ब्रेकिङ स्टोरी

रविबारे प्रधानमन्त्रीले भने- अनुसन्धान हुँदैछ, अदालतमै उफ्री उफ्री कराउनु ठिक होइन

By खबरहब

October 27, 2024

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायीक प्रक्रियामा रहेका बिषयमा विरोध जनाउनु लोकतान्त्रिक मान्यताविपरीत भएको बताएका छन् ।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले अनुसन्धानमा रहेका व्यक्तिका पक्षमा अदालत परिसरमै उफ्री उफ्री कराउनु लोकतान्त्रिक मान्यताविपरीत भएको बताएका हुन् ।

सहकारीको बचत रकम अपचलनबारे संसदीय समितिको प्रतिवेदनलाई सरकारले कार्यान्वयन गरिरहेको पनि उनले जानकारी दिए । आफूले कसैप्रति पूर्वाग्रह नराख्ने र न्यायिक निरुपणबाट हुने निष्कर्षलाई सबैले मान्नुपर्ने पनि ओलीले बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि सरकारले प्रतिशोध साँधेको भन्दै विरोध भइरहेको छ।

रास्वपाले पोखरामा साता लामो आन्दोलनलाई काठमाडौैमा सारेर सरकारको विरोध जनाइरहेको छ । रास्वपाले अर्को चरणको आन्दोलन कडा बनाउने भन्दै काठमाडौंमा कार्यकर्ता उतार्ने तयारी भइरहँदा ओलीको यस्तो भनाइ आएको हो।