समाचार

इलाम–२ मा अहिलेसम्म २२ प्रतिशत मतदान

By खबरहब

April 27, 2024

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा अहिलेसम्म २२ प्रतिशत मत खसेको छ ।

जिल्ला निर्वाचन कार्यालय इलामका सूचना अधिकारी कृष्ण लिम्बूका अनुसार बिहान साढे ११ बजेसम्म २२ प्रतिशत मत खसेको जानकारी दिए ।

उनले मतदान शान्तिपूर्ण रूपमा भइरहेको र मतदाता पनि उत्साहित ढंगले सहभागी भइरहेको जानकारी बताए ।

इलाम–२ मा १ लाख १५ हजार ८ सय ८९ मतदाता रहेका छन् । यहाँ ७९ मतदान स्थल र एक सय ४९ वटा मतदान केन्द्र छन् ।

बिहान ७ बजे सुरु भएको मतदान अपराह्न ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ ।

इलाम–२ मा १२ राजनीतिक दल र सात स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।

२०७९ सालको प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले सांसद सुवासचन्द्र नेम्वाङको गत भदौमा निधन भएपछि आज उपनिर्वाचन भएको हो ।