देश/प्रदेश

समुदायमा आधारित कार्यक्रम चलाउन नसक्दा कुष्ठरोग निवारणको लक्ष्य भेट्न कठिन : डा मिश्रा

By खबरहब

January 28, 2024

काठमाडौं- समुदायमा आधारित निगरानी कार्यक्रम सञ्चालन गर्न नसक्दा कुष्ठरोग निवारणको लक्ष्य प्राप्त गर्न कठिन भएको स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा संगीता कौशल मिश्राले बताएकी छिन् ।

७१ औं विश्व कुष्ठरोग दिवसको अवसरमा आइतबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आयोजना गरेको कार्यक्रममा उनले समुदायमा आधारित निगरानी कार्यक्रम सञ्चालन गर्न नसक्दा कुष्ठरोग निवारणको लक्ष्य प्राप्त गर्न कठिन भएको बताइन् ।

दिवसका अवसरमा स्वास्थ्य सेवा विभागद्वारा आज आयोजित कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले अझै पनि विश्वभर कुष्ठरोगबाट धेरै व्यक्ति प्रभावित भएको बताए ।

“अझै पनि विश्वभर कुष्ठरोगबाट धेरै व्यक्ति प्रभावित छन् । कुष्ठप्रभावित व्यक्तिले लाञ्छना, भेद्भाव र स्वास्थ्य सेवामा पहुँचको अभावको सामना गरिरहेका छन् । यसलाई रोकी कुष्ठरोग अन्त्य गर्न सरकार तथा सबै सरोकारवाला निकायको तत्काल पहल र प्रतिबद्धताको आवश्यकता छ”, डा मरासिनीले भने ।

विश्व कुष्ठरोग दिवस फ्रान्सका प्रसिद्ध मानवतावादी रावल फोलेरियोले  कुष्ठरोगको समुचित उपचार गरी निवारण गर्ने, जनचेतनाको माध्यमबाट कुष्ठरोग नियन्त्रण र न्यूनीकरण गर्ने तथा कुष्ठरोग प्रभावितप्रतिको भेद्भावलाई हटाउने उद्देश्यले सन् १९५४ देखि थालनी गरिएको हो ।

कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखा प्रमुख डा प्रशन्न नापितका अनुसार कुष्ठरोग माइकोब्याक्टेरियम ‘लेप्रे’ नामको सुक्ष्म जीवाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो ।