देश/प्रदेश

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

By खबरहब

April 27, 2024

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड सामाजिक सन्जालमा बाक्लै देखिएकै हो । तर, आन्तरिक पर्यटकको रुचि बढाउन भौतिक संरचनामै अपवाद खोज्ने शैली कहिलेकाहीँ समाचारको विषय बन्दो रहेछ । प्रसंग हो– उत्तरी मोरङको मिक्लाजुङमा बनेको उल्टो घरको । यो अनुपम घर जसको छत भुइँतिर छ भने घरको जग आकाशपट्टि फर्किएको छ ।

मिक्लाजुङ–३ टाँडीस्थित निसेलुङ पार्कमा पर्यटक आकर्षित गर्न यस्तो घर बनाइएको छ । घरको भित्री र बाहिरी संरचना सबै उल्टोपाल्टो छ । ५२ लाख रुपैयाँ खर्चिएर यो घर बनाइएको हो । यसका परिकल्पनाकार र लगानीकर्ता हुन् –इन्द्र भट्टराई र पार्टनर टेकनाथ चापागाई ।

आगन्तुकका लागि खुल्ला गरिएसँगै त्यो घर हेर्न त्यहाँ धेरै मानिस पुगेका छन् । मानिसहरु घरभित्र जाँदा झनै अचम्म पर्छन् । सबै कुरा उल्टो देखेपछि फोटो खिच्ने प्रतिस्पर्धा चल्छ ।

परैबाट हेर्दा अरु सामान्य घरभन्दा उल्टो पाराको संरचना रहेको घरले दैनिक सयौँ पर्यटक आकर्षित गरिरहेको छ । घरको छानो भुईँमा, जगको भाग आकाशतिर देखिन्छ ।

यो घरमा मानिसका ओछ्यान, सोफा तथा डाइनिङ टेबल अनि बाथरुम समेत माथिबाट उँधो झुण्डिएका छन् । घर बाहिर सानो गाडी राखिएको छ । त्यो गाडीको चक्का आकासतिर फर्काइएको छ । घरभित्र रहेका सबै सामान समेत उल्टो देखेपछि अवलोकनमा जानेहरु आश्चर्यचकित हुने गरेका छन् ।

घरभित्र प्रवेश गर्दा शयन कक्ष, शौचालय, भान्सा कोठा सबै उल्टो देखिन्छन् । टेबल, दराज, कुर्सीहरू सबै उल्टा छन् ।

उल्टो आकर्षक भवन बनाउन भारतबाट इन्जिनियर र मिस्त्री ल्याएको इन्द्र भट्टराई बताउँछन् ।

विदेशमा यस्तो संरचना बनाएर पर्यटक तान्न अभ्यास रहे पनि नेपालमा नभएकाले यो नौलो विधि अपनाइएको छ । पर्यटक तान्न बनाइएको नमूना घरमा मान्छे भने बस्ने गरेका छैनन् ।

उल्टोघर रहेको स्थान पहाड र तराईको सन्धीस्थल हो । यो सानो डाँडामा अन्य बस्तीहरु पनि छ । इन्द्र भट्टराईले नै यहाँ भ्यु टावर र फनपार्क समेत बनाएका छन् । उल्टो घरका लागि मात्र उनको ५२ लाख रुपैयाँ खर्च भएको छ ।

युट्युब हेरेर आइडिया !

मानिसहरु देशमा रोजगार व्यवसायको सम्भावना नदेखेर विदेश जान्छन् । तर, मोरङको इटहरामा जन्मेका इन्द्र भट्टराईलाई भने युट्युब हेर्दाहेर्दै एउटा नयाँ ‘आइडिया’ आयो । युट्युबमा उनले उल्टो घर देखेर । कुनै घर क्यानडाका थिए त कुनै अमेरिकाका । हेर्दै जाँदा झापाबाट नजिकै पर्ने भारतको जलपाईगुडीस्थित देउनियामा पनि त्यस्तै उल्टो घर फेला पर्‍यो । अमेरिकामा गएर हेर्न सम्भव नभए पनि जलपाईगुडीमा सजिलै थियो ।

इन्द्रले साथीहरुलाई जलपाइगुडी पठाए । त्यहाँका इञ्जिनियरहरुसँग पछि ह्वाट्एपमा छलफल हुन थाल्यो । अनि तिनै भारतीय इञ्जिनियरहरु झिकाएर इन्द्रले टाँडीको निसेलुङ डाँडामा उल्टोघर सहितको फनपार्क बनाउने योजना बुने ।

फनपार्कका लागि उनले निसेलुङ फनपार्क प्रालि नमको कम्पनी खोले । यो कम्पनीले मिक्लाजुङ गाउँपालिकाबाट स्थापित निसेलुङ पर्यटन प्रवर्धन समितिसँग १० वर्ष्का लागि लिज सम्झौता गरेर जग्गाको बन्दोबस्त गर्‍यो ।

निसेलुङ डाँडामा मिक्लाजुङ गाउँपालिकाले भ्युटावर बनाएको थियो तर फिनिसिङ हुन बाँकी थियो । उक्त भ्युटावरसमेत मर्मत गरेर चलाउने गरी भट्टराईले पालिकासँग जग्गा लिजमा लिए । वार्षिक ३ लाख रुपैयाँ बुझाउने गरी १० वर्षका लागि लिजमा लिएपछि भट्टराई र टेकनाथ चापागाई दुईजना मिलेर ५२ लाखको लागतमा उल्टो घर बनाइएको हो ।

गत साल भदौमा बनाउन सुरु गरेको उल्टो घर दुई महिनामै तयार भएर कात्तिकदेखि आन्तरिक पर्यटकका लागि सञ्चालनमा आएको भट्टराई बताउँछन् ।

फनपार्कमा अहिलेसम्म आफ्नो डेढ करोड लगानी भइसकेको र अझै १ करोडको परियोजना बाँकी रहेको भट्टराईले खबरहबलाई बताए । उनले भने, ‘एउटा पिरती गाउँ बनाउनुपर्ने छ । पिकनिक स्पट पनि थप्नु छ । बच्चाहरुको फनपार्कलाई पनि विस्तार गर्ने योजना छ । यति सबै गर्न थप १ करोड लाग्छ होला ।’

देशमा देखा परेको आर्थिक मन्दी र १० वर्षे लिज अवधिका कारण व्यवसायमा केही चुनौतीहरु रहे पनि अहिलेसम्मको अवस्थामा आफू सन्तुष्ट रहेको भट्टराईले सुनाए । आन्तरिक पर्यटकहरु आउने क्रम राम्रै रहेकाले लगानीप्रति सन्तुष्ट रहेको उनी बताउँछन् ।

के तपाईले विदेशबाट फर्केर देशमै व्यवसाय गर्न थाल्नुभएको हो ? खबरहबको प्रश्नमा उनले भने, ‘मैले त अहिलेसम्म पासपोर्ट नै पो बनाएको छैन ।’

थप तस्बिर-