राजनीति

माओवादीसँग पार्टी एकता हुँदैन : अध्यक्ष नेपाल 

By खबरहब

October 27, 2024

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादीसँग पार्टी एकता नहुने दाबी गरेका छन् ।

एकीकृत समाजवादीको गण्डकी प्रदेश कमिटीको १० औँ पूर्ण बैठकलाई पोखरामा सम्बोधन गर्दै उनले माओवादीसँग पार्टी एकता नहुने बताएका हुन् । यस्तै उनले एमालेसँग पनि पार्टी एकताको सम्भावना नभएको जिकिर गरे ।

अध्यक्ष नेपालले पार्टीमा देखिएका असन्तुष्टिलाई निराकरण गरिएको भन्दै पार्टी विभाजन हुने या कोही नेता कुनै पार्टीमा प्रवेश गर्ने कुरा पनि हल्ला मात्रै भएको दाबी गरे ।

‘हामी एमाले वा माओवादीसँग एकता गर्ने कुरा बाहिर आइरहेका सुन्छौँ । म प्रस्ट पार्न चाहन्छु, हामी न एमाले न माओवादी कसैसँग पनि एकता गर्दै छैनौँ र त्यस विषयमा कुराकानी पनि भएको छैन ।’ उनले भने, ‘भएको कुरा एजेन्डा मिल्नेहरूसँग सहकार्यको कुरा हो । मोर्चा निर्माण गरेर अगाडि बढ्ने कुरा हो ।’

केही समय अगाडी समाजवादी र माओवादी पार्टी एकताबारे छलफल भइरहेको दुवै पक्षका नेताहरूको भनाइ थियो । तर अहिले यो कुरा सेलाएर गएको छ ।