समाचार

सङ्खुवासभामा आगलागीबाट १९ लाख बढीको क्षति

By खबरहब

April 27, 2024

किमाथाङ्का– सङ्खुवासभाको चैनपुर नगरपालिका र मकालु गाउँपालिकामा भएका आगलागीबाट रु १९ लाख बढीको क्षति भएको छ । 

शुक्रबार राती मकालु गाउँपालिका–५ खोकताक र चैनपुर नगरपालिका–२ तिखिढुङ्गामा भएका आगलागीबाट १९ लाखको क्षति भएका जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।  

शुक्रबार राति विद्युत् सट भई आगलागी हुँदा खोकताकमा स्थानीय भीमबहादुर तामाङ्को घर जल्दा  ११ लाखभन्दा बढीको क्षति भएको मकालु–५ का वडाध्यक्ष योगराज राईले जानकारी दिए । 

आगलागीबाट तामाङको घरमा भएका सुनचादी, भाँडाकुँडा, खाद्यान्न, लत्ताकपडासहितका सम्पूर्ण सामान नष्ट भएका र तामाङकी श्रीमती भीममाया तामाङ गम्भीर घाइते भएकी उनले बताए।

त्यसैगरी चैनपुर नगरपालिका–२ तिखिढुङ्गामा स्थानीय झलकबहादुर अधिकारीको घर जलेर आठ लाखभन्दा बढीको क्षति भएको प्रहरी निरीक्षक अशोक जबेगुले जानकारी दिए । 

आगलागीबाट अधिकारीको घरमा भएका खाद्यान्न, लत्ताकपडासहित सम्पूर्ण सामान नष्ट भएको उनले बताए। केही दिनयता भएका आगलागीबाट मकालु गाउँपालिका–४ र वडा नं ५ मा चारवटा घर जलेका छन् ।