काठमाडौं– भजन शिरोमणि भक्तराज आचार्यको पशुपति आर्यघाटमा सोमबार हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिएको छ । दुई छोरा सत्यराज र स्वरुपराजले दागबत्ती दिनुअघि उनको सम्मानमा आर्यघाटमै ‘जहाँ छन् बुद्धका आँखा’ बोलको गीत गुञ्जियो । यो दृश्यले धेरैका आँखा रसाए ।
आर्यघाट लानुअघि अन्तिम श्रद्धाञ्जलीका लागि आचार्यको पार्थिव शरीर नक्सालस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको थियो ।
त्यहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल लगायत नेपाली गीत संगीतका सयौं मूर्धन्य कलाकार र उनको गायनलाई रुचाउनेहरू उपस्थित थिए ।
आचार्यको शव यात्रामा सहभागीहरूले उनका कालजयी गीत ‘हजार सपनाको माया’ र ‘जहाँ छन् बुद्धका आँखा’ गाएर स्मरण गरे । औपचारिक रूपमा विसं २०३० बाट गायनमा प्रवेश गरेका आचार्यले १६ वर्षमात्रै गीत संगीतमा योगदान गरे ।
आचार्यमाथि २०४६ सालमा सांघातिक हमला भएपछि टाउकामा चोट लाग्यो । उनी लामो समय अस्पताल बसेर घर त फर्किर र गीत–संगीतमा फर्कन सकेनन् ।
२०५० सालमा जिब्रोको क्यान्सरबाट पीडित भएपछि उनी राम्रोसँग बोल्नसमेत नसक्ने भए । त्यसयता उनी झोलिलो पदार्थमा पिएर जीवन कटाइ रहेका थिए ।
२०३० देखि ०४६ सालमा उनी सक्रियरुपमा संगीतमा आबद्ध हुँदा ४ सय बढी गीत तथा भजनमा स्वर र संगीत दिए । उनले गीतभन्दा भजनमा धेरै योगदान दिएका छन् । कालजयी गीत र भजनलाई नयाँ आयाम दिएका कारण उनलाई २०५४ सालमा भजन शिरोमणिको उपाधि दिइएको हो ।
नेपाली संगीतमा बेग्लै छवि बनाउन सफल आचार्यको महायात्राले नेपाली संगीतमा अपूरणीय खाल्डो परेको प्रतिक्रिया संगीत साधकहरूले दिएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल
उहाँको निधनले हामी सबैलाई स्तब्ध बनाएको छ । लामो अस्वस्थतापछि उहाँले संसार छोड्नुभयो यसले हामीलाई दुखी बनाएको छ । तर उहाँको गीत संगीतप्रतिको योगदान भने अमर नै रहन्छ । उहाँको योगदान कालजयी छ । यसले गीत–संगीत क्षेत्रलाई लामो समयसम्म उत्प्रेरित र दिशानिर्देश गरिरहने छ । कलाकार आचार्यको उपचारमा भएको खर्चको सन्दर्भ वा आउने दिनमा गर्नुपर्ने आवश्यक कामका लागि म नेपाल सरकारकातर्फबाट सहयोग गर्ने विश्वास दिलाउन चाहन्छु ।
एमाले अध्यक्ष केपी शर्मा ओली
नेपाली गीत–संगीतका सुबिख्यात नक्षत्र, नेपाली भजनलाई नयाँ आयाम दिन सफल, भजन शिरोमणिबाट विभूषित, जनस्तरमा अत्यन्तै लोकप्रिय र संगीतमा असाधारण योगदान पुर्याउनुहुने स्रस्टा हो उहाँ । उहाँको निधन अत्यन्तै दुखद र अपूरणीय क्षति हो ।
वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा
संगीतप्रेमीहरु रोइरहेका छन्, आफ्नो प्रिय गायकले छोडेर जानुभयो भनेर । उहाँको हरेक संगीतले हृदय छुन्छ । उहाँको भजनले अध्यात्ममा जागृत गराउँछ । संगीतमा सूर र साधना सबै झल्कन्छ । ०४६ सालमै उहाँ ठूलो घटनाबाट गुज्रनुपर्यो । उहाँ गीत–संगीतबाट टाढा रहनुभयो । तर पनि छोराहरूले यही क्षेत्रमा ख्याति कमाएको उहाँलाई हेर्नु रहेछ । आज यहाँले हामीलाई छोडेर जानुभयो हामी भावुक छौँ, दुखी छौँ । उहाँको शरीरले छोडे पनि आवाज उहाँको सुगम संगीत हामी माझ नै छ ।
गायक राजेशपायल राई
उहाँ संगीतको पाठशाला नै हो । हाम्रो लागि उहाँ अभिभावक हो । यो वियोगले नेपाली गीत–संगीत क्षेत्रमा ठूलो खाडल परेको महसुस भएको छ । एक हिसाबले आज कालो दिन नै हो । उहाँबाट हामीले सिक्ने कुरा भनेको– लगनशीलता, अनुशासन र देशप्रतिको समर्पण भाव नै हो । भक्तराज आचार्यले भन्ने गरेको सूत्र ‘लगनशिलता र इमानदारी कहिल्यै मर्दैन’ भन्ने वाक्य हाम्रा लागि पनि उत्प्रेरक बनेर रहने छ । अहिलेको भाषामा भन्दा भाइरलबाट धेरै टाढा हुनुहुन्थ्यो उहाँ । टाढै रहन सल्लाह पनि दिनुहुन्थ्यो ।
कलाकार एवं निर्देशक दीपाश्री निरौला
यो घटनाले नेपाली संगीत क्षेत्रका लागि ठूलो क्षति पुगेको छ । यद्यपि सत्य र स्वरूपले उहाँको बिँडो बोकेर हिँडिरहेका छन् । यी दुईबाट यसले उहाँको अनुपस्थिति त्यति ठूलो महसुस नहोस् भन्ने मेरो कामना छ । उहाँलाई ०४६ सालबाटै कठिन समय बिताइरहनुभएको थियो । परिवारमा धैर्य धारण गर्ने क्षमता मिलोस् ।
कवि विप्लव प्रतीक
एउटा दुर्लभ आवाज भएको गायकका रूपमा म उहाँलाई सम्झिरहने छु । अहिलेका नयाँ पुस्ताले आफ्नो काममा कसरी लगनशील हुने र साधनामा बस्ने भन्ने कुरा उहाँबाट सिक्नुपर्छ । उहाँले कविता भएको गीत गाउनुभयो अहिलेको पुस्ताले कविताविहीन गीत गाइरहेको छ । अहिलेको पुस्ताले कविता समाहित भएको गीत गायो भने नै उहाँको श्रद्धा सुमनको रूपमा रहनेछ ।