आगलागी भएको गेम जोन । तस्बिर : बिबिसी

अन्तर्राष्ट्रिय

गुजरातको गेम जोनमा आगलागी हुँदा २७ जनाको मृत्यु

By खबरहब

May 27, 2024

गुजरात – भारतको गुजरात राज्यको एउटा गेम जोनमा भएको आगलागीमा परेर मृत्यु हुनेको संख्या २७ पुगेको छ। शनिवार आगलागी हुँदा बालबालिकासहित २७ जनाको मृत्यु भएको हो।

स्थानीय प्रहरीले पीडित नराम्रोसँग जलेको हुँदा उनीहरूको पहिचान स्थापित गर्न गाह्रो भइरहेको बताएका छन्। आगो नियन्त्रणमा लिए पनि आगो लाग्नुको कारण अझैसम्म खुल्न सकेको छैन।

राजकोटको मावारोडमा अवस्थित टीआरपी गेम जोनमा लागेको आगो निभाउन कैयौँ दमकल प्रयोग गरिएका थिए।

प्रत्यक्षदर्शीले उक्त आगो ज्यादै भीषण भएको र धुवाँ पाँच किलोमिटर परको दुरीबाट देखिएको बताएका छन्।

उक्त मलको गेम जोनमा वाइल्डिङको काम चलिरहेको र स्थानीयले सर्ट सर्किट भएको सूचना दिएको विवरण सार्वजनिक भएका छन्।

राजकोटका पुलिस कमिश्नर राजु भार्गवले गेम जोनका मालिकविरुद्ध हत्या र लापरबाहीको अभियोग लगाउने र त्यसपछि थप जाँच गर्ने बताएका छन्। घटनालाई लिएर चारजना पक्राउ परेको बिबिसीले खबरमा उल्लेख गरेको छ।

आगलागी लगत्तै दुर्घटनाको जाँच गर्न पाँच सदस्यीय विशेष अनुसन्धान टोली गठन भएको छ। जाँच टोलीलाई ७२ घण्टाभित्र आफ्नो प्रारम्भिक प्रतिवेदन सरकारलाई बुझाउन भनिएको छ। टोलीले विस्तृत प्रतिवेदन १० दिनपछि बुझाउने छ। आगलागीमा परेर भर्खरै जन्मिएको शिशुदेखि युवा पुस्ताका धेरै व्यक्तिको मृत्यु भएको बताइए पनि पूर्ण विवरण आइसकेकोछ छैन ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राजकोटमा भएको आगजनीले आफूलाई ज्यादै दुखी तुल्याएको भन्दै आफ्ना प्रियजन गुमाउनेलाई आफूले सम्झिएको बताएका छन्।