विचार

राहुललाई राजीव गान्धीको अर्ती– ‘परिवारबारे अखबारमा आएका समाचार नपत्याउनू’

By संकेत कोइराला

April 27, 2024

कुनै समय भारतमा गान्धी परिवारप्रति जनजनमा ठूलो आस्था थियो । आफूभित्रको असन्तुष्टिलाई व्रतको माध्यमबाट संसारलाई जित्न सकिन्छ भने महात्मा गान्धीको आन्दोलन होस् या तीनवटै पुस्तामा आशा छर्ने त्यसबेलाका अन्तर्राष्ट्रिय राजनीतिक व्यक्तित्व जवाहरलाल नेहरुको छत्रछायाँमा हुर्किएको भारतीय कांग्रेसको अवस्था हालका दिनहरूमा दिनप्रतिदिन नाजुक बन्दैछ ।

नेहरुपछि इन्दिरा गान्धी कालीन कांग्रेस चमकधमक अर्कै थियो । राजनीतिक लोकप्रियताले इन्दिरा गान्धीलाई भारतमै जीवित ‘देवी’का रुपमा स्थापित गरायो । तर समयक्रममा राजनीतिमा मौन व्रतका सफल डिजाइनर महात्मा गान्धीको हत्या भयो । त्यससँगै लोकप्रिय रहेकै अवस्थामा कांग्रेस आईका संस्थापक इन्दिरा गान्धी, पुत्र राजीव गान्धीको श्रृंखलावद्ध हत्याले पार्टीले केही समय सहानुभूति मत प्राप्त गरी राज्यसत्ता प्राप्त भएपनि विचारमा पार्टी ओझेलिँदै गयो ।

छोराबाट बुहारी हुँदै नाति पुस्तामा नेतृत्व झरेसँगै भारतको संसदमा कांग्रेस आईको उपस्थिति झन्झन् पातलिँदो छ । भारतमा चुनावी माहोल रहेकै अवस्थामा इन्दिरा गान्धीपछि राजीव गान्धीमा सरेको राजनीतिक विरासत, एउटी विदेशी बुहारी सोनिया गान्धीले भोग्नुपरेको अन्तरसङ्घर्षको बारेमा उनको संस्मरण उनकै भाषामा यहाँ प्रस्तुत गरिएको छ ।

सफदरजंग रोडवाला घरमा राजीव झ्याल बाहिर एउटा बुलबुल चराले बनाएको गुँडमा ध्यानपूर्वक हेरिरहनु हुन्थ्यो । यदि कुनै चराको बच्चा घाइते भएको छ वा उसलाई कुनै आपत परेको छ भने तत्काल उद्धारमा जुट्नु हुन्थ्यो । घाइते चरालाई तत्काल पन्छी अस्पतालमा पठाइन्थ्यो । एकपटक रेडकोर्सरोडस्थित घरमा एउटा गोमन साँप देखियो । राजीवले सुरक्षाकर्मीलाई सम्झाउनुभयो कि त्यसलाई कुनै चोट नपुर्‍याइयोस् । बगैँचामा माटाको भाँडामा चराका लागि दाना र पानी राखिदिनु उहाँको नित्य कर्म जस्तै थियो ।

जब हामी जनपथस्थित घरमा आयौँ, त्यसबेला त्यहाँ गौंथली चरो गुँड बनाएर बसेको थियो । राजीव मलाई उसको गुँड नबिगार्न सम्झाइरहनु हुन्थ्यो । गौँथलीको दिनचर्या नबिग्रियोस् भनेर बिहान सबेरै उठेर कोठाका झ्यालहरू खोलिदिनु हुन्थ्यो । जसले गर्दा चराहरू बाहिर निस्केर आफ्ना बचराका लागि दाना ल्याउन पाऊन् । जबसम्म ती उड्दैनथे, जतिसुकै गर्मी भएपनि पंखा चलाउन मनाही थियो । उहाँलाई सधैँ सन्देह रहन्थ्यो हाम्रा क्रियाकलापले चराको दैनिकीमा बाधा नपरोस् ।

राजीव र म केटाकेटी लिएर इटाली गएका थियौँ । त्यसैबेला हाम्रो परिवारमा भयानक दुर्घटना भयो, जसले हाम्रो जीवनको बाटो मोडिदियो । सञ्जयको ३३ वर्षको उमेरमा एउटा हवाईजहाज दुर्घटनामा अचानक देहान्त भयो  । घरमा प्रत्येक सदस्यका लागि यो बज्रपात झैँ थियो । राजीवको माताजीका निम्ति यो सर्वाधिक पीडादायी घटना थियो । पुत्र वियोगले कुन चाहिँ बाआमा द्रवित हुँदैनन् र ! यो घटनाले मेरी सासु आफ्नो हिम्मत र धैर्यका बाबजुद भित्रबाटै कमजोर झैँ देखिन थाल्नुभयो । उहाँको निम्ति यो संसारमा सञ्जय नै त्यस्ता व्यक्ति थिए, जसबाट हरेक मद्दत लिन सक्नुहुन्थ्यो ।

राजीव र म १५ वर्षदेखि साथ थियौँ । त्यसबेला पहिलोपल्ट हामीबीच तनाव उत्पन्न भएको थियो । मैले र उहाँले बच्चाको एउटा अलग संसारको परिकल्पना गरेका थियौँ । सञ्जयको देहान्तपछि उहाँले आफ्नो अत्यन्तै शोख राख्ने पेशा पाइलट त्याग्नुपर्ने अवस्था आयो । हाम्रो निश्चल प्रेम, मित्रता, अझ  भनौँ स्वतन्त्रताका दृष्टिले पाइलट पेशा आदर्श थियो । एक प्रकारले भन्ने हो भने यो मानवअधिकारको रक्षा अन्तर्गत पनि पर्थ्यो । जसको मैले सदैव रक्षा गरेको थिएँ, बघिनी झैँ लडेर ।

दुवैले राजनीतिको दुनियाँलाई टाढा टाढाबाट हेरेका थियौँ । हामीलाई महत्वाकांक्षा र कर्तव्यबोध फरक लाग्थ्यो । केही मानिसको लागि सत्ता एउटा स्पष्ट उद्देश्य प्राप्तिको साधन हो । यो उद्देश्य आफ्नो राजनीतिक र सांस्कृतिक धरोहरको रक्षा तथा सामाजिक प्रगतिको लागि हो । धेरैजसो मानिसका लागि सत्ताको अर्थ आफ्नो र आफ्नो दलको प्रभुत्व स्थापित गर्न त्यसलाई हतियारको रुपमा उपयोग गर्नु हुन्छ ।

पहिलो अवस्थामा मानिसलाई आफ्नो कर्मका लागि आत्मसन्तोष प्राप्त हुन्छ र दोस्रो अवस्थामा बाहिरी तडकभडक, चाप्लुसी, सम्मान, शक्तिको प्रदर्शन । राजीव बुझ्नुहुन्थ्यो कि सत्ताको भार कस्तो हुन्छ ?  जान्दाजान्दै पनि उत्पन्न गरिएका असमझदारीका सामु एउटा व्यक्ति कति असहाय र लाचार हुन्छ ? चुप लागेर बस्न मानिसले कति शक्तिशाली हुनुपर्छ ?

आफ्नी आमालाई उहाँले हरेक दिन, हरेक वर्ष देशलाई सुनौलो भविष्यतर्फ लैजाने संकल्पका लागि कठोर परिस्थितिसँग जुधिरहेको प्रत्यक्ष देख्नुभएको थियो । आमालाई साहससाथ यस्ता व्यक्तिहरूको कटु व्यंग्य विरुद्ध डटेको देखिसक्नु भएको थियो, जो ठान्थे आमाका लागि सत्ता हातमा राख्नु नै जीवनको पहिलो र अन्तिम लक्ष्य हो ।

यो अन्तरद्वन्द्व राजीवका लागि पनि उत्ति नै कष्टप्रद थियो । एकातिर आमा हुनुहुन्थ्यो, जो एक्ली र आन्तरिक रुपमा भाँचिइसक्नु भएको थियो । यस्तो अवस्थामा आमालाई उहाँको सर्वाधिक आवश्यकता थियो । उहाँले मुन्टो घुमाएर सजिलो बाटो रोज्न सक्नुहुन्थ्यो । म उहाँकी आमालाई स्वयं आफ्नी आमा झैँ माया गर्न लागेकी थिएँ । मलाई उहाँको अत्यन्तै चिन्ता लाग्न थालेको थियो । राजीवको आमाप्रतिको कर्तव्य राम्ररी बुझ्थेँ । मलाई त्यसखाले बन्दोबस्त प्रति रिस उठेर आउँथ्यो, जो मेरो राजीवलाई बलिको बोको बनाउन चाहन्थ्यो । मलाई थाहा थियो कि यो बन्दोबस्तले उहाँलाई कुल्चेर राख्नेछ र नष्ट गरिदिने छ ।

मलाई सम्झना छ– त्यो समय हामीप्रति असहयोगको अवस्था थियो । हामी प्रत्येक क्षण गहिरो खाडलतिर घचेटिँदै थियौँ । अन्त्यमा मलाई लाग्यो कि राजीव र म आफ्ना बीचको दूरीमा अड्न सक्ने छैनौँ । उहाँ मेरो राजीव हुनुहुन्थ्यो, हामी दुवै एक अर्कालाई प्रेम गर्थ्यौँ । उहाँको मनले आफ्नी आमालाई सहयोग गर्ने ठानेको छ भने मैले त्यस शक्तिका सामु झुक्नु परेको थियो । जसको विरोध मेरो वशमा थिएन । सासुले छोरालाई जहाँ लैजानुहुन्छ, म त्यतै जाने हो ।

जुनबेला राजीवले राजनीतिमा जाने निश्चय गर्नुभयो, त्यसैबेलादेखि हाम्रो जीवनको कायापलट भयो । पहिले उहाँको काम गर्ने तरिका फरक थियो । कैयन दिनसम्म अत्यन्त व्यस्त हुनुपर्थ्यो । कहिले व्यस्तताबाट अवकाश पाइन्थ्यो । कहिले समय अत्यन्तै विपरित हुन्थ्यो । पहिले एउटा आत्मीय चिरपरिचित संसार थियो । कहिले उहाँ हरेक दिन सयौँ मानिसद्वारा घेरिएको हुनुहुन्थ्यो ।

ती मानिसमा राजनीतिज्ञ, पार्टी कार्यकर्ता र अमेठी निर्वाचन क्षेत्रका मानिस हुन्थे, जो उहाँसँग मागका लागि आफ्नो आवश्यक कामका लागि आग्रह गर्थे । अहिले उहाँसँग मनोमानी समय थिएन । जति पनि समय उहाँ हाम्रा लागि निकाल्न सक्नुहुन्थ्यो, त्यो अत्यन्त महँगो लाग्थ्यो । हामीले अब प्रायः उहाँको अनुपस्थितिका लागि मानसिक रुपमा तयार हुनुपर्‍यो । उहाँ कहिले भ्रमणमा रहनुहुन्थ्यो त कहिले अबेरसम्म कार्यालयमा घेरिएर रहनुहुन्थ्यो ।

राजीवले आफ्नो व्यस्ततालाई ज्यादै सहज रुपमा स्वीकार्नु भयो । मैले कहिल्यै यस विषयमा उहाँले गुनासो गरेको सुनिनँ, तनावमा हुनुहुन्छ वा उहाँभित्रको शान्ति खोसिएको छ । यस्तो लाग्दथ्यो, उहाँले आफ्नो कर्तव्यलाई स्वीकार गर्नुभएको थियो, र मनमनै त्यसलाई पूरा गर्ने दृढ संकल्प गर्नुभएको थियो ।

राजीव जति बढी आफ्नो काममा व्यस्त हुँदै जानुभएको थियो, त्यति नै उहाँको परिवारजनप्रति लगाव बढ्दै गएको थियो । राजनीतिको संसारमा प्रवेश गर्दा त्यस समाजको व्यवहारबाट परिचित भइसक्दा उहाँ आफ्ना निजी परिचित संसारको बेलगाव सम्बन्धमाथि बढी निर्भर हुन थाल्नुभएको थियो । यहाँ उहाँलाई यस कुराको चिन्ता थिएन, उहाँले के भन्नुभयो, कोसँग कति कुराकानी गर्नुभयो । यहाँ हामी उहाँका आफ्ना थियौँ ।

राजनीतिको अखडाहरुभन्दा टाढा यस गन्तव्यस्थलमा प्रेम सम्बन्ध बीच कुनै प्रकारको सूत्र सञ्चालनको गुञ्जायश थिएन । यिनै दिनहरूमा उहाँले मलाई देख्नुभयो । जस्तो कि हिन्दु परम्परामा भनिन्छ– पुरुष अधुरो हुन्छ, उसलाई उसकी पत्नीले पूर्णता प्रदान गर्छिन् । मलाई ठीक त्यस्तै अनुभव हुन्छ । मलाई थाहा छ– तिमीबिना मेरो लागि केही गर्न कति कठिन छ… अब त राजनीतिमा आइसकेपछि यो कुरा झन् बढी महसूस हुन्छ ।

यद्यपि मैले राजीवको निर्णयलाई स्वीकार गरिसकेकी थिएँ । आफूले आफैँसँग सम्झौता गर्न मलाई केही समय लाग्यो, विशेष गरी ती परिवर्तनका कारण जुन हाम्रो जीवनमा घटिरहेका थिए । पहिले जस्तै घरेलु कामकाजका साथै मैले तैल चित्र संरक्षणको एउटा तालिममा भाग लिन शुरु गरेकी थिएँ  ।

यो मेरो पुरानो शोख थियो, जसका निम्ति मैले पहिले समय निकाल्न पाएकी थिइनँ । मैले यस कुराको अवश्य ध्यान राखेँ कि राजीव र आफ्नी सासुबाट पाएको खाली समयमा मेरो व्यस्तता नरहोस् । बुझ्थेँ,  उहाँको घाउ कति गहिरो छ । राजीव र म दुवैजना उहाँको पहिले भन्दा बढी ध्यान राख्थ्यौँ ।

यी दिनमा परिवारमा अरु कैयन परिवर्तन भए । राहुललाई १९८२ मा बोर्डिङ स्कुल पठाइएको थियो । प्रियंका त्यसको एक वर्षपछि जाने योजना थियो । राजीवको दृढ विश्वास थियो कि केटाकेटीको यस अनुभवले उनीहरुलाई स्वतन्त्र र शक्तिशाली बन्न मद्दत पुर्‍याउँछ । तर उहाँलाई चिन्ता थियो– परिवारप्रति जुन भीषण दुष्प्रचार गरिँदैछ, तिनलाई उनीहरुले कसरी झेल्लान् ? केटाकेटीहरुलाई पहिले पनि दिल्ली स्कुलमा यस्ता स्थितिसँग जुध्नु परेको थियो । उनीहरुका साथीहरु नै व्यंग्य गर्दथे । त्यसबखत ढाडस दिनका लागि हामीहरु निकट थियौँ ।

राहुललाई आश्वस्त पार्न उहाँ बारम्बार पत्र लेखेर सचेत गराउँदै भन्नुहुन्थ्यो– ‘तिमीले अखबारहरुमा हजुरआमा, आमा वा मेरा सम्बन्धमा लेखिएका थरिथरिका कुराहरु पढ्ने छौ । तर तिमीले चिन्ता लिनु हुँदैन । यो पनि सम्भव छ सम्पूर्ण कुराहरुलाई लिएर साथीहरुले जिस्काउलान् । तर तिमीलाई थाहा हुनेछ कि यिनमा अधिकांश साँचो होइनन् । ती नपत्याउनू ।  तिमीले यसप्रकारका उत्तेजक अवस्थाको सामना गर्ने अभ्यास गर्नुपर्ने छ । तिमीले यस्ता साना कुरामा ध्यान दिनु हुँदैन । यसबाट विचलित भएर चिन्ता नलिनु ।’