देश/प्रदेश

उपनिर्वाचनमा मुढाको ब्राण्डिङ !

By खबरहब

April 27, 2024

काठमाडौं – डोरी, बाँसका कप्टेरा र थोत्रे टायर प्रयोग गरेर बनाइने मुढा बस्नका लागि अति नै सजिलो आसन हो । बेञ्च र कुर्सीको विकल्पका रूपमा प्रयोग गरिने यस्तो मौलिक साधनको बजारीकरण नहुँदा साना उद्यमीहरु मारमा पर्दै आएका थिए । तर, पछिल्लो समय घरेलु उत्पादनको बजार खुम्चिँदै गइरहेकै बेला इलाम क्षेत्र नम्बर–२ को उपचुनावले मुढाको व्यापार बढाइदिएको छ ।

इलामको उपचुनावको मतदान सकिएको छ । उम्मेदवारहरूको भाग्य र भविष्य अहिले मतपेटिकामा बन्द छ । चुनाव कसले जित्ला, अब मतगणनाको रुझान हेरेपछि मात्र थाहा हुनेछ ।

तर, चुनाव प्रचारको सिलसिलामा इलाममा मुढाको ब्राण्डिङ कसरी भयो, यहाँ त्यसको सामान्य चर्चा गर्न खोजिएको छ ।

पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले कति भोट ल्याउलान् ? मुख्य प्रतिस्पर्धीहरूमा उनको स्थान हुन रहला ? यो अब आउने नतिजाले नै बताउनेछ । तर, डकेन्द्रले यसपटक नेपाली घरेलु उत्पादन मुढालाई ब्राण्डिङ गरिदिएका छन् 

नेकपा एमालेको सूर्य, नेपाली कांग्रेसको रुख र राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी स्थायी प्रकृतिका चुनाव चिह्न हुन् । पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले यस्तो चुनाव चिह्न पाए कि बोकेर हिँड्न मिल्ने । थपक्क बस्न मिल्ने !

यति सजिलो खालको चुनाव चिह्न पाएपछि इलाम बजारमा मुढाको व्यापार एकाएक फस्टायो । बिक्री पनि ह्वात्तै बढ्यो । काठमाडौंमा स्थानीय चुनावका बेला ‘बालेन चश्मा’ को बिक्री यसैगरी बढेको थियो ।

इलाममा पनि मुढाको प्रचारप्रचार निकै रोचक देखियो । यसको ओसारपसार ट्रकमा समेत भइरहेको देखिन्थ्यो । बजारमा खप्ट्याएर बेच्न राखिएका मुढा देखेपछि मख्ख पर्दै डकेन्द्रले स्टाटस नै लेखेका थिए, ‘मेरो चुनावचिह्न त यता पनि रहेछ ।’

बजारमा डोरीमा मुढाहरू टाँगेर राखेका दृश्य पनि देखिन्थे । स्वतन्त्र अभियन्ताले मुढा बोकेर तस्बिर खिचे । कार्यकर्ताहरूले मुढा बोकेर नाचगान गरेको समेत देखियो । धरानका मेयर हर्क साम्पाङ इलाम बजारमा मुढा बोकेरै हिँडेका थिए ।

सामाजिक सञ्चालमा पनि मुढाले रोमाञ्चक ढंगबाट चर्चा पायो । सोसियल मिडियामा रास्वपाका मिलन लिम्बुले मुढामाथि रवि लामिछानेलाई बोकेर हिँडेका ‘ट्रोल’ पनि बने । चुनाव चिह्न सूर्य वा अरू स्थायी प्रकृतिको गतिलो चिज नै नचाहिने रहेछ, प्रचार र ब्राण्डिङ नै मुख्य कुरो रहेछ भन्ने इलामको उपचुनावले देखायो । हुन त यो सन्देश विगतमा घण्टी र लौरोले पनि देखाइसकेकै हो ।

चुनावी अभियानमा इलाममा मुढाको प्रचार यतिसम्म भयो कि प्रचार–प्रसारमा हिँडेका एमाले, कांग्रेस र रास्वपाका कार्यकर्ताहरू मुढामा बस्न समेत झस्किनुपर्ने स्थिति आयो । कतै यसमा बस्दा डकेन्द्रको प्रचार गरेको सन्देश त जाने हैन ? यस्तो स्थितिसम्म भयो ।

शनिबार इलाम बजारस्थित एक मतदान केन्द्रमा स्वतन्त्रका स्वयंसेवकहरू मुढामा बसिरहेका थिए । उनीहरूलाई प्रहरीले हटायो र चारवटा मुढा नियन्त्रणमा लियो । उनीहरूलाई बेञ्चमा बस्न लगाइयो ।

स्वतन्त्र अभियन्ता सरस्वता सिङ्गक निर्वाचन आयोगलाई प्रश्न गर्छिन्, ‘मतदान स्थलमा मुढामा बस्न नदिने हो भने रुखको छहारीमा बस्न पाइने कि नपाइने ? घाम लागेको ठाउँमा बस्न पाइने कि नपाइने ? कसैको चुनाव चिह्न टोपी छ भने मतदानस्थलमा टोपी लगाएर जान पाइने कि नपाइने ? मतदानस्थलमा लौरो टेकेर आउन पाउने कि नपाउने ? मान्छे नै चुनाव चिह्न छ भने के गर्ने ?’

इलाममा सम्पन्न उपचुनावमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले कति भोट ल्याउलान् ? मुख्य प्रतिस्पर्धीहरूमा उनको स्थान हुन रहला ? यो अब आउने नतिजाले नै बताउने छ । तर, डकेन्द्रले यसपटक नेपाली घरेलु उत्पादन मुढालाई ब्राण्डिङ गरिदिएका छन् ।

तर, यस्तो पनि नहोस् कि कांग्रेस, एमाले, रास्वपा समर्थकहरूले घरायसी प्रयोजनका लागि सजिलो मानिने मुढा किन्न चाहिँ नहिच्किचाउन् !