आर्थिक

अर्थसंक्षेप : गोदावरी पुष्पमेला : तीन दिनमा ९० लाखको कारोबार, आइतबार नौ अङ्कले घट्यो नेप्से

By खबरहब

October 27, 2024

काठमाडौं– आइतबार पूँजीबजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.१९ अङ्कले घटेको छ । यस्तै,ट्राफिक प्रहरीले आर्थिक वर्ष २०८१–८२ को तीन महिनामा ३५ हजार ८५ सवारीसाधनका चालकबाट दुई करोड ७९ लाख ४१ हजार राजस्व सङ्कलन गरेको छ । यता, नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । यसरी नै ललितपुरको जावलाखेल मैदानमा जारी १७औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा तेस्रो दिनसम्म ९० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रमुख आर्थिक समाचारहरु :

आइतबार नौ अङ्कले घट्यो नेप्से, कुन समूह कस्तो ?

आइतबार पूँजीबजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.१९ अङ्कले घटेको छ । आज नेप्से ०.३४ प्रतिशतले घटेर २६१७.९५ बिन्दुमा झरेको हो । कारोबार अवधिभर आज चार अर्ब ७३ करोड २४ लाख ८७ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज एक करोड ११ लाख ३४ हजार १७८ कित्ता शेयर किनबेच भएको हो ।

आज ९१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ११ वटा कम्पनीको शेयरमूल्य स्थिर छ । आज दिनभरमा ३२० वटा कम्पनीको शेयर कारोबार भएको हो । ५६ हजार ६४६ पटक शेयर किनबेच भएको छ ।

आज पाँच कम्पनीको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । पाँच समूह बढेको छ भने ६ वटा समूह घटेको छ । आज सबैभन्दा बढी जीवन बीमा १.५१ प्रतिशतले बढेर १२ हजार ८२५.७८ विन्दुमा पुगेको छ । सबैभन्दा कम ट्रेडिङ समूह ०.३९ प्रतिशतले बढेर तीन हजार ५५९.७९ विन्दुमा पुगेको छ ।

त्यस्तै, फाइनान्स समूह १.११ प्रतिशतले, होटल एण्ड टुरिजम ०.६९ प्रतिशतले र हाइड्रोपावर समूह ०.४७ प्रतिशतले बढेको छ ।

तीन महिनामा दुई करोड ७९ लाख राजस्व सङ्कलन

ट्राफिक प्रहरीले आर्थिक वर्ष २०८१–८२ को तीन महिनामा ३५ हजार ८५ सवारीसाधनका चालकबाट दुई करोड ७९ लाख ४१ हजार राजस्व सङ्कलन गरेको छ । पूर्वपश्चिम राजमार्गमा जडान गरिएको सीसीटिभी र राडरगनबाट सवारीसाधनको गति निगरानी गरिरहेको ट्राफिक प्रहरीले गत साउनदेखि असोजसम्ममा उक्त रकम सङ्कलन गरेको चितवनस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ ।

यसैबीच, उक्त अवधिमा बागमती प्रदेशका १० जिल्लामा भएका तीन सय ९७ सवारी दुर्घटनामा ६० जनाको मृत्यु भएको तथा एक हजार तीन जना घाइते भएका थिए ।

‘राजनीतिक स्थिरता र आर्थिक समृद्धि ल्याउन कांग्रेस–एमाले मिलेका हुन’

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्दै आर्थिक समृद्धिलाई अघि बढाउन दुई ठूला जिम्मेवार दल मिलेर वर्तमान सरकार निर्माण भएको बताएका छन् ।

संयुक्त राज्य अमेरिकाका विभिन्न राज्यमा पेशा व्यावसाय गर्दै आएका नेपाली समुदायलाई शनिबार नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उपप्रधानमन्त्री पौडेलले जनताको निराशा चिर्दै, आशा जगाउने र सुन्दर भविष्य निर्माण गर्ने दिशामा सरकार क्रियाशील रहेको बताए ।

उक्त अवसरमा उपप्रधानमन्त्री पौडेलले गैरआवासीय नेपालीहरूलाई नेपालमा ऊर्जा, पर्यटन, सूचना प्रविधि लगायत उच्च सम्भावनाका क्षेत्रमा लगानी गर्न आग्रह गरे ।

पौडेलले गैरआवासीय नेपाली नागरिकलाई मुलुकमा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रयोग गर्नमा आवश्यक कानुनी व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै गैरआवासीय नेपालीको लगानी रहने एनआरएनए डेभलपमेन्ट फन्ड कार्यान्यनमा जाने अन्तिम चरणमा रहेको पनि जानकारी दिए ।

‘नेपालमा लगानीको आकर्षक प्रतिफल प्राप्त गर्ने अवसर छ, सरकारले तपाईंहरूको लगानी सुरक्षाको ग्यारेन्टी गर्दछ, तपाईंहरूले गरेको लगानीको प्रतिफल सहजै लैजान सक्ने गरी कानूनी एवं प्रकृयागत प्रवन्ध मिलाउँदै छ,’ उपप्रधानमन्त्री पौडेलले भने, ‘व्यक्तिगत रुपमा प्रतिफल प्राप्त गर्न र नेपालको आर्थिक समृद्धिमा योगदान गर्न पनि म साथीहरूलाई आग्रह गर्दछु ।’

गैरआवासीय नेपालीहरूले नेपालको भाषा, संस्कृति, सभ्यता र जीवनशैलीलाई अवैतनिक वाणिज्य दूतका रुपमा विश्वभर फैलाउन योगदान गरेको उनले उल्लेख गरे । पौडेलले आफ्नो मातृभूमि प्रतिको आस्था, विश्वास र सम्मानप्रति गैरआवासीय नेपालीहरूलाई धन्यवाद दिए ।

उक्त अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले नेपालमा लगानी सम्वद्ध कानूनहरूलाई समसामयिक परिमार्जन गरी उपयुक्त वातावरण निर्माण भएको उल्लेख गरे ।

कुलमानले लाइन काट्दा प्रधानमन्त्री र ऊर्जामन्त्री तमासे

नेपाल विद्युत प्राधिकरणले बिहीबार राति ३४ उद्योगमा बिजुलीको लाइन काट्यो । प्राधिकरणका अनुसार डेडिकेटेड र ट्रङ्कलाइन महसुल बुझाउन दिएको समयसीमाभित्र उद्योगीहरूले महसुल नबुझाएपछि लाइन काटिएको हो ।

बिजुलीको बक्यौता प्रिमियम महसुललाई लिएर प्राधिकरणले उद्योगमा जोडिएको लाइन काटेको यो पहिलोपटक भने होइन । यसअघि पनि प्राधिकरणले महसुल तिर्न ताकेता गर्दै आवश्यक कानूनी प्रक्रिया पूरा गरी उद्योगहरू लाइन काट्ने र उद्योगीको ‘आग्रह’मा सरकारले निर्देशन दिएपछि बक्यौता भुक्तानी गर्ने नयाँ समय दिएर जोड्ने गर्दै आएको थियो ।

गत असोज २४ गते प्राधिकरणले सूचना जारी गरी ४९ वटा उद्योगहरूलाई कात्तिक ८ गते अर्थात् बिहीबारसम्म बक्यौता महसुल बुझाउन ताकेता गरेको थियो । साथै, प्राधिकरणले बक्यौता बाँकी रहेका उद्योगहरूलाई आठ किस्तासम्मको सुविधा उपयोग गरी बक्यौता महसुल बुझाउन सकिने बताउँदै आएको थियो ।

तर, ताकेता गरेको पछिल्लो समयसम्म ४१ वटा उद्योगहरू भने बक्यौता महसुल बुझाउन तयार भएनन् । त्यसपछि बिहीबार साँझ अदालतमा विचाराधीन रहेका बाहेक बक्यौता प्रिमियम महसुल नबुझाएका ३४ वटा उद्योगको लाइन प्राधिकरणले काटिदिएको हो ।

सुनको मूल्यमा नयाँ ‘रेकर्ड’, कतिमा भइरहेछ कारोबार ?

नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन तोलामा १४ सय रुपैयाँले बढेर एक लाख ६७ हजार चारसय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो ।

शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एकलाख ६६ हजार रुपैयाँमा कारोबार भएको थियो । यसअघि कात्तिक ७ गते सुनको मूल्य एकलाख ६६ हजार ७०० रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड बनेको थियो ।

यस्तै, आज चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला दुई हजार ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत शुक्रकार चाँदी दुई हजार ७० रुपैयाँमा कारोबार भएको थियो ।

वीरगञ्ज नाकाबाट आयात–निर्यात घट्यो वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको तीन महिनामा आयात र निर्यात दुवै घटेको पाइएको छ ।

चालु आर्थिक वर्षको तीन महिनामा एक खर्ब ४३ अर्ब ९१ करोड ६६ लाख पाँच हजार बराबरका मालसामान आयात भएका छन् ।

गत आवको सोही अवधिमा भएको आयातमा ६ दशमलव ४३ प्रतिशतले कमी भएको भन्सार कार्यालयले जनाएको छ । गत आवको सोही अवधिमा एक खर्ब ५३ अर्ब ८० करोड ६३ लाख २१ हजार बराबरका सामान आयात भएका थिए ।

प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार चालु आवको तीन महिनामा वर्षाका कारण आयातमा केही कमी आएको हो । तीन महिनामा समग्रमा राजस्व सङ्कलन भने बढेको छ ।

चालु आवको तीन महिनामा वीरगञ्जबाट सात अर्ब ७६ करोड ३० लाख ५२ हजार मूल्य बराबरका उत्पादन विदेश निर्यात भएका छन् ।

गत आवको सोही अवधिमा आठ अर्ब ४६ करोड ७४ लाख ३४ हजार मूल्य बराबरका सामान निर्यात भएका थिए ।

म्याग्दीका छ सय घरमा विद्युत् सुविधा विस्तार म्याग्दीको मालिका गाउँपालिकाको ६ सय बढी घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले मालिका– १ को छिस, रिठेचौर, वडा नम्बर २ को रुम, बेली, जेम, घाङ्लेपानी, वडा नम्बर ३ को लुप्सीपार, पात्ले, खतेन र ४ नम्बर वडाको ओखरबोटमा विद्युतीकरण गरेको हो ।

मालिका–२ को रुम, बेली, जेम, घ्याङ्लेपानीमा दुई ५६, मालिका–३ खतेनमा ५०, लुप्सीपारमा ५४, पात्लेका एक सय २०, मालिका–४ ओखरबोटमा एक सय दुई घरमा बिजुली बलेको नेपाल विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रका सूचना अधिकारी प्रकाश झाले जानकारी दिए । प्राधिकरणको विद्युतीकरण कार्यक्रमअन्तर्गत पहिलो चरणमा मालिकाका चारवटा वडामा बत्ती बलेको हो ।

म्याग्दीका १४ स्थानका दुई हजार एक ८३ घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सुविधा विस्तारका लागि २२ करोड बजेटको योजना सञ्चालन भएको छ । घ्याङलेपानीबाहेकका बस्तीका बासिन्दाले यसअघि उज्यालोका लागि लघुजलविद्युत् परियोजनाको विद्युत् प्रयोग गरेका थिए् ।

वर्षौँको प्रयासपछि बिजुली बलेपछि स्थानीयमा खुसीयाली छाएको मालिका–३ का वडाध्यक्ष मोतिप्रसाद बुढाले बताउनुभयो । मालिका गाउँपालिकाको वडा नम्बर ३ मा पर्ने पात्ले, लुप्सीपार, किटेनी, डाडागाउँ, औला, सेउलीबाङ, अदिभारा, इग्रे, खतेन बस्तीका तीन सय २५ घरमा विद्युतीकरण भएको उनको भनाइ छ ।

अन्नपूर्ण आधार शिविर पदमार्गमा संरचना अभाव

तीन वर्ष अघिसम्म सुनसान देखिने म्याग्दीको प्रथम अन्नपूर्ण आधार शिविर पदमार्गमा अहिले दैनिक तीन सय बढी पर्यटक ओहोरदोहोर गर्न थालेपछि भौतिक संरचनाको अभाव भएको छ ।

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्ने प्रथम अन्नपूर्ण हिमालको आधार शिविरसम्म जाने र फर्कने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएपछि मौजुदा संरचना अपुग भएका र थप संरचनाको आवश्यकता भएको हो ।

पछिल्लो समय अत्यधिक स्वदेशी पर्यटक पुग्ने गन्तव्य प्रथम अन्नपूर्ण हिमालको शिविर बन्दै गएको छ । तीन वर्षअघिसम्म करिब सुनसानजस्तै हुने पदमार्गमा अहिले दैनिक तीन सयको हाराहारीमा पर्यटक पुग्ने गरेको पर्यटन अभियन्ता तेज गुरुङले बताए ।

खान र बस्ने होटलसहितको सुविधा भए अन्नपूर्ण बेसक्याम्प जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य बन्ने पर्यटन व्यवसायी बताउँछन् ।

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको मुख्य आधार शिविरबाट हिमाल आरोहण गर्ने क्षेत्र, आधार शिविर तथा पञ्चकुण्ड तालसहित पदमार्गमा रहेको फुतफुते ताल, गुफा, झरनासहितका सुन्दर दृष्यावलोकन गर्न पाइन्छ ।

अन्नपूर्ण–३ नारच्याङको हुमखोलाबाट सुरु हुने मौरिस हर्जोग पदमार्ग अन्नपूर्ण आरोहण ट्रेक हुँदै दुई दिनको यात्रापछि अन्नपूर्णको आधार शिविर पुग्न सकिन्छ ।

मिश्रीखोलाको किनारैकिनार निर्माण गरिएको पदमार्गका यात्रामा मनोरम प्राकृतिक सुन्दरताको अवलोकनका साथै हिमनदी र झरनाले पर्यटकलाई आकर्षित गर्छ । यो बेनीबाट छोटो दूरीमा पर्ने आकर्षक पर्यटकीय गन्तव्य हो ।

गोदावरी पुष्पमेला : तीन दिनमा ९० लाखको कारोबार

ललितपुरको जावलाखेल मैदानमा जारी १७औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा तेस्रो दिनसम्म ९० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । प्रदर्शनीको तेस्रो दिनसम्म ३२ हजार ६ सय जनाले अवलोकन गरेका छन् । पुष्पमेलाका संयोजक जङबहादुर तामाङका अनुसार यही कात्तिक ८ गतेदेखि सुरु भएको मेलामा पहिलो दिन ६ हजार नौ सय जनाले अवलोकन गर्दा २५ लाखको कारोबार भएको थियो ।

दोस्रो दिन नौ हजार आठ सय जनाले अवलोकन गर्दा २५ लाखको कारोबार भएको थियो भने तेस्रो दिन १५ हजार नौ सय जनाले अवलोकन गर्दा ५० लाख बराबरको कारोबार भएको संयोजक तामाङले जानकारी दिए ।

उक्त मेलाले फूलखेती व्यावसायिकरुपमा फस्टाइरहेको सङ्केत गरेको तामाङको भनाइ छ ।

नेपालमा हाल ५२ जिल्लामा दुई सय ६० हेक्टर क्षेत्रफलमा फैलिएको पुष्प व्यवसायमा आठ अर्ब ८३ करोडभन्दा बढीको लगानी भएको छ । यस व्यवसायमा एक हजार एक सयभन्दा बढी व्यवसायी संलग्न छन् ।