तस्विर- रोयटर्स

अन्तर्राष्ट्रिय

इजरायली सेनाद्वारा गाजामा पुनः निकासीको आदेश जारी

By खबरहब

July 27, 2024

गाजा– गत बुधबार पाँचवटा इजरायलीको शव बरामद गरेसँगै इजरायली सेनाले शनिबार दक्षिणी गाजाको खान युनिस सहरका बासिन्दालाई उक्त स्थान खाली गर्न आदेश जारी गरेको छ ।

इजरायली सेनाले  गत सोमबारबाट यस क्षेत्रमा कारबाही सुरु गरेदेखि  लडाइँका कारण एक लाख ८०  हजारभन्दा बढी प्यालेस्टिनी विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

प्यालेस्टिनी क्षेत्रमा बिग्रदो स्वास्थ्य र सरसफाइको अवस्था रिपोर्ट गर्दै राष्ट्र सङ्घले बढ्दो द्वन्द्व र बारम्बारको निकासीले सहायता कार्यलाई अस्थिर बनाएको उल्लेख गरेको छ ।  

सुरक्षित मानवीय क्षेत्रसहित खान युनिस क्षेत्रमा सेनाले बासिन्दालाई निकासी चेतावनी दिएपछि स्वास्थ्य मन्त्रालयले सोमबार खान युनिसमा इजरायली कारबाहीमा ७० जनाको मृत्यु हुनुका साथै २ सय भन्दा बढी घाइते भएको जनाएको छ ।

सुरुवाती समयमा तिव्र लडाइँ भएको त्यस क्षेत्रबाट इजरायलतर्फ रकेट फायर रोक्ने कार्य गर्ने जनाउदै सेनाले निकासी आदेश दिएको हो । खान युनिसका बासिन्दालाई शनिबार अल–मवासीको समायोजित मानवीय क्षेत्र  खाली गर्न दिएको यो सेनाको दोस्रो आदेश हो ।  

प्रत्यक्षदर्शी र उद्धारकर्ताहरूले शुक्रबार पूर्वी खान युनिस वरपर लडाइँ जारी रहेको र सहरको नासेर अस्पतालमा चिकित्सकले दक्षिणी प्रान्तका विभिन्न भागहरूबाट कम्तिमा १६ जनाको शव उद्धार गरेको बताएका छन् ।