समाचार

महोत्तरीका आगलागी पीडितहरूलाई राहत वितरण

By खबरहब

April 28, 2024

महोत्तरी– महोत्तरी जिल्ला मटिहानी नगरपालिका-६ जरलहवा गाँउ बस्तीमा आगलागीबाट प्रभावित भएका स्थानीयहरुलाई सशस्त्र प्रहरी परिवार महिला संघले राहत बितरण गरेको छ ।

संघकी अध्यक्ष अनिता लामिछाने अर्यालबाट आगलागी पीडितहरूलाई राहत सामाग्री वितरण तथा सामुहिक खानाको कार्यक्रम गरिएको हो ।

सशस्त्र प्रहरी परिवार महिला संघले स्थापना कालदेखी मानवीय सहयोग कार्यमा केन्द्रित रहि विभिन्न समयमा घटेका विपद्का घटनाहरुमा सक्दो राहतका कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ, त्यसैको निरन्तरता स्वरुप मटिहानीमा राहत तथा सामूहिक भोजनको कार्यक्रम सञ्चालन गरिएको थियो ।

१ सय ३ घरधुरी आगलागी पीडितहरूका प्रत्येक परिवारमा कम्बल, सिरानी, टावेल, पानी खाने बोतल, जग, माक्स, स्टिलको कचौरा, गिलास, थाल, चम्चा, व्यक्तिगत सरसफाइ किट (पुरुषरमहिला) तथा सामुहिक रुपमा प्रयोग गर्नेगरी १०-१० थान शौचालय, प्यान तथा पाईप-एल्बो लगायतका राहत सामाग्रीहरु वितरण गरिएको थियो । राहत सामाग्री वितरण कार्यक्रम पश्चात ७ सय जना आगलागी पीडितहरूलाई सामूहिक खाना समेत खुवाइएको थियो ।

कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नामस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपेन्द्र शाह, मधेश प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती प्राब्दा सिंह शाह, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू लगायत जनप्रतिनिधिहरू, स्थानीय भद्रभलाद्मी तथा अधिकारकर्मीहरूको उपस्थिति रहेको थियो ।