खेलकुद

अर्धशतक बनाएर आउट भए रोहित

By खबरहब

June 27, 2024

काठमाडौं । टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनल अन्तर्गत इङ्ल्यान्डविरुद्धको खेलमा भारतका कप्तान रोहित शर्मा अर्धशतक बनाएर आउट भएका छन् । उनलाई १४ औं ओभरको चौथो बलमा इङ्ल्यान्डका आदिल रासिदले बोल्ड गरेका हुन् ।

आउट हुनुअघि रोहितले ३९ बलको सामना गर्दै ५७ रन बनाए । त्यसक्रममा उनले ६ चौका र २ छक्का समेत प्रहार गरे । यसअघि भारतले पहिलो विकेटको रुपमा विराट कोहलीलाई ९ र दोस्रो विकेटको रुपमा ऋषभ पन्तलाई चार रनमा गुमाएको थियो ।

१४ ओभरको खेल सकिँदा भारतले तीन विकेटको क्षतिमा ११३ रन बनाएको छ । २८ बलमा ३९ रन बनाएर खेलिरहेका सूर्यकुमार यादवलाई साथ दिन क्रिजमा हार्दिक पाण्ड्या आएका छन् ।

यसअघि नेपाली समय अनुसार राति सवा आठ बजे खेल सुरु हुने भनिएपनि वर्षाका कारण निर्धारित समय भन्दा करीब एक घण्टा ढिलो गरि सुरु भएको थियो ।

भारतीय टोली जारी प्रतियोगितामा अपराजित हुँदै सेमिफाइनलमा पुगेको छ । उता इङ्ल्यान्ड समूह चरणमा अस्ट्रेलिया र सुपर८ मा दक्षिण अफ्रिकासँग हारेको छ ।