देश/प्रदेश

मुस्ताङको थासाङमा फेरि हिउँपहिरो, बोक्सीखोला थुनियो

By खबरहब

August 27, 2024

म्याग्दी– धौलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट आज साँझ पुनः हिउँपहिरो खसेको छ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मूलखर्कमा यही भदौ  ७ गते अपराह्न पनि हिउँ पहिरो खसेको थियो ।

थासाङ गाउँपालिका–२ का वडाध्यक्ष समेत रहेका थासाङ गाउँकार्यपालिकाका प्रवत्ता गौतम शेरचनले हिउँपहिरोले बोक्सीखोला पूर्ण रुपमा थुनिएको बताए ।

‘यसअघिको पहिरो मूलखर्क क्षेत्रमा थुप्रिएको थियो, आजको हिउँपहिरो बोक्सीखोलाको नजिकै धेरै तलसम्म आएको छ’, उनले भने, ‘हिउँपहिरोले बोक्सीखोला पूर्ण रुपमा थुनिएकाले सतर्कता अपनाइएको छ ।’

बोक्सीखोला कालीगण्डकीको सहायक नदी हो । आज साँझ ५ः४५ मा हिउँपहिरो खसेको थियो । आसपासमा बस्ती नभए पनि बेनी–जोमसोम सडक बोक्सीखोलामा पर्दछ ।

यसअघि वि.सं. २०७८ कात्तिक २८ र फागुन २१ गते थासाङ गाउँपालिका–२ कोवाङमा टुकुचे हिमालबाट आएको हिमपहिरोमा पुरिएर १५० भन्दाबढी चौँरीगाई मरेका थिए । रासस