समाचार

बस खोज्न प्रयोग गरिएको चुम्बक नै त्रिशूलीले बगाइदियो

By खबरहब

July 27, 2024

चितवन- गत असार २८ गते बिहान भरतपुर महानगरपालिका-२९ स्थित सिमलतालमा झरेको पहिरोसँगै त्रिशूलीमा बगेका दुईवटा बसको खोजीमा प्रयोग गरिएको चुम्बक नै हराएको छ ।

भारतीय उद्दार टोलीले सिमलतालस्थित त्रिशुली नदीमा हराइरहेको बसको खोजीमा प्रयोग गरिएको १९ केजीको चुम्बक नै बगेर बेपत्ता भएको हो ।

शनिबार दिउँसो खोजीका क्रममा १९ केजीको चारपाटे चुम्बक त्रिशूलीले बगाइदिएको उद्धार टोलीका एक सदस्यले बताएका छन् । चुम्बक खोज्न देवघाटसम्म पुगे पनि भेट्टाउन सकेनन।

उक्त १९ केजीको चुम्बकसहित लाइफ ब्वाई ट्युबसमेत त्रिशूलीले बगाएको छ । लाइफ ब्वाई ट्युब पानीमा मानिस डुबेका बेला उद्दारमा प्रयोग गरिन्छ ।

एक साताअघिदेखि भारतीय टोलीले त्रिशूलीमा डुबेका बस खोजिरहेको छ । शनिबार १९ केजी र १४ केजीका दुईवटा चुम्बक प्रयोग गरेर खोजी अघि बढाइएको थियो ।

हालसम्म त्रिशूलीमा डुबेका करिब ६५ जना यात्रुमा २४ जनाको शव भेटिएको छ । अन्य यात्रु र बस अझै बेपत्ता छन् ।