देश/प्रदेश

सिरोहियालाई तेस्रो पटक म्याद थपका लागि अदालत लगिँदै

By खबरहब

May 27, 2024

काठमाडौं– नागरिकता सम्बन्धी कसुरमा पक्राउ परी प्रहरीको हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा प्रहरीले तेस्रो पटक म्याद थपका लागि आज जिल्ला अदालत धनुषामा पेस गर्ने भएको छ ।

यसअघि गत शुक्रवार जिल्ला न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले अनुसन्धानकालागि थप गरेको तीन दिनको समय आज सकिने भएपछि सिरोहियालाई अदालतमा उपस्थित गराउन लागिएको धनुषा प्रहरी प्रवक्ता तथा डिएसपी रंञ्जन अवाले जानकारी दिए।

अनुसन्धान जारी रहेकाले तेस्रोपटक म्याद थपका लागि अदालतमा पेस गर्न लागिएको प्रहरीको भनाइ छ ।

यस्तै, गत मङ्गलवार थापाथलीस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ परेका सिरोहियालाई पहिलोपटक गत बुधवार धनुषा जिल्ला अदालतका न्यायाधीश चुरामन खड्काको इजलासले तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

सिरोहिया गत शुक्रबार उच्च रक्तचाप, मुटु सम्बन्धी समस्या भएपछि अस्पताल भर्ना भएका थिए । उनी अहिले पनि जनकपुरस्थित काव्या अस्पतालमा उपचाररत छन् ।