आर्थिक

शेयरबजारले दशैँ मनाउनै खोजेको हो ?

By खबरहब

September 27, 2024

काठमाडौं – जब शेयर बजार बढ्दो प्रवृत्ति (बुल ट्रेन्ड)मा हुन्छ – तब चोकको चियाअड्डादेखि गल्लीभित्र भट्टी पसलसम्म यसैको चर्चा चुलिने गर्छ । त्यही चर्चा सुनेकै भरमा केही नबुझेका पनि शेयर बजारमा प्रवेश गर्छन् ।

शेयर बजारमा दैनिकजसो कारोबार गर्नेहरू बजारबारे जानकार हुन्छन् । त्यही किसिमले लगानी गरेका हुन्छन्, बजारबाट फाइदा पनि त्यही किसिमले लिन्छन् । तर, पढेलेखेका र कुनै पेसामा लागेका व्यक्तिले नै शेयर बजारबारे त्यति धेरै नजानेका पनि हुन सक्छन् ।

पुँजीबजारको ज्ञानबिनै बुल ट्रेन्डका बेला शेयर कारोबारमा निकै धेरै लगानीकर्ता थपिन्छन् । तर, बजार जब घट्दो प्रवृत्ति (वियरिस ट्रेण्ड) मा जान्छ, तब त्यस्ता लगानीकर्तालाई ‘शेयरबजार’ शब्द नै सुन्न मन लाग्दैन ।

बजारबारे कसैले कुरा मात्र गरे पनि बुल मार्केटमा छिरेकाहरू बजार वियरिस बजारमा रिसाउने गर्छन् । नेपालको शेयरबजारका नयाँ लगानीकर्ताको हालत पछिल्लो महिना ठ्याक्कै यस्तै छ ।

नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बीचको सत्ता गठजोड टुटेर नेपाली कांग्रेस र नेकपा (एमाले) को सरकार बन्ने चर्चा सुरु भएदेखि बढेको शेयर बजार उच्चतम ३०३६ विन्दुसम्म पुग्यो । यो क्रममा शेयर बजारको चर्चा यसरी चुलियो कि अब विगतमा नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले बनाएको ३२०० को विन्दु पनि पार गर्छ भन्ने चर्चा चलाइयो ।

साविक शेयर कारोबारीहरूले नयाँ लगानीकर्ताहरूलाई त्यो बेला बजार कहिल्यै घट्नै सक्दैन भनी उत्साहित बनाएका थिए । तर, बजार चर्चा चलेझैँ बढेन ।

साउन ३१ गते बिहीबार नेप्सेउ ३००० विन्दुसम्म पुगेर पुनः फर्कियो । उक्त दिन नेप्सेले उच्चतम ३०३६ विन्दुसम्म रेकर्ड बनाएको थियो । त्यसयता भने नेप्से निरन्तर घटेर असोज १० गते बिहीबार भने २४८६ विन्दुमा आइपुगेको छ ।

तीन हजार विन्दुमा पुगेयता २५ दिन नेप्से कारोबार हुँदा नेप्से ५१४ अङ्कले घटिसकेको छ । साउन ३१ यता १७ दिन बजार घटेको छ भने आठ दिनमात्र बढेको छ ।

पछिल्लो एक साता (असोज ६ देखि ११ सम्म)मा मात्र नेप्से ९० अङ्कले घटेको छ । सातामा पूरा ५ दिन शेयर कारोबार हुँदा दैनिक औसत १८ अङ्कले नेप्से घटेको हो ।

अब दशैँ र तिहार लगायत चाडपर्वको सिजन सुरु भइसकेको छ । लगानीकर्ता तथा बजारका जानकारहरू भन्छन् – अब चाडबाडअघि शेयरबजार बढ्दैन । चाडबाडका बेला खर्च बढ्ने हुँदा अन्य क्षेत्रमा मानिस लाग्ने भएकाले अहिले बजार नबढ्ने लगानीकर्ताको तर्क छ ।

विगतको ट्रेण्ड हेर्दा पनि चाडबाडका बेला बजार घटेकाले दशैँअघि बजार बढिहाल्छ भन्न नसकिने लगानीकर्ता महेश रिजाल बताउँछन् । ‘अहिले लगानी गर्ने उपयुक्त समय हो’, रिजालले भने, ‘अब चार दिनजति बजार घटेन र सम्हालियो भने कारोबार बढ्छ जस्तो लाग्छ, हैन भने भन्न सकिन्न ।’

दशैँ तिहार सकिएपछि भने राम्रो माहोल आउने रिजाल बताउँछन् । ‘अघिल्लो वर्षहरूमा हेर्दा पनि दशैं, तिहारका बेला अलिकति घटेकै पाउँछौँ’, रिजालले भने ।

शेयर विश्लेषका राजु पौडेल विगतका वर्षहरूमा पनि दशैँका बेला शेयर बजार घट्ने गरेको बताउँछन् । ‘हाम्रो शेयर बजार सिजनल छ’, पौडेलले भने, ‘व्यापारीहरू पनि टन्न पैसा लिएर बजारमा छिरेका थिए, माहोल राम्रो हुँदा त्यो बेला बजार बढेको थियो, व्यापारीहरूले दशैं, तिहार र छठको सामान खरिद गर्न शेयर बेचेपछि बजार घट्यो ।’

सरकारले पनि शेयर बजारलाई समर्थन गरेकाले चाडबाड सकिएपछि बजार बढ्ने विश्लेषक पौडेलको भनाइ छ । ‘चाडबाडको बेलामा यस्तै हो भनेर ट्रेडरहरू पनि अहिले इन्ट्री गर्दैनन्’, पौडेलले भने, ‘त्यसले गर्दा बजार घटेको हो, अरू नकारात्मक फण्डा केही पनि छैन ।’

सरकारले दुई–चारवटा राम्रो नीति ल्याइदिए बजार पाँच हजार विन्दुमा पुग्ने लगानीकर्ता दीपेन्द्र अग्रवाल बताउँछन् । ‘व्यक्तिगत क्याप हटाउनुपर्‍यो, प्रत्यक्ष वैदेशिक लगानी (एफडीआइ) ल्याउनुपर्‍यो, प्रिमियममा आईपीओ ल्याउने व्यवस्था हटाउनुपर्‍यो’, अग्रवालले भने, ‘यति गरे बजार पाँच हजार विन्दुमा पनि अडिनेछैन ।’

शेयर प्रशिक्षक सुवासचन्द्र भट्टराई भने शेयर बजार ६ हजार विन्दुमा पुग्ने शतप्रतिशत ठोकुवा गर्छन् । अहिले शेयर किनेको किनै गर्न उनको सुझाव छ ।

‘बजारको काम नै घटबढ हुने हो’, भट्टराईले भने, ‘हाम्रो बजार २९८२ सम्म जान्छ नै ! त्यसपछि फेरि बजारमा करेक्सन छ, त्यसपछि बजारले ३२०० पार गर्न खोज्छ तर पार गर्न सक्दैन, अनि फेरि बजार बढेपछि ३२०० लाई पार गर्छ ।’ नेप्से परिसूचक ३२०० विन्दु पार गरेको ६ महिनाभित्रै एक हजार अङ्कले बढेको देख्न सकिने भट्टराईको दाबी छ ।

शेयर बजारमा लगानीकर्ताले अनुशासन देखाउनुपर्ने पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल बताउँछिन् । ‘बजार थोरै बढ्यो भने फालिहाल्ने र फेरि किन्ने लगानीकर्ताको बानी देखिन्छ’, पोखरेलले भनिन्, ‘हामीले त्यो बानी पनि परिवर्तन गर्नुपर्छ ।’

बजारमा भित्री कारोबार र प्रभावित पार्ने खेल हुने हुनाले लगानीकर्ता सजग हुनुपर्ने पोखरलेको भनाइ छ । ठूला लगानीकर्ताले आफू अनुकूल बजार चलाउन खोजेकाले पनि सबै चिज पोजेटिभ हुँदा पनि बजार घटिरहेको उनको तर्क छ ।

सूचकसँगै घट्दैछ कारोबार

नेप्से परिसूचक ३००० विन्दुमा पुगेको दिन २९ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । तर, अहिले दैनिक औसत पाँच अर्ब रुपैयाँ हाराहारीमा मात्र शेयर कारोबार भइरहेको छ । जसरी बजार घटिरहेको छ – त्यसरी नै कारोबार रकम पनि गिर्दो छ ।

असोजको दोस्रो साता पाँच दिन अवधिमा २५ अर्ब ३८ करोड २१ लाख रुपैयाँ बराबरको शेयर कारोबार हुँदा दैनिक औसत पाँच अर्ब ७ करोड ६१ लाख रुपैयाँ बराबरमा सीमित रह्यो ।

चाडबाडको असरले बजारसँगै कारोबार रकममा प्रभाव पारेको विश्लेषक पौडेलेको तर्क छ । व्यापारीहरूको पैसा बजारमा नआएका कारण अहिले कारोबार रकममा कमी आएको उनी बताउँछन् । मध्यमदेखि खुद्रा लगानीकर्ता र विद्यार्थीहरूले पनि चाडबाडकै बेला शेयर बेचेर गाउँ जाने गर्नले पनि बजारमा असर गर्ने गरेको पौडेलको भनाइ छ ।

धेरै मानिसले दशैं र तिहारपछि नै लगानी गर्ने भएकाले कारोबार पनि नबढेको लगानीकर्ता रिजालको भनाइ छ । नेपालीले दशैं, तिहारलाई बढी महत्व दिने गरेको र भदौ मसान्त पनि परेकाले पनि मानिसलाई अन्य व्यवस्थापन निम्ति बढी रकम जोहो गर्नुपरेकाले त्यसको असर शेयर बजारमा देखिएको उनको तर्क छ ।

‘यो बेला बैंकको ब्याज तिर्न, कर तिर्न र चाडबाड मनाउन मानिसलाई पैसा चाहिएको छ’, रिजालले भने, ‘त्यसले गर्दा पनि शेयर बजारमा कारोबार कम भएको हुन सक्छ ।’

कारोबार घट्नु भनेको लगानीकर्ताले आफूले किनेको शेयर सस्तोमा बेच्न नचाहेको बुझ्नुपर्ने अग्रवाल बताउँछन् । ‘माथि उठेर खान चाहेका छैनन् भने तल गएर पनि बेच्न चाहेका छैनन् भन्ने बुझिन्छ’, अग्रवालले भने, ‘बजार घट्दो क्रममा हुँदा २ बजेपछि घट्ने र बुल भए बढ्ने गरेको छ ।’

यो सातामा ५ करोड ३९ लाख ३ हजार ५५ कित्ता शेयर किनबेच हुँदा दैनिक औसत एक करोड ७ लाख ८० हजार ६११ कित्ता कारोबार भएको छ । पाँच दिनमा तीन लाख ५४ हजार ९८६ पटक शेयर किनबेच भएको छ । दैनिक औसतमा ७० हजार ९९७ पटक शेयर किनबेच भएको नेप्सेको तथ्यांकमा देखिन्छ ।

साताको कुन दिन कस्तो रह्यो बजार ?

यो साता पूरै पाँच दिन शेयर बजार खुल्दा दुई दिन बजार बढ्यो भने तीन दिन घट्यो । साताको पहिलो दिन साढे ११ अङ्कले बढेर लगानीकर्तालाई उत्साहित बनाएको बजारले सोमबार भने पुनः निराश बनायो ।

आइतबार नेप्से परिसूचक उच्चतम २६७० र न्यूनतम २६४३ विन्दुसम्म पुगेको थियो । तर, बजार बन्द हुँदा २५८८ विन्दु कायम भएको थियो । चार अर्ब ९० करोड ८७ लाख रुपैयाँको कारोबार हुँदा ९७ लाख ९३ हजार ५३३ कित्ता शेयर ७१ हजार पटक किनबेच भएको थियो ।

साताका पहिलो दिन आइतबार हरियालीमय बजार सोमबार भने राताम्मे देखियो । सोमबार ५९ अङ्कले बजार घटेर नेप्से परिसूचक २५२९ विन्दुमा आयो । उक्त दिन परिसूचक न्यूनतम २५१७ र उच्चतम २६०८ विन्दुसम्म पुगेको थियो ।

सोमबार नेप्सेमा बाढी आउँदा कारोबार रकममा भने केही बढोत्तरी भयो । उक्त दिन साढे पाँच अर्ब रुपैयाँको एक करोड ११ लाख ४६ हजार १६८ कित्ता शेयर ७५ हजार पटक किनबेच भयो ।

शेयर बजारको बाढी मंगलबार पनि रोकिएन । मंगलबार नेप्से ५९ अङ्कले घटेर ३४७० विन्दुमा आयो । उक्त दिन परिसूचक उच्चतम २५४७ विन्दु र न्यूनतम २४६२ विन्दुसम्म पुग्यो ।

मंगलबार नेप्से राताम्य हुँदा पनि कारोबार रकम भने केही मात्रामा बढ्यो । उक्त दिन पाँच अर्ब ५३ करोड रुपैयाँ बराबरको एक करोड २० लाख ७० हजार ८६५ कित्ता शेयर किनबेच भयो । ७५ हजार ७३९ पटक शेयर किनबेच भएको थियो ।

बुधबार भने शेयर बजारमा पुनः रौनक फर्कियो । बुधबार नेप्से ४९ अङ्कले बढेर परिसूचक २५१९ विन्दुमा आयो । उक्त दिन परिसूचक न्यूनतम २४४३ र उच्चतम २५१९ विन्दु कायम भएको थियो ।

बुधबार बजारमा रौनक फर्किदा भने कारोबारमा भने लगानीकर्ताको उत्साह देखिएन । उक्त दिन चार अर्ब ६९ करोड रुपैयाँ बराबरको एक करोड ६ लाख ७८ हजार ३८२ कित्ता शेयर ६७ हजार ८९० पटक किनबेच भयो ।

शेयर बजारको हरियाली एक दिन पनि नटिकी बिहीबार नेप्से पुनः घट्यो ।साढे ३२ अङ्कले घटेर २४८६ विन्दुमा पुगेको नेप्से परिसूचक न्यूनतम २४७९ र उच्चतम २५४१ विन्दुसम्म पुगेको थियो ।

बजार घटेसँगै बिहीबार कारोबार रकम पनि खुम्चियो । उक्त दिन चार अर्ब ७४ करोड रुपैयाँ बराबरको एक करोड दुई लाख १४ हजार १०७ कित्ता शेयर ६४ हजार १३५ पकटक किनबेच भयो ।