राजनीति

जनताको अधिकार रक्षाका लागि सडकमा जान तयार छौँ : प्रचण्ड

By खबरहब

July 27, 2024

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनका नाममा जनताको अधिकार खोस्न खोजिएको बताएका छन् ।

पुष्पलाल स्मृति प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले संविधानको मूलभूत प्रस्तावनालाई बदलेर जनताको अधिकार खोस्न खोजिएको बताएका हुन् । 

संसद्को दुई ठूला दल मिलेर सरकार बनाउने विषय अस्वभाविक भएको भन्दै उनले अहिले दुईदलीय प्रणालीमा लैजाने उद्देश्यका साथ नयाँ गठबन्धन बनेको उल्लेख गरे । 

प्रचण्डले संविधान संशोधनमा आफूहरूको विरोध नभएको तर संविधान संशोधनका नाममा प्रतिगमनतर्फ लैजाने प्रवृत्तिको विरोध भएको धारणा राखे । उनले जनताको अधिकार रक्षा गर्नका लागि आवश्यक परे सडकमा जान पनि तयार रहेको बताए । प्रचण्डले नेपालको समाजवादको आधारका लागि कम्युनिष्ट पार्टीको एकताको प्रयास निरन्तर गर्नुपर्ने धारणा राखे ।

एमालेभित्र पनि ठूलो देशभक्तहरूको पङ्क्ति अझै रहेको भन्दै उनले एमालेमा रहेका कम्युनिष्ट क्रान्तिकारीलाई एकतावद्ध गर्नका लागि चिन्तनमनन गर्नुपर्ने उल्लेख गरे ।