समाचार

मनसुनभन्दा अघि नै भूकम्प पीडितलाई राहत वितरण गरिने

By खबरहब

March 27, 2024

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मनसुन सुरु हुनु अगावै भूकम्प पीडितलाई राहत वितरण गरिने जानकारी दिएका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आज भएको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले मनसुन सुरु हुनु अगावै राहत वितरण गरिने बताएका हुन् । 

उक्त समितिको बैठकमा उपस्थित प्रतिनिधिसभा सदस्यहरूले भूकम्प पीडितले राहत पाउन नसकेको भन्दै राहत उपलब्ध गराउन गृहमन्त्री समक्ष अनुरोध गरेका थिए । उनीहरूको अनुरोधलाई स्वीकार गर्दै मन्त्री लामिछानेले मनसुन सुरु हुन अगावै राहत वितरणको कार्य अगाडि बढाइसक्ने प्रतिबद्धता जनाएका हुन् । 

जाजरकोटको बारेकोट गाउँपालिका–१ लामीडाँडा केन्द्रबिन्दु भएर गत १७ कात्तिकको राति ६.४ रेक्टर स्केलको भूकम्पका कारण जाजरकोट, रुकुमपश्चिम  जिल्लाका बासिन्दा प्रभावित बनेका थिए । 

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले विपद् व्यवस्थापनसम्बन्धी स्थानीय नीति, कानुन, मापदण्ड, योजनाको कार्यान्वयन, अनुगमन र नियमन गर्ने अधिकार स्थानीय तहलाई दिएको छ । 

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्थानीय तहको सक्रियतामा राहत वितरण अगाडि बढाउने जनाइएको छ ।