समाचार

इलाम–२ मा यसरी हुँदैछ मतगणनाको तयारी

By खबरहब

April 27, 2024

इलाम – इलाम–२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म जम्मा हुने भएको छ । निर्वाचन आयोगले सबै मतदानस्थलबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानीको कार्य भइरहेको जानकारी दिएको छ ।

इलाम–२ मा इलाम नगरपालिका वार्ड नं. ७ स्थित गौतम बुद्ध सभागृहमा मतगणनाको तयारी गरिदै छ । आयोगका अनुसार राति ११ बजेसम्म सबै मतपेटिका मतगणना स्थलमा आइपुग्ने छन् । त्यसपछि रातिनै मत गणना शुरु हुने छ ।

जिल्ला निर्वाचन अधिकृत देवीचरण फुँयाले खबरहबसँग भने, ‘सबै राजनीतिक दलसहित हामी गौतमबुद्ध सभासलमा छौं । माङ्सेबुङ , चुलाचुली, माइ नगरपालिका र फाक्फोकथुमको फुयतपा पाटोको मत पेटीका कुरेर बसेका छौं । अझै २ घण्टा भन्दा ज्यादा समय लाग्छ होला ।’

मतगणनाको परिणाम डिस्प्लेमा देखाउने तयारी भइरहेको निर्वाचन अधिकृत फुँयाले जानकारी दिए ।

इलाम–२मा शनिबार भएकाे मतदानमा जम्माजम्मी ५८ प्रतिशत मत खसेको छ । गत ०७९ को निर्वाचनमा ५९.७८ प्रतिशत मतदान भएको थियो । निर्वाचन आयोगका अनुसार इलाम २ मा एक लाख १६ हजार ८८९ मतदाता छन् ।

यहाँ विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवारले चुनावी प्रतिष्पर्धा गरेका छन् ।