नेपाली काँग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा नेता डा. शेखर कोइरालाले भन्नुभएको छ- ‘नेपाली काँग्रेसको १५औं महाधिवेशन लम्ब्याउने कुनै प्रपञ्च नगरौं…।’
१४ औं महाधिवेशनमा पार्टी सभापतिका निकटतम प्रतिष्पर्धी नेताले कार्यसमितिमा गरेको यो प्रस्तावमात्रै होइन, पार्टी नेतृत्वलाई यो एउटा खबरदारी र आम कार्यकर्ताको आवाज पनि हो।
१४ औं महाधिवेशन आम निर्वाचनको पूर्वसन्ध्यामा भएको थियो। त्यो चुनावी सरकारको नेतृत्व नेपाली कांग्रेसले नै गरेको थियो र राजनीतिक घटनाक्रमहरूमा ‘उथलपुथल’ नभए आगामी २०८४ को चुनावी सरकारको नेतृत्व पनि नेपाली कांग्रेसकै काँधमा आउनेछ। लोकतन्त्रको सौन्दर्य पनि मानिने आम निर्वाचन आफैमा लोकतन्त्रिक चरित्रको जगमा निर्माण भएको नेपाली कांग्रेसका लागि एकप्रकारको राष्ट्रिय जिम्मेवारी पनि हो। अनि त्योभन्दा अघि पार्टीको विधिविधानअनुसार महाधिवेशनलाई समयमै गरिभ्याउनु पनि आफ्नै जिम्मेवारी हो।
करिब एक दशकदेखि नेपाली कांग्रेस एकजना व्यक्तिको नेतृत्वमा छ। यो बीचमा नेपाली कांग्रेसले राष्ट्रिय राजनीतिमा गरेका योगदान र राष्ट्रका लागि निभाएका ऐतिहासिक जिम्मेवारीहरूका बारेमा आम नागरिक अनि काँग्रेसका दशौ लाख कार्यकर्ता आफैमा जानकार छन्। तर नेपाली काँग्रेस आफैंभित्र कसरी चलिरहेको छ भन्ने कुरा स्वंय नेतृत्व आफैले निर्मम समीक्षा गर्नुपर्ने बेला आइसकेको छ।
२०७८ मंसिरको अन्तिम साता नेपाली कांग्रेसको चौधौं महाधिवेशन भएको थियो। विधानअनुसार आगामी वर्ष अर्थात् २०८२ साल मंसिरमा पार्टीको १५ औं महाधिवेशन हुनैपर्छ। अघिल्लो महाधिवेशन पनि समयभन्दा ढिला नै भएको थियो। यद्यपि राजनीतिक पार्टीसम्बन्धि ऐन र पार्टीका आफ्नै विधिविधानअनुसार केही समय लम्ब्याउनु त वैधानिक नै हो। तथापि त्यसमा नेतृत्वको नियत के हो भन्नेबारेमा पनि प्रस्ट हुन जरुरी हुन्छ। समय अनि परिस्थिति अनुकुल हुनु नहुनु र नेतृत्वको स्वार्थका अनुकुलता अनि प्रतिकूलतामा त्यसलाई मूल्याङ्कन गरिनु फरक कुराहरू हुन्।
समाजवाद र लोकतन्त्रको आदर्श बिम्बमा बनेको नेपाली कांग्रेस आज देशको सबैभन्दा ठूलो पार्टी बनेको छ। यद्यपि सांसदहरूको अंकगणितमात्रैले राजनीतिमा महत्व राख्दैन। इतिहासमा हरेक पार्टीका आआफ्ना योगदान र भूमिका छन्। राष्ट्रिय राजनीतिमा सबैका आआफ्ना स्थान छन्। तथापि नेपाली कांग्रेस नेपाली राजनीतिक ऐतिहासका धेरै घुम्तीहरू पार गरेर यहाँसम्म आइपुगेको पार्टी हो। तर, नेपाली कांग्रेस र यसलाई नेतृत्व गर्नेहरूको एउटा बिडम्बना के रह्यो भने हामीले कहिल्यै आफूले इतिहास लेख्ने अनि लेखाउने काम गर्नै सकेनौं मात्रै त्यही इतिहास पानाहरूको रटानमात्रै लगायौं अनि लगाईरह्यौ र त्यसैलाई भजाइखाने भाँडोमात्रै बनाइरह्यौं।
‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’को आदर्शको ऐनामा आज कांग्रेस कहाँ छ ? नेतृत्वले ऐनामा पार्टीको अनुहार हेर्नैपर्ने बेला भएको छ र त्यसमा निर्मम समीक्षा गर्नैपर्ने भएको छ। त्यो भनेको समयमै महाधिवेशन र नेतृत्व हस्तान्तरण नै हो
प्रजातन्त्र अनि उदारीकरण कांग्रेसका आत्मा हुन्। पार्टी यसबाट अलग हुनसक्दैन। आत्मालाई नै अलग गरेर ज्यानमात्रैको के नै काम हुन्छ र! त्यसैले अब खोक्रा आदर्श अनि तिनै इतिहासका पानाहरूमा मात्रै सिमित हुने कि नयाँ इतिहास रचना पनि गर्ने? नेतृत्व सम्हालेका नेताहरूले सोच्न जरुरी छ। कांग्रेसको आदर्श, सिद्धान्त अनि यसका लक्ष्य र उद्देश्यहरूबाट बिचलित बाटाहरू सम्हाल्न अब निकै ढिलाइ भइसकेको छ। समय घर्किसकेपछि पछुताउनुभन्दा समय छँदै त्यसलाई सम्हाल्नतिर लाग्नु नै बुद्धिमानी हुन्छ। त्यसैले यो वा त्यो बाहानामा अबका दिनहरू लम्ब्याउनुहुन्न।
पार्टीको महाधिवेशन भनेको नेता वा नेतृत्व चुन्ने एउटा उत्सवमात्रै होइन। पार्टीका सभापति अनि महामन्त्रीहरू, अरु पदाधिकारी सदस्यहरू छान्ने छानिने मेलोमात्रै पनि होइन। कांग्रेसको महाधिवेशन भनेको पार्टीका नीति निर्माण र विधिविधानहरूको पुनरावलोकन र सिङ्गो पार्टी पुनर्निर्माणको एउटा नयाँ आयाम पनि हो। पार्टीको दशौ लाख कार्यकर्ता, लाखौं मतदाता अनि नेपाली कांग्रेसलाई चाहने आम नागरिकका लागि अविछिन्न उत्साह अनि उमंगलाई पुनर्जागृत गर्ने एउटा महाकुम्भ पनि हो यो महाधिवेशन भनेको। जसले पार्टी निर्माण र सञ्चालनको कार्यभार नयाँ आउने कार्यसमितिलाई हस्तान्तरण गर्दछ।
नेपाली कांग्रेसमात्रै होइन देशको सारा राजनीतिक नेतृत्व अहिले नै ‘मिसन- ०८४’को अभियानमा जुटिसकेको छ। नयाँ-पुराना सबै पार्टीहरूको अर्जुनदृष्टि नै २०८४को निर्वाचनमा छ। २०७९ सालको आम निर्वाचनमा गर्न नसकिएका, नभ्याइएका र नगरिएका धेरै कामहरू अब ०८४को चुनावका लागि आजैबाट शक्ति केन्द्रित र सञ्चयको अभियानमा सबै जुटिसकेको अवस्था छ। यस्तो अवस्थामा पार्टी, नेतृत्व र यसका संगठनहरूमा पुनर्जागरण जरुरी छ। नेपाली काँग्रेस एउटा कुनै चुनावी मिसन नभएर लोकतन्त्रका लागि सदैब आफूलाई समर्पित गरेको पार्टी हो। तथापि आम चुनाव भनेको अरु पार्टीजस्तै नेपाली काँग्रेसको राजनीतिक जीवनका लागि पनि एउटा मिसन नै हो।
अघिल्लो निर्वाचनपूर्व नै नेपाली कांग्रेसले नेकपा माओवादी अनि नेकपा एकीकृत समाजावादीलगायत अरु पनि राजनीतिक दलहरूसँग गठबन्धन गरेर निर्वाचनमा होमिएको थियो। त्यही चुनावको परिणाम नेपाली कांग्रेस अहिले प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल भएको छ। यद्यपि राष्ट्रका लागि योगदानमा संसदीय अंकगणित गौण कुरा हो। तर पार्टीको धरातल त्यसको आयतनमा पनि भर पर्छ। पार्टी महधिवेशनको लगभग २ वर्षपछि गत वर्षको फागुनमा भएको महासमिति बैठकले अब नेपाली कांग्रेसले चुनावअघि गठबन्धन नगर्ने नीति पारित गरेको छ। नेपाली कांग्रेस पार्टी स्थापनाको आठ दशकको अवधिमा भएको यो दशौं महासमिति बैठक थियो।
नेपाली कांग्रेसभित्र सर्वोच्च निकाय मानिने महासमिति बैठकले तय गरेको नीतिअनुसार २०८४ को चुनावमा नेपाली काँग्रेसले कुनै पनि राजनीतिक दलहरूसँग चुनावी गठबन्धन गर्ने छैन र एक्लै लड्नेछ। तर अहिलेको राष्ट्रिय राजनीतिक परिस्थितिमा फेरि नेपाली काँग्रेस एउटा कम्युनिस्ट पार्टीसँगको साझेदारी सत्तामा छ। राजनीतिक रुपमा हरेक पार्टी एकअर्का प्रतिष्पर्धी हुन्। यो हिसाबले हेर्दा सत्तागठबन्धन र चुनावी गठबन्धन अनि कुनै परिस्थितिमा गरिएका सहकार्य एंव साझेदारीहरूले बेग्लाबेग्लै अर्थ राख्छन्।
तथापि नेपाली कांग्रेस आगामी चुनावमा त उत्रिनु नै छ। त्यो पनि महासमितिले पारित गरेका नीतिहरू लिएर। त्यसका लागि गर्नुपर्ने अझै धेरै कामहरू कामहरू बाँकी छन्। जिम्मेवारीमा बसेका पार्टी नेतृत्व अनि पदाधिकारीहरू तत्काल आ-आफ्नो कर्ममा जुटिहाल्नुपर्ने अवस्था छ। चौधौं महाधिवेशनले दिएका धेरै कार्यभारहरू पूरा गर्न अझै बाँकी नै छ। पार्टीका हरेक तहका संचरनाहरू सम्हाल्नुपर्ने जिम्मेवारी त छँदैछ त्यसमा पनि नेपाली काँग्रेससँग ‘रगत’ गाँसिएका आम कार्यकर्ता, शुभेच्छुक र मतदाताकहाँ पुग्नुपर्ने बाटाहरू अब धेरै लामा भइसकेका छन्। पार्टीसँग गाँसिएका १५ भ्रातृ संस्था र २७ वटा शुभेच्छुक संघसंस्थाहरूमध्ये अहिलेसम्म आधाभन्दा धेरैका अधिवेशनहरू भएका छैनन्।
भ्रातृ अनि शुभेच्छुक संघसंस्थाहरू भनेका नेपाली कांग्रेसलाई समुदायमा जागृत बनाइरहने त्यस्ता पंखहरू हुन् जसले पार्टीलाई सदैव ताजगीपन दिइरहन्छ। उसै पनि नेपाली कांग्रेसको सांगठनिक पाटो लथालिंग र भताभुंग भएको धेरै भइसकेको छ। यसतर्फ अहिलेसम्म कुनै पनि नेतृत्वले ध्यान दिन सकेकै छैन।
नेपाली कांग्रेस आफैंमा ‘मास’ पार्टी हो। समुदाय र जनतासँग टाढा भए नेपाली कांग्रेसको राजनीतिक जीवन नै रहँदैन। त्यसैले नेपाली कांग्रेस सधैं समुदायमै रहनुपर्छ। कांग्रेसलाई प्राण भरिरहेको त्यही समुदायसँग जोड्ने बलिया कडीहरू भनेकै यस्तै भ्रातृ अनि शुभेच्छुक संघसंगठनहरू हुन्।
चौधौ महाधिवेशनमा नटुङ्गिएका क्रियाशील सदस्यका मुद्दाहरू अझैं थाती छन्। यी तमाम कार्यभार सम्पन्न गर्नका लागि नेपाली काँग्रेसले नेतृत्वभित्रका पदाधिकारी अनि केन्द्रीय सदस्यहरूलाई जिम्मेवारीसमेत तोकिसकेको छ। तर ती काम आधाअधुरै छन्। समयको घेराले भने झनझन् च्याप्दै लगिरहेको छ।
नेपाली कांग्रेससँग दशौ लाख रसिद काटेका कार्यकर्ता र सदस्यहरूमा मात्रै छैनन्, जन्मजात नाता गाँसिएका लाखौं त्यस्ता शुभेच्छुकहरू पनि छन् जसले काँग्रेसका नाममा ‘रुख’मात्रै चिनेका छन्। यिनै भुँइमान्छेका सदासयताले मात्रै नेपाली कांग्रेस आजको दिनसम्म राष्ट्रको नेतृत्वदायी पार्टी हुन सकेको छ। पार्टी कुनै व्यक्तिको पेवा होइन, अनि नेतृत्व भनेको विरासत र इतिहासको ‘ब्याज’ पनि होइन। त्यसमा पनि नेपाली कांग्रेसको आफ्नै मौलिक चरित्र अनि आदर्शहरू छन्।
‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’को आदर्शको ऐनामा आज नेपाली कांग्रेस कहाँ र कस्तो छ? नेतृत्वले एकपटक त्यो ऐनामा पार्टीको अनुहार हेर्नैपर्ने बेला भएको छ। र त्यसमा निर्मम समीक्षा गर्नैपर्ने भएको छ। त्यो भनेको समयमै महाधिवेशन र नेतृत्व हस्तान्तरण नै हो। नेपाली कांग्रेसको राजनीतिक जीवनको भविष्य अनि नयाँ राजमार्गको रुपरेखा त्यहिँबाटै कोरिनेछ।
अन्यथा नेता डा. शेखर कोइरालाले भन्नुभएजस्तै यो वा त्यो बहानामा पार्टीको १५ औं महाधिवेशन सार्ने वा टार्ने काम भयो भने त्यसले कांग्रेस र लोकतन्त्र दुवैलाई दुर्घटनातर्फ जानेछ भन्ने कुरामा कुनै दुविधा छैन।
(लेखक डा. शोभाकर पराजुली नेपाली कांग्रेससँग आवद्ध छन् । यस लेखमा व्यक्त विचार लेखकका निजी हुन्, जसले खबरहबको सम्पादकीय नीतिको प्रतिनिधित्व गर्दैनन् )