सांकेतिक तस्बिर

समाचार

भन्सार छली ल्याइएको सुनजस्तो देखिने वस्तुसहित दुई जना पक्राउ  

By खबरहब

March 27, 2024

काठमाडौं– भन्सार छली ल्याएको करिब १२८ ग्राम ७ मिलिग्राम सुन जस्तो देखिने पहेलो रंगको धातुको टुक्रा १ थानसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सुनसरी इटहरी उपमहानगरपालिका-११ ठेगाना भएका २६ वर्षीय सुदीप बिक र गोरखा चुमनुब्री गाउँपालिका-६ ठेगाना भएका ३९ वर्षीय सोनाम दोर्जे लामा रहेका छन् । 

रसुवाको केरुङ नाका हुँदै भन्सार छली सुनको तस्करी गरी काठमाडौं प्रवेश गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१८ नरदेवीबाट उक्त परिमाणको धातुसहित दुवै जनालाई पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय बिनानस्थल भन्सार कार्यालय गौचर काठमाडौं पठाइएको छ ।