मनोरञ्जन

‘झोला’का निर्देशकले ल्याए ‘झिल्को‘, पुष ५ बाट प्रदर्शन

By खबरहब

September 27, 2024

काठमाडौं- यादवकुमार भट्टराईको निर्देशन रहेको फिल्म ‘झिल्को’को फस्टलुक पोस्टर र प्रदर्शन मिति सार्वजनिक भएको छ । निर्माण पक्षले शुक्रबार पोस्टर सार्वजनिक गर्दै पुष ५ गतेलाई प्रदर्शन मिति तय गरिएको जानकारी दिएको हो ।

सार्वजनिक पोस्टरमा वरिष्ठ रङ्गकर्मी सुनिल पोखरेल नायिका वर्षा सिवाकोटी, कलाकार भोलाराज सापकोटा, विशाल पोखरेल र बालकालाकार आयुषी ढकाल फिचर्ड छन् । पोस्टरको केन्द्र भागमा मोवाइलको स्क्रिनमा आयुषीलाई देख्न सकिन्छ । पोस्टरले उनी संकटमा परेको संकेत गर्छ । बाँकी कलाकार मोवाइलको दायाँ-बायाँ छन् ।

निर्देशक भट्टराईका अनुसार मोबाइल दुर्व्यसनका कारण बालबालिकामा देखिने समस्या, त्यसले उत्नपन्न हुने परिवारिक र समाजिक घटनामा आधारिक कथामा फिल्म बनेको छ ।

फिल्मबारे उनी थप्छन्, ‘ग्याजेटहरुले बालबालिकादेखि युवापुस्ता र ज्येष्ठ नागरिकसम्म सबैलाई गम्भीर रूपमा गाँजेको छ । प्रयोग गर्न नजान्दा ठूलो समस्याका विकास भएका छन् । यो डिजिटल दुर्व्यसनी बनेको छ । आजको यही संवेदनशिल विषय कथा हो-झिल्को ।’

यो फिल्मको छायाङ्कन गत चैत महिनामा सुरु भएको थियो । उपत्यकाको तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा छायाङ्कन भएको बुझिएको छ ।

निर्देशक भट्टराई फिल्म ‘झोला ’ निर्देशन गरेर चर्चामा आएका हुन् । उनको निर्देशन रहने यो तेस्रो फिचर फिल्म हो ।

झिल्कोको पटकथा तथा संवाद निर्देशक भट्टराईसहित अरुणदेव जोशी र देव व्रतले तयार पारेका हुन्। मिडिया फर कल्चरको प्रस्तुति रहने यस फिल्मको निर्मात सुशिला आचार्य हुन् । कार्यकारी निर्माता उमेश पौडेल रहेका छन् ।