अटो

दशैँकै मुखमा बढ्यो हवाई भाडा, जहिल्यै किन यस्तो ?

By खबरहब

September 27, 2024

काठमाडौं – बहुसंख्यक नेपालीले मनाउने सबैभन्दा ठूलो चाड दशैँ सुरु हुन तिथिका हिसाबले अब एक सातामात्रै बाँकी छ । कामविशेषले अन्यत्र रहेकाहरू असोज १७ गते घटस्थापनासँगै दशैँ मनाउन घर फर्कने हतारोमा हुन्छन् ।

दशैँमा देशभर कम्तिमा ८० लाख मानिसले आवतजावत गर्ने यातायात व्यवसायीहरू बताउँछन् । काठमाडौंबाट मात्रै सार्वजनिक यातायात चढेर १० लाख मानिस दशैँ मनाउन गाउँघर फर्कने अनुमान छ ।

चाड मनाउन अधिकांश नागरिक सडकमार्ग हुँदै घर–शहर ओहरदोहर गर्छन् । तर, बढ्दो मध्यमवर्ग र सडक यातायातमा भोग्नुपर्ने सास्तीका कारण दशैँका बेला घर फर्कन हवाईमार्ग रोज्ने यात्रुको संख्या एक लाख हाराहारी पुगिसकेको छ ।

हवाई कम्पनीहरूले दशैँको मुखमा टिकटको भाडा बढाउनेदेखि पछि आफ्नो समय अनुकूलको टिकट नपाउने डरले मानिसहरूले अघिदेखि नै टिकट बुकिङ गर्ने गर्छन् । आन्तरिक वायुसेवा कम्पनीहरूलाई यतिखेर दशैँलक्षित हवाई टिकट बेच्न भ्याइनभ्याइ छ । यात्रुहरूले पनि टिकट धमाधम लिइरहेका छन् । ८० प्रतिशतभन्दा बढी टिकट बुक भइसकेको कम्पनीहरूले दाबी गरेका छन्‌ ।

तर, सडकमा गुड्ने सार्वजनिक यातायातमा चाडबाडका बेला भाडामा जस्तो बेथिति देखिन्छ – टिकटको मूल्यका हिसाबले हवाई यातायातमा पनि उस्तै अवस्था छ । अन्य समयको तुलनामा यतिबेला हवाई टिकटको मूल्य दोब्बरसम्म बढेको छ ।

यो पनि-

काठमाडौँ–दिल्ली भन्दा काठमाडौँ–धनगढीको हवाई भाडा महँगो

नेपालमा आन्तरिक उडानतर्फ केही दुर्गम गन्तव्यमा नेपाल एयरलाइन्सका विमानले सेवा प्रदान गरिरहेका छन् । अधिकांश सुगम गन्तव्यमा निजी क्षेत्रका वायुसेवा कम्पनीहरू बुद्ध, यति, श्री लगायतले व्यवसायिक उडान भर्ने गरेका छन् । केही हेलिकोप्टर कम्पनीहरूले पनि बुकिङको आधारमा यात्रुहरूलाई गन्तव्यमा पुर्‍याउने गर्छन् ।

अहिले नेपालमा दैनिक उडान सङ्ख्या १७० हाराहारीमा हुनेगरेको छ । त्यसमा पनि सबैभन्दा बढी आन्तरिक उडान देशका मुख्य शहरमा हुने गर्छ । मुख्यगरी काठमाडौंदेखि धनगढी, भैरहवा, सिमरा, सुर्खेत, नेपालगञ्ज, विराटनगर, भद्रपुर, पोखरा, जनकपुर र भरतपुरजस्ता शहरहरूमा अन्य गन्तव्यमा भन्दा बढी उडान हुने गर्छ ।

अहिले नेपालको आन्तरिक उडानतर्फको करिब ८० प्रतिशत टिकट बुकिङ भइसकेको बुद्ध यति र श्री एयरलाइन्सले जनाएका छन् । आन्तरिक उडानमा सबैभन्दा धेरै विमान बुद्ध एयरसँग छ । सो कम्पनीसँग हाल १८ वटा विमान छन् । जसमा २ वटा ४७ सिटका क्षमता भएका र अन्य ७२ सिट क्षमताका छन् ।

यस्तै, श्री एयलाइन्सका ८ वटा र यतिका ८ वटा विमानहरू सञ्चालनमा छन् । अन्य कम्पनीले पनि केही संख्याका विमानमार्फत आन्तरिक गन्तव्यमा उडान भर्ने गरेका छन् ।

दशैँको पूर्वसन्ध्यामा साविकभन्दा बढी मूल्य तिरेर यात्रुहरूले हवाई टिकट खरिद गरिरहेका छन् । तर, कम्पनीहरू भन्छन् – हवाई उडानमा दशैँ विशेष टिकट बुकिङ भन्ने नै हुँदैन । दशैँमा हवाई भाडा वृद्धि गर्ने भन्ने पनि हुँदैन ।

तर, दशैँका बेला हवाई भाडा ह्वात्तै बढ्दा यात्रुहरूलाई आर्थिक भार स्वतः बढिरहेको छ ।

किन बढ्छ दशैँमा हवाई भाडा ?

दशैँ सुरु हुन एक महिना अघिदेखि नै हवाई भाडा दोब्बर भइसकेको थियो । के कम्पनीहरूले दशैँको बेलामा आफूखुसी भाडा बढाएकै हुन त ?

वायुसेवा कम्पनीहरूले भाडा नबढाएको दाबी गरेका छन् । नेपालको हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) ले पनि वायुसेवा कम्पनीहरूले दशैँको बेला हवाई भाडा नबढाएको बताएको छ ।

क्यानका प्रवक्ता हंशराज पाण्डेले हवाई भाडादर तीन वर्षदेखि एउटै रहेको खबरहबलाई बताए । साथै, उनले तोकिएभन्दा बढी भाडा लिए कम्पनीहरूमाथि कारबाही हुने समेत दाबी गरे ।

‘सबै वायुसेवा कम्पनीहरूको भाडादर अनुसार भाडा लिन्छन्, यदि त्यो भन्दा बढी उठाएको वा तोकिएको भाडादरभन्दा बढी उठाएको पाइएमा हामीले कारबाही गर्छौं’, उनले भने, ‘तर, यात्रुहरूले के बुझ्नुपर्‍यो भने अन्य समयमा न्यूनतम भाडामा उडान भइरहेको हुन्छ, यात्रुको बढी चाप पर्ने दशैँतिहार लगायत चाडपर्वका बेला तोकिएको उच्चतम भाडादरमा उडान हुने गर्दछ ।’

दशैँको बेला विमान भाडा बढ्नुमा काठमाडौंबाट बाहिर जाने यात्रु बढी हुने र रित्तो जहाज फर्काउनुपर्ने अवस्था कारक रहेको पाण्डेको भनाइ छ । तर, अन्य बेला दुवैतर्फ यात्रु पाइने हुँदा कम्पनीहरूले न्यूनतम भाडादरमै टिकट प्रदान गर्ने गरेको उनले बताए ।

‘अन्य समयमा हवाई यात्रा गर्ने यात्रु पनि कम हुने र यात्रु आकर्षण गर्नकै लागि पनि कम्पनीहरूले न्यूनतम भाडामा उडान भर्ने गर्छन् । तर, अहिले त यात्रुको चाप नै बढी हुने गर्छ’, पाण्डे भन्छन्, ‘अहिले एउटा यात्रु नगए अर्को जान्छ भन्ने हुन्छ, त्यसकारण पनि भाडा उच्चतम नै बनाउने गर्दछन् ।’

हालसम्म आन्तरिक देशभरका सबै आन्तरिक गन्तव्यमा हवाई उडानको अधिकतम भाडा १७ हजार रुपैयाँ छ । त्यो भन्दा बढी भाडा लिएको भनी हालसम्म कुनै गुनासो नआएको प्राधिकरण प्रवक्ता पाण्डेले जानकारी दिए ।

प्राधिकरणको सिफारिसमा नेपाल सरकारले हवाई भाडा दर निर्धारण गर्छ । प्राधिकरणका अनुसार हवाई भाडादर तीन वर्षदेखि स्थिर छ । पेट्रोलियम पदार्थको मूल्यका आधारमा केही घटबढ भए पनि त्यसले धेरै फरक नपार्ने पाण्डेले बताए ।

वायुसेवा सेवा संचालक संघका अध्यक्ष मनोज कार्की पनि दशैँमा हवाई भाडा मनलाग्दी बढाउन नसकिने दाबी गर्छन् । हवाई कम्पनीहरूले अन्य समयमा न्यूनतम भाडामा उडान गर्ने गरेकोमा चाडवाडको समयमा भने तोकिएको उच्चतम भाडामा उडान भर्ने गरेको कार्कीले खबरहबलाई बताए ।

‘अन्य समयमा विमानको सीट नै खाली हुन्छ, ८/१० जना मानिसहरू लिएर पनि उडान भर्नुपर्ने हुन्छ । तर, चाडवाडको समयमा भने यात्रु चाप उच्च हुन्छ । त्यसैले सरकारले तोकेको नियमभित्र रहेर नै हवाई भाडा उच्चतम बिन्दुमा पुर्‍याइन्छ र अन्य समयमा भएको घाटा केही परिपूर्ति गर्ने प्रयास हुन्छ’, अध्यक्ष कार्कीले भने ।

कुन गन्तव्यको भाडादर कति ?

नियामक नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)ले आन्तरिक हवाई भाडा निर्धारण गर्ने गर्छ । यसरी निर्धारण भएको भाडादर ‘हवाई भाडा नियमन निर्देशिका, २०७३’ बमोजिम कार्यान्वयन गर्छ ।

क्यानले आन्तरिक विमानस्थलहरूलाई ट्रङ्क, टूरिस्टस्टोल गरी तीन समूहमा विभाजन गरी हवाई भाडा तोक्ने गर्छ । तोकिएको भाडामा इन्धनको मूल्यअनुसार ‘सजचार्ज’ पनि जोडिन्छ ।

नेपालको आन्तरिक उडानमा अहिले सबैभन्दा महँगो हवाई भाडा काठमाडौं–धनगढीको छ । अन्य समयमा सात हजार ९०० रूपैयाँ सम्ममा यात्रा गर्न सकिने यो गन्तव्यमा दशैँको छेकोमा भाडादर ११ हजार रुपैयाँ नाघिसकेको छ ।

नेपालका आन्तरिक हवाई गन्तव्यमा तोकिएको सबैभन्दा बढी भाडादर अर्थात् १७ हजार रुपैयाँ काठमाडौं–धनगढीकै हो । काठमाडौं–सुर्खेतको हवाई टिकट अन्य बेला सरदर सात हजार रुपैयाँमा पाइन्छ । यतिबेला भने न्यूनतम भाडा नौ हजार रुपैयाँभन्दा बढी पुगिसकेको छ ।सो रुटको अधिकतम हवाई भाडा १४ हजार २७ रूपैयाँ हो ।

काठमाडौं–नेपालगञ्ज हवाई भाडा पनि अहिले न्यूनतम नै सात हजार ५०० रुपैयाँ छ । यो गन्तव्यको अधिकतम भाडा १३ हजार २६४ रुपैयाँसम्म तोकिएको छ । अन्य समयमा नेपालगञ्ज पुग्ने भाडा भने ६ हजार ६०० रुपैयाँमात्र हो ।

दशैँको समयमा काठमाडौंदेखि झापास्थित भद्रपुर विमानस्थलसम्मको न्यूनतम हवाई भाडा आठ हजार ९०० र अधिकतम १२ हजार २५९ रूपैयाँ तोकिएको छ । काठमाडौंदेखि विराटनगर जानका लागि अन्य समयमा साढे पाँच हजार भाडा लाग्ने गरेकोमा दशैँका बेला न्यूनतम ६ हजार ५०० देखि अधिकतम नौ हजार ९०३ रूपैयाँ कायम भएको छ ।

यतिखेर काठमाडौं–भैरहवा हवाई भाडा आठ हजार रुपैयाँसम्म पुगेको छ । तर, अन्य समयमा भने यो रुटको हवाई भाडा पाँच हजार रुपैयाँ हो ।

दशैँका बेला काठमाडौं–पोखरा हवाई भाडा न्यूनतम ४४ सयदेखि अधिकतम ६ हजार ७१० रूपैयाँसम्म तोकिएको छ । काठमाडौंदेखि जनकपुरसम्मको हवाई भाडा अन्य समयमा ४ हजार ३०० रूपैयाँसम्म लाग्छ । दशैँको समयका लागि न्यूनतम ४ हजार ५०० र अधिकतम ५५ सय ३५ रूपैयाँ भाडा लाग्ने भएको हो ।

देशभर ५३ विमानस्थल, ३३ मात्रै सञ्चालनमा

नेपालभर हाल तीन क्षेत्रीय अन्तरराष्ट्रियसहित ५३ विमानस्थल छन् । तर निर्माण भएकामध्ये ३३ विमानस्थल सञ्चालनमा छैनन् । औंलामा गन्न सकिने बाहेक सञ्चालनमा रहेका भनिएका विमानस्थलको पनि पूर्ण क्षमता उपयोग हुन सकेको छैन ।

अहिले नेपालमा त्रिभुवन, पोखरा र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा छन् । आन्तरिकतर्फ भद्रपुर, नेपालगञ्ज, विराटनगर, भरतपुर, जनकपुर, लुक्ला, सिमरा, सुर्खेत, धनगढी, जोमसोम, सिमकोट, तुम्लिङटार, जुम्ला, डोल्पा, बाजुरा, रामेछाप, भोजपुर, फाप्लु, रारा, रुकुम, सल्ले, रुम्जाटार, सुकेटार, खानीडाँडा, राजविराज, साँफेबगर, दाङ, थामखर्क, बझाङ, डोटी र बैतडी विमानस्थल मात्रै सञ्चालनमा छन् ।

बाँकी २० वटा विमानस्थल भने सञ्चालनमा छैनन् । बलेवा, सुकिलुम्बा, दार्चुला, ढोरपाटन, मेघौली, फाल्गुनन्द, रुकुम, मनाङ, पालुङटार, रेसुङ्गा, जिरी, खिजी चण्डेश्वरी, लाङटाङ, महेन्द्रनगर, मसिनेचौर, रोल्पा, स्याङबोचे, टिकापुर, कालीकोट र काङ्गेलडाँडा विमानस्थल सञ्चालनमा छैनन् ।