अन्तर्राष्ट्रिय

भारत यसैवर्ष तेस्रो ठूलो अर्थतन्त्र बन्छ : आईएमएफ उपनिर्देशक गोपिनाथ

By खबरहब

August 27, 2024

काठमाडौं– अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की उपनिर्देशक डा. गीता गोपिनाथले यसै वर्ष भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने आफ्नो अपेक्षा रहेको बताएकी छिन् ।

इण्डिया टुडेसँगको कुराकानीका क्रममा डा. गोपिनाथले यसैवर्ष भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने आफूले अपेक्षा गरेको बताएकी हुन् ।

उनले अघिल्लो आर्थिक वर्षमा भारतले अपेक्षाभन्दा निकै राम्रो वृद्धिदर हासिल गरेको उल्लेख गरिन् । भारतीय अर्थतन्त्रमा निजी उपभोगमा सुधार आइरहेको उनको भनाइ छ ।

अघिल्लो आर्थिक वर्षमा भारतको निजी उपभोगको वृद्धि ४ प्रतिशत आसपास रहेको र यस वर्ष ग्रामीण भेगको उपभोगमा सुधार देखिएको उनले बताइन् ।

मनसुनको समयमा राम्रो रहेको उल्लेख गर्दै डा. गोपिनाथले अन्न उब्जनीमा पनि राम्रो प्रगति हुने आफ्नो प्रक्षेपण रहेको बताइन् ।

आईएमएफले आफ्नो प्रतिवेदनमा आर्थिक वर्ष सन् २०२४–२५ मा भारतको अर्थतन्त्र ७ प्रतिशतले वृद्धि हुने जनाएको छ । भारत सरकारले भने यस वर्ष ६.५ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ ।