तस्बिर : क्रिकइन्फो

ब्रेकिङ स्टोरी

विश्वकप क्रिकेट : रोकियो वर्षा, भारतले पहिले ब्याटिङ गर्दै

By खबरहब

June 27, 2024

काठमाडौं – टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा भारतले पहिले ब्याटिङ गर्ने भएको छ । गुयानाको प्रोभिडेन्स स्टेडियममा इङ्ल्यान्डले टस जितेर बलिङ रोजेपछि भारतले पहिले ब्याटिङ गर्ने भएको हो ।

नेपाली समय अनुसार राति सवा आठ बजे खेल सुरु हुने भनिएपनि वर्षाका कारण निर्धारित समयमा खेल सुरु हुन सकेन । क्रिकइन्फोका अनुसार वर्षा रोकिएपछि अहिले गुयनाको मौसम सफा छ ।

भारतीय टोली जारी प्रतियोगितामा अपराजित हुँदै सेमिफाइनलमा पुगेको छ । उता इङ्ल्यान्ड समूह चरणमा अस्ट्रेलिया र सुपर८ मा दक्षिण अफ्रिकासँग हारेको छ ।

सन् २०१४ यता भारत पहिलो उपाधिको खोजीमा छ । यो विश्वकपसँगै भारतका कयौँ स्टार खेलाडीहरू बिदा हुँदैछन् । यस पटक भारत उपाधिको लामो खडेरी तोड्न फाइनल यात्रा तय गर्ने दाउमा छ ।

भारतका लागि गर या मरको अवस्थामा रहेको यो खेलले सन् २०२२ को सेमिफाइनल याद दिलाउँछ । त्यसबेला भारतलाई इङ्ल्यान्डले हराएको थियो ।

वर्षाबीच पनि भारत र इङ्ल्यान्डका हजारौँ दर्शक स्टेडियम पुग्दैछन् । गुयानाको प्रोभिडेन्स स्टेडियममा हुन लागेको यो खेलको विजेताले आगामी जुन २९ मा उपाधिका लागि दक्षिण अफ्रिकासँग खेल्ने छ ।