समाचार

एम्बुलेन्समा चढेर धनुषा अदालत पुगे सिरोहिया

By खबरहब

May 27, 2024

जनकपुरधाम– कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया एम्बुलेन्समा चढेर जिल्ला अदालत धनुषा पुगेका छन् ।

दोस्रो पटक म्याद थपिएपछि मुटुमा समस्या आएको भन्दै प्रहरी हिरासतबाट निस्किएर जनकपुरस्थित काब्य अस्पतालमा बसेका उनी सोमबार अपरान्ह अदालतमा उपस्थित भएका हुन् ।

उनी अहिले एम्बुलेन्समा चढेर अदालत पुगेपछि बाहिरिइसकेका छन् । उनको हिरासत अवधि थप्ने नथप्ने विषयमा अहिले अदालतमा बहस भइरहेको छ ।

उनलाई तेस्रो पटक म्याद थपका लागि धनुषा अदालतको इजलास नम्बर ७ मा पेश गरिएको छ । उक्त इजलासमा न्यायाधीश यदुराज शर्मा रहेका छन् ।

दोस्रो पटक तीन दिनका लागि शुक्रबार थपिएको म्याद आइतबार सकिएको छ । यस्तोमा प्रहरीले सिरोहियालाई तेस्रो पटक म्याद थपका लागि एम्बुलेन्समा हालेर अदालतमा उपस्थित गराएको हो ।

नागरिकता कसुरमा गत मंगलबार पक्राउ परेका सिरोहियालाई सुरुमा शुक्रबासम्म पहिलो पटक, त्यसपछि आइतबारसम्म दोस्रो पटकसहित ६ दिन म्याद थपिएको छ ।

यस पटक पनि जिल्ला सरकारी वकिलको कार्यालयले सिरोहियाविरुद्ध थप ५ दिनको म्याद दिन अदालतसमक्ष माग गरेको छ ।