हाम्रो समाज जति नै शिक्षित भए पनि यौन जीवनका विषयमा खुलेर बहस गर्ने परिपाटी अझै छैन। जसका कारण यौनजन्य समस्या भएर पनि त्यसबारे सोधीखोजी हुँदैन। अझ विशेष महिला यो विषयमा खुलेर आउँदैनन्। वर्षौसम्म रोग लुकाएर बस्ने प्रवृत्ति व्यापक छ। जब समस्या जटिल बन्छ, तब मात्र उपचारका लागि धाउन सुरु गर्छन्। महिलामा के कस्ता यौनरोग देखिन्छन् ? महिलामा देखिने यौनरोगको कारण के के हुनसक्छन् ? यौनरोग लागिसकेपछि उपचारको अवस्था के छ ? यिनै विषयमा आधारित भएर वीर अस्पतालमा कार्यरत चर्म तथा यौनरोग विशेषज्ञ डा. अनुपमा कार्कीसँग गरिएको कुराकानीः
महिलामा के कस्ता यौनरोग देखिन्छन् ? महिलामा धेरै प्रकारका यौनरोग पाइन्छन्। त्यसमा सबैभन्दा धेरै देखिने भनेको भिडिएस अर्थात् सेतोपानी बग्ने हो। अर्को तल्लो पेट दुख्ने, यौनाङ्गमा घाउ खटिरा आउने, भिरिङ्गी, यौनाङ्गमा मुसा आउने, एचआईभी एड्स लगायत धेरै प्रकारका समस्या लिएर उपचारका लागि आउने गर्दछन्।
महिलामा देखिने यौनरोगको प्रमुख कारण केलाई मान्ने ? यौनाङ्गमा देखिने सबै रोग यौनरोग होइनन्। तर एकभन्दा बढी पुरुषसँग असुरक्षित शारीरिक सम्बन्ध राख्दा देखिने समस्यालाई यौनरोग मानिन्छ। यौटा यौनरोग लागेपछि सँगसँगै अन्य रोग पनि देखिने सम्भावना हुन्छ।
यौनाङ्गमा देखिने सबै रोग यौनरोग होइनन्। तर एकभन्दा बढी पुरुषसँग असुरक्षित शारीरिक सम्बन्ध राख्दा देखिने समस्यालाई यौनरोग मानिन्छ।
यौनरोग लागिसकेपछि उपचारको अवस्था के छ ? विभिन्न लक्षण लिएर बिरामी आउँछन्। उनीहरुको लक्षण हेरेर उपचार हुन्छ। सबै जनाले आफ्नो समस्या खुलेर राख्दैनन्। केही समय लिएर उनीहरुको इतिहास बुझेर मात्रै रगत, यौनाङ्गको पानी, लगायत आवश्यक जाँच गरिन्छ। जाँच गरेपछि प्राप्त रिपोर्टका आधारमा उपचार हुन्छ।
पहिलेका महिला यौनरोग लुकाएर बस्ने गर्थे, अहिले के छ अवस्था ? पहिलेको तुलनामा अहिले धेरै महिला शिक्षित छन्। आफ्नो समस्या खुलेर राख्नसक्ने भएका छन्। तर समस्या भने कायमै छ। अझै पनि यौनशिक्षा पूर्ण रुपमा उनीहरुलाई दिन नसकेकै कारण सबै महिला समस्या भए पनि खुलेर आउँदैनन्। सहर बजार भन्दा ग्रामीण क्षेत्रका महिला लाजकै कारण वर्षौसम्म रोग लुकाएर बसेको पाइन्छ।
समयमै उपचार गरे यौनरोग पूर्णरुपमा निको पार्न सकिने हो ? निको पार्न नसकिने भन्ने अहिले कुनै पनि रोग छैन। एचआईभी निको पार्न कठिन थियो। त्यो पनि अब सम्भव भइसकेको छ। यदि समयमै रोग पत्ता लाग्यो र नियमित औषधी सेवन गर्ने हो भने एचआईभी भएको व्यक्ति पनि पूरा जीवन बाच्न सक्ने अवस्था बनेको छ। भिरीङ्गी र गोनोरीया विभिन्न भाइरसका कारण लाग्ने रोग हुन्। यस्ता यौनरोग समयमै पत्ता लाग्यो र उपचार गर्न सकियो भने पूर्ण रुपमा निको पार्न सकिन्छ।
भिरीङ्गी र गोनोरीया विभिन्न भाइरसका कारण लाग्ने रोग हुन्। यस्ता यौनरोग समयमै पत्ता लाग्यो र उपचार गर्न सकियो भने पूर्ण रुपमा निको पार्न सकिन्छ।
यौनरोग देखिएको अवस्थामा बच्चा जन्माउन मिल्छ कि मिल्दैन ? बच्चा जन्माउनै नमिल्ने भन्ने हुँदैन। तर रोग कत्तिको कडा हो त्यो हेरेर सावधानी अपनाउनुपर्ने हुन्छ। जस्तै गर्भवतीलाई भिरिङ्गी देखियो भने उपचार गर्नैपर्ने हुन्छ। कडाखालको औषधी खानुपर्ने रोग छ जसले बच्चालाई असर गर्छ। त्यस्तो अवस्थामा बच्चा नजन्माउनु नै राम्रो हुन्छ। यदि बच्चा जन्माउनै पर्ने अवस्था आयो भने पनि अप्रेशन गर्नुपर्छ। किनकी यौनाङ्गमा कुनै रोग जस्तै मुसा, पिप बग्ने समस्या छ भने त्यहि बाटो भएर बच्चा जन्मिदा बच्चालाई सर्ने जोखिम धेरै हुन्छ।
यौनरोग सर्ने माध्यम शारीरिक सम्पर्क मात्रै हो वा अन्य तरिकाबाट पनि सर्छ ? सबै यौनरोग शारीरिक सम्पर्कबाट मात्र सर्छन् भन्ने हुँदैन। कुनै रोग रगतको आदानप्रदानबाट सर्छन्। कतिपय रोग आमाबाट बच्चामा सर्ने पनि हुन्छन्।
कुन उमेर समूहका महिलामा यौनरोग बढी देखिने हुन्छ ? अहिलेको अवस्थालाई हेर्ने हो भने १७/१८ वर्षदेखि ४०/४५ वर्षका महिलामा धेरै देखिएको छ। यौनका बारेमा खुलेर बोल्नसक्ने अवस्था अहिले पनि हाम्रो समाजमा छैन। कुन उमेरमा कसरी शारीरिक सम्पर्क राख्ने भन्ने विषयमा सिकाइ हुँदैन। यसले पछिसम्म असर गरिराखेको हुन्छ।
अहिलेका किशोर किशोरी सामाजिक सञ्जालमा जोडिएका छन्। उनीहरुको स्वाभाव उत्तेजित र जिज्ञासु हुन्छ। हाम्रो समाजमा यो कुरा पच्दैन। लुकीछिपी सानै उमेर असुरक्षित सम्पर्कका कारण यौनरोग देखिने सम्भावना हुन्छ भने अर्को महिला सुरक्षित तरिकाले घरमै बस्ने भए पनि पुरुषहरु वैदेशिक रोजगारीमा जाने र उतैबाट रोगहरु ल्याएर श्रीमतीलाई सार्ने या श्रीमान बाहिर भएको बेला अन्य पुरुषसँगको सम्पर्कबाट यौनरोग सर्ने सम्भावना हुने भएकाले २० देखि ४० वर्षका महिलामा यो समस्या बढी नै देखिन्छ।
अहिले यौन रोगका धेरै केश देखिनुमा वैदेशिक रोजगारलाई पनि प्रमुख कारण मानिन्छ। किनकी विदेश जाँदा मेडिकल टेष्ट गरिन्छ। तर घर फर्किदा कसैले परीक्षण गर्दैनन् ।
नेपालमा पहिलेको तुलनामा यौनरोगको अवस्था कस्तो छ ? यौन रोगको समस्या पहिलेको तुलनामा औषत रुपमा बढेको पाइएको छ। तर यौनरोगको बारेमा तथ्यांक त्यति राम्रो छैन। जस्तै भिरिङ्गी भनेको साइलेण्ट रोग हो। यसमा सुरुमा सानो घाउ खटिरा देखिन्छ। यो कहिलेकाहीँ आफै सञ्चो हुन्छ। त्यसपछि उसले वास्ता गर्दैन। तर उसको शरीरमा त्यो रोग रहिराखेको हुन्छ र उसले आफ्नो पार्टनर या अरुलाई सार्दै गइरहेको हुन्छ।
अहिले यौन रोगका धेरै केश देखिनुमा वैदेशिक रोजगारलाई पनि प्रमुख कारण मानिन्छ। किनकी विदेश जाँदा मेडिकल टेष्ट गरिन्छ। तर घर फर्किदा कसैले परीक्षण गर्दैनन् । विदेश जाँदा भिरिङ्गीको टेष्ट पनि हुन्छ। धेरै जनामा बिना लक्षण पनि यो रोग देखिएको हुन्छ। त्यसैले नेपालमा यो अहिले देखिएको भन्दा अझै धेरै यौन रोगका बिरामी हुनसक्छन्।
यौनरोगबाट बच्न के सुझाव दिनुहुन्छ ? यसबाट बच्नका लागि हामीले एकजना पार्टनरसँग मात्रै शारीरिक सम्बन्ध राख्नुपर्छ। क्षणिक आनन्दले एचआईभी जस्ता जटिल यौनरोगको शिकार बन्नुपर्ने अवस्था आउन सक्छ। त्यो हामीले बुझ्नु जरुरी छ। अर्को भनेको थोरै मात्रै पनि लक्षण देखिए भने अप्ठेरो नमानी उपचार गरिहाल्नुपर्छ। थप भनेको यौन रोगको विषयमा स्वास्थ्यकर्मी र सरोकारवालाले चेतनामुलक कार्यक्रममा पनि जोड दिनुपर्छ।