खेलकुद

माल्दिभ्स रोड रेसको उपाधि नेपालका सन्तोष र सन्तोषीले जिते

By खबरहब

October 27, 2024

 

माले- माल्दिभ्सको सबैभन्दा ठूलो दौड प्रतियोगिताको मुख्य उपाधि दुईजना नेपाली खेलाडीले जितेका छन् ।

माल्दिभ्सको हुल्हुमालेमामा भएको १५औँ धिरागु माल्दिभ्स रोड रेसमा नेपालकी ‘गोल्डेन गर्ल’ धाविका सन्तोषी श्रेष्ठ र धावक सन्तोषविक्रम विष्टले दुई–दुई स्वर्ण पदक जितेका छन् ।

माल्दिभ्स एथलेटिक क्लब आइल्याण्ड रनर माल्दिभ्सका तर्फबाट व्यावसायिक खेल खेल्दै आएका सन्तोषी र सन्तोषले शुक्रबार भएको दुई खेलमा हाफ म्याराथन र ५ किलोमिटरको मुख्य विधामा स्वर्ण जितेका हुन् ।

सन्तोषीले २१ किलोमिटर १ घण्टा २६ मिनेट ५७ सेकेन्ड र ५ किलोमिटर १७ मिनेट ४७ सेकेण्डमा पार गरिन् । पुरुषतर्फ सन्तोषले २१ र ५ किलोमिटरको दूरी क्रमशः १ घण्टा १४ मिनेट २६ सेकेण्ड र १५ मिनेट २८ सेकेण्डमा पूरा गरे ।

हाफ म्याराथनमा मुख्य विधामा सन्तोषीले सम्हा अहमद र निजमिना अहमदलाई पछि पार्दै उपाधि जितिन् । सन्तोषले हुसेन फाजिल र युसुफ इब्राहिमलाई पछि पारेका छन् ।

जितसँगै सन्तोषीले माल्दिभियन रुपियाँ २५ हजार र १० हजार गरी तीन लाखभन्दा बढी नेपाली रुपैयाँ पुरस्कार पाएकी छिन् ।