यो खुसीको कुरा हो ।’

कृषिउपज बजारमा पशुपालक किसानबाट व्यापारीहरूले खसीबोका खरिद बिक्री गर्दा र अन्य जिल्लामा निकासा गर्दा नेपाल सरकारबाट मान्यताप्राप्त पशु चिकित्सकबाट निरोगिताको प्रमाणपत्र अनिवार्य लिनुपर्ने प्रावधान रहेको पशु चिकित्सक बिर्खराज राईले बताए ।

उनले भने, ‘खसीबोका मासुको प्रयोजनका लागि खरिदबिक्री हुने भएकाले निरोगिताको प्रमाण पत्र अनिवार्य गरिएको हो ।’