तस्बिर : पीटीआई

अन्तर्राष्ट्रिय

मणिपुरमा चरमपन्थीको आक्रमणबाट दुई प्रहरीको मृत्यु

By खबरहब

April 27, 2024

काठमाडौं– भारको मणिपुरको विष्णुपुर जिल्लामा संदिग्ध कुकी चरमपन्थीहरूले गरेको आक्रमणमा केन्द्रीय रिजर्भ पुलिस फोर्स (सीआरपीएफ)का दुई जवानको मृत्यु भएको छ ।

भारतीय मिडियाहरुका अनुसार आक्रमणमा मारिएका सिपाहीहरू नारायणसेना क्षेत्रमा तैनाथ सीआरपीएफको १२८ औं बटालियनका थिए ।

संदिग्ध चरमपन्थीहरूले पहाडको चुचुरोबाट नारायणसेना गाउँमा अन्धाधुन्ध गोली चलाएको बताएको छ । आक्रमणको क्रममा, सीआरपीएफको १२८औं बटालियनको पोस्टमा बम विस्फोट भएको र दुई सैनिकको मृत्यु भयो र दुई जना घाइते भएका छन् ।

प्रहरीले मारिएका सीआरपीएफ जवानहरूको पहिचान सब इन्स्पेक्टर एन सरकार र हेड कन्स्टेबल अरुप सैनीको रूपमा गरेको छ ।

यसअघि २४ अप्रिलमा राष्ट्रिय राजमार्ग-२ (इम्फालदेखि दिमापुर) मा एउटा बम विस्फोट भएको थियो जसमा एउटा पुलमा क्षति पुगेको थियो । 

मणिपुरमा गत वर्ष मे महिनामा सुरु भएको मेइती र कुकी जनजातिबीचको जातीय हिंसामा हालसम्म २ सयभन्दा बढीको मृत्यु भइसकेको छ भने ५० हजारभन्दा बढी घरबारविहीन भएका छन् ।