समाचार

कुष्ठरोगको कष्ट : हेलाको डरले अर्को जिल्लामा गएर उपचार गर्न बाध्य

By पवन मुडभरी

January 28, 2024

आज ७१औं विश्व कुष्ठरोग दिवस विभिन्न चेतनामूलक कार्यक्रम गरी नेपाल लगायत विश्वभर मनाइँदैछ । ‘कुष्ठरोगीसँग भेदभाव नगरौँ’, ‘कुष्ठरोगीलाई माया गरौँ’, ‘कुष्ठरोगी प्रति हुने भेदभाव अन्त्य गरौँ’ भन्ने जस्ता नारा लेखिएका प्लेकार्ड लिएर र्‍यालीमार्फत चेतना फैल्याउने प्रयास गरिदै आएको छ ।

पछिल्लो समय कुष्ठरोगीहरुप्रति हुने गरेको भेदभावमा कमी आए पनि यस्तो भेदभाव पूर्ण रुपमा अन्त्य हुन नसकेको टेकु अस्पतालका छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर शिवेन्द्र झा बताउँछन् । पढेलेखेकै शिक्षित व्यक्ति पनि समुदायमा थाहा हुने डरले एक जिल्लाबाट अर्कै जिल्ला गएर उपचार गर्ने प्रवृत्ति अहिले पनि छ । यस्तो अवस्थामा झन् ग्रामीण क्षेत्रमा बसोवास गर्ने नपढेका मान्छेहरुको स्थिति के होला ? सजिलै अनुमान लगाउन सकिन्छ ।

समाजको दृष्टिकोण परिवर्तन नगरी यस रोगविरुद्ध प्रभावकारी अभियान सञ्चालन गर्न नसकिने उनको बुझाइ छ । त्यहीकारण कुष्ठरोगसम्बन्धी चेतनामूलक कार्यक्रमलाई अझ बढी प्राथमिकताका साथ सञ्चालन गर्ने सरकारी नीति छ ।

के हो कुष्ठरोग ?

मानव जातीमा हजारौँ वर्ष पहिलेदेखि देखापरेको संक्रमण हो । यो रोगको अङ्ग्रेजी नाम ल्याटिन शब्द ‘लेप्रो’ को विकसित रुप हो । त्यही भएर यसलाई ‘ल्याप्रोसी’ भनिन्छ । नर्वेका डाक्टर वैज्ञानिक गेरहार्ड हेनरीक अर्मर ह्यान्सनले सन १८७३ मा कुष्ठरोगको किटाणु पत्ता लगाएका थिए । त्यहीकारण यो रोगलाई कतिपय मुलुकमा ‘ह्यान्सन्स डिजिज’ पनि भनिन्छ ।

यसले मुख्यगरी छाला, नसा तथा मांसपेसीमा असर गर्ने डाक्टर शिवेन्द्र झा बताउँछन् । उनका अनुसार कतिपय अवस्थामा भने यसले आँखा ,कलेजो, मिर्गौला तथा जोर्र्नीमा पनि असर गर्ने र ज्वरो आउने हुन सक्छ। कुष्ठरोग पनि क्षयरोग जस्तै खोकी, हाछ्यूँद्वारा एकबाट अर्को व्यक्तिमा सर्न सक्छ। तर क्षयरोगको भन्दा कुष्ठरोगको किटाणु धेरै कमजोर हुने हुनाले कुष्ठरोग संक्रमित व्यक्तिसँगको लामो सम्पर्क (प्रतिहप्ता २० घन्टा बढी) बाट यो रोग सर्न सक्दछ।

त्यसैले परिवारमा अथवा नजिकको छिमेकमा कसैलाई यो रोग लागेको छ भने अर्को सदस्यमा सर्ने सम्भावना बढी हुन्छ। उपचार सुरू गरिसकेपछि भने कुष्ठरोग संक्रमितबाट अर्को व्यक्तिमा यो रोग नसर्ने डाक्टर झा बताउँछन् ।

नेपालमा कुष्ठरोगको अवस्था

नेपालमा अहिले पनि वर्षेनी करिब २२ सयदेखि २३ सय कुष्ठरोगका नयाँ संक्रमित थपिने गरेका डाक्टर झाको भनाइ छ । पछिल्लो समय बच्चाहरुमा यो रोग बढेको उनले बताए । बच्चाहरुमा देखिनु भनेको समुदायमा फैलिरहेको छ भन्ने हो । जुन खतरनाक हो ।

छिमेकी देशसँगको सीमाना खुला भएका कारण यो सङ्ख्या नेपालमा पनि बढिरहेको उनको भनाइ छ । उनले भने, सिमानामा चेकजाँच पुगेको छैन । भारतमा यो रोग धेरै बढिरहेको छ सीमानामा स्किनिङ टेष्टहरु गर्ने हो यो सङ्ख्या मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा अझै बढ्ने उनले बताए ।

पछिल्लो समय बिरामीमा यस रोग बारेको सचेतना बढ्दै गए पनि कतिपय बिरामीहरु रोगले पुरै च्यापेर हातगोडा नै बाँगिएको अवस्थामा आइपुग्ने उनने बताए ।

उपचार विधि

कुष्ठरोगको उपचार स्वास्थ्य संस्थाहरुमा निशुल्क दिने व्यवस्था नेपाल सरकारले गरेको छ। यसको उपचारका लागि प्रयोग गरिने बहुऔषधि विधिले १२ महिनाभित्र ९९ प्रतिशत बिरामीहरुलाई स्वस्थ बनाइदिन्छ । उपचार भएका बिरामीबाट अन्यलाई यो रोग सर्ने सम्भावना एकदमै न्यून हुने गर्छ। उपचाररत अवस्थामा बिरामीलाई खानामा रुचि नहुने,वाकवाकी लाग्ने, रुघाखोकी वा ज्वरो आउने जस्ता समस्या देखिन सक्छन् ।

कुष्ठरोगको किटाणुले छाला संगसंगै नसामा असर गर्छ । यसले नसालाई खुम्च्याउँछ । यदि समयमै कुष्ठरोगको उपचार गरिएन भने नसा खुम्चिएर हात गोडा नचल्ने पनि हुन सक्छ । साथै आँखाको दृष्टि पनि गुम्ने सम्भावना रहन्छ ।

त्यसैले यो कुनै पूर्वजन्मको पाप नभएर एउटा किटाणुका कारण लाग्ने रोग भएकाले समयमै उपचार गराउँदा पूर्ण रुपमा निको हुने डाक्टर झाको सुझाव छ ।

के गर्छ सरकार ?

अहिले पनि बिरामीहरु सुरुवाती अवस्थामा उपचारमा आउने संख्या एकदमै कम छ । आएपनि धेरै फैलिसकेपछि मात्रै अस्पताल आइपुग्छन् र उपचार अवधी पनि लामो भएकाले बीचमै औषधी खान छाड्नेहरुको सङ्ख्या धेरै छ ।

अहिले नयाँ संक्रमितहरु ब्ढिरहेकाले गाउँ समुदायमै गएर स्किनिङ टेष्टहरु गर्न आवश्यक रहेको डा झाको भनाइ छ । केही हदसम्म सरकारले गरिरहेको र स्किनिङ टेष्टको बारेमा छलफल भइरहेको उनले बताए ।

साथै कुष्ठरोगको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुका लागि विभिन्न प्रकारका तालिमको व्यवस्था गरी सरकारले यसको पहिचान तथा निदानका लागि तयारी अवस्थामा राख्नुपर्ने र निदानमा काम गरिरहेका विभिन्न निजी तथा सरकारी संघ संस्थाहरुलाई नीति निर्माण बनाएर यसको पहिचान तथा निदानमा नेपाल सरकारले महत्वपूर्ण भूमिका खेल्न सक्ने उनले बताए ।