फाइल फोटो

दार्चुला-तिंकर सडक : केन्द्रले बजेट नदिएपछि ब्याँसले थाल्यो चन्दा अभियान

By खबरहब

June 27, 2024

काठमाडौं– संघीय सरकारले निर्माणधीन दार्चुलाको खलंगा–तिंकर सडकका लागि पर्याप्त बजेट विनियोजन नगरेपछि स्थानीय ब्यास गाउँपालिकाले देशभरिका स्थानीय सरकार र प्रदेश सरकारहरूसँग आर्थिक सहयोगका लागि अपिल गरेको छ । 

संघीय सरकारको न्यून बजेट विनियोजन गरेपछि गाउँपालिकाले देशभरिका स्थानीय सरकार, प्रदेश सरकारसँग रणनीतिक र सामरिक महत्वको सडक निर्माणका लागि आर्थिक सहयोग गर्न अपिल गरेको हो । 

गाउँपालिकाको १६ औँ गाउँसभाले नीति तथा कार्यक्रम र बजेटमार्फत उक्त सडक निर्माणका लागि देशभरिका स्थानीय तह, प्रदेश सरकार र सरोकारवाला निकायहरूसँग सहकार्य गर्ने निर्णयसमेत गरेको छ । 

आगामी आर्थिक वर्ष २०८१-०८२ का लागि पारित बजेटमा संघीय सरकारले खलंगा–तिंकर सडक निर्माणका लागि ८ करोड ५० लाख रुपैयाँमात्रै बजेट विनियोजन गरेको छ । 

‘संघीय सरकारको न्यून बजेट विनियोजनलाई ध्यानमा राख्दै देशभरिका प्रदेश सरकार, स्थानीय सरकार र सरोकारवाला सबैको सहयोगमा सर्वाधिक रणनीतिक र सामरिक महत्वको सडक निर्माणमा ब्याँस गाउँपालिकाको १६ औँ गाउँसभाले नीति तथा कार्यक्रम र बजेटमार्फत उक्त सडक निर्माणका लागि सहकार्य गर्ने निर्णय गरेको छ,’ गाउँपालिकाले सार्वजनिक रुपमा गरेको अपिलमा भनेको छ । 

तिंकर सडक निर्माणमा संघीय सरकारले न्यून बजेट विनियोजन गरिरहेको अवस्थामा यसको आवश्यकता एवम् महत्वलाई आत्मसाथ र उजागर गर्दै सडक निर्माणमा रचनात्मक सक्रियता र सहकार्य गर्न तयार भएको गाउँपालिकाको भनाइ छ । 

स्थानीय सरकार, प्रदेश सरकार र सरोकारवालाहरुबाट संकलन गरिएको रकम दार्चुला–तिंकर सडक निर्माणमा मात्रै उपयोग गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले आर्थिक सहयोग संकलनका लागि ‘दार्चुला–तिंकर सडक निर्माण कोष’ खडा गरेर बैंक खाता सञ्चालन गरेको छ । 

नेपालतर्फ ब्याँस क्षेत्र जोड्ने पैदल बाटो समेत नभएका कारण छाङरू र तिंकर जाने स्थानीय बासिन्दाहरू भारतीय प्रशासनको लिखित अनुमति (परमिट) लिएर जाने गरेका छन् । उक्त सडक निर्माणपछि कैलाश–मानसरोवर यात्रा सञ्चालनको ढोका खुल्ने छ ।

२०७७ बैशाख १४ मा मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार हाल उक्त सडकखण्ड नेपाली सेनाले निर्माण गरिरहेको छ । नेपाली सेनाले २०७८ माघ २८ देखि ब्याँस गाउँपालिका–३ मा पर्ने तुषरपानीदेखि वडा नम्बर १ तिंकरस्थित नेपाल–चीनको सिमाना (१ नम्बर पिलर) तिंकर भन्ज्याङसम्मको ७९ किलो मिटर लामो सडक निर्माणको काम थालेको थियो ।

चालु आर्थिक वर्ष २०८०-०८१ सम्म तिंकर सडक निर्माणमा ४७ करोड ६८ लाख ४३ हजार रुपैयाँ खर्च भइसकेको छ भने वडा नम्बर ३ तुषरपानीदेखि वडा नं २ को दुम्लिङ गाउँसम्म १३ किलोमिटर लामो सडकको ट्रयाक खुल्ने अवस्थामा छ ।

नेपाली सेनामार्फत् निर्माण भइरहेको उक्त सडक एक आर्थिक वर्षमा २-३ किलोमिटर मात्रै निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ । न्यून बजेट विनियोजनका कारण लक्ष्यअनुसारको कार्य प्रगति नभइरहेको गाउँपालिकाको भनाइ छ । 

नेपाली सेनाले तयार गरेको डीपीआरअनुसार ७९ किलोमिटर लामो सडकको ट्रयाक निर्माण सम्पन्न गर्न ३ अर्ब ७४ करोड बजेट लाग्ने अनुमान गरिएको छ ।