समाचार

परिवर्तनकारी शक्तिहरू एकताबद्ध हुनुपर्छ : माधव नेपाल

By खबरहब

April 27, 2024

मनहरी– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान व्यवस्था र संविधानको रक्षा गर्न परिवर्तनकारी शक्तिहरू एकताबद्ध हुनुपर्ने बताएका छन् । 

शनिबार हेटौंडामा आयोजित एकीकृत समाजवादी मकवानपुरको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष नेपालले पछिल्लो समय वर्तमान व्यवस्था र संविधानमाथि नै चुनौती दिन प्रतिगामीहरू सक्रिय भएकाले त्यसको रक्षा गर्न परिवर्तन पक्षधर एकताबद्ध हुन जरूरी रहेको बताए ।  

‘हामीले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्र, संविधान तथा सङ्घीयतामाथि नै चुनौती आउने गरी प्रतिगामीहरू सक्रिय हुन थालेका छन् । त्यसैले यो व्यवस्था र संविधान जोगाउन सबै परिवर्तनकारी, सङ्घीयतावादी शक्ति एकताबद्ध हुन जरुरी छ’, अध्यक्ष नेपालले भने । 

त्यसैगरी उहाँले एकीकृत समाजवादी सरकार फेरबदलमा केन्द्रित नरहेको तर जनताको पक्षमा काम गर्ने बलियो तथा स्थायी सरकार निर्माण गरेर आर्थिक, सामाजिक विकासका काममा केन्द्रित हुन नेतृत्वकर्तालाई खबरदारी गरिरहेको बताए ।