राजनीति

कांग्रेस–एमालेले भनेको संविधान संशोधनको पछाडि अर्कै कुरा लुकेको छ : माधव नेपाल

By खबरहब

July 27, 2024

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गुपचुप रुपमा संविधान संशोधन गर्ने कुरा जायज नभएको बताएका छन् ।

शनिबार पुष्पलाल स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेपालले संविधान संशोधन अपरिहार्य भएपनि गुपचुप रुपमा संविधान संशोधन गर्ने कुरा जायज नभएको बताए । 

कांग्रेस–एमालेले भनेको संविधान संशोधनको पर्दा पछाडि अर्कै कुरा लुकेको उनले बताए । उनले आफ्ना स्वार्थ पुरा गर्नका लागि अनेक जामा पहिरिएपनि वास्तविकता समयक्रम अनुसार उजागर हुने जिकिर गरे ।

अध्यक्ष नेपालले जनताको त्याग तपस्याबाट बनेको संविधानमा कुनै प्रकारको आघात नगर्न चेतावनी दिए । उनले कम्युनिष्ट एकताको आधार तयार गर्नका लागि मोर्चा बनाउदै अघि बढ्नुपर्ने बताए ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले संविधान कसैको निगाहमा नबनेको भन्दै दुई दलले मात्रै संशोधन गर्न नसक्ने बताए । उनले संविधानको मूल मर्मलाई मासेर संविधान संशोधन भएमा कांग्रेस–एमालेविरुद्ध देशव्यापी रुपमा महासंग्राम हुने चेतावनी दिए ।

उनले संविधान संशोधन गर्ने भए त्यसका आधारहरू स्पष्ट हुनुपर्ने जिकिर गरे ।