ब्रेकिङ स्टोरी

सम्झनामा विष्णुबहादुर : जमिन्दारका छोरा, जीवनभर कम्युनिस्ट

By खबरहब

April 28, 2024

तराई मधेसमा अहिलेसम्म मिटरब्याजीहरुको शोषण कायमै छ । कल्पना गरौैं – आजभन्दा ७० वर्षअगाडि त्यहाँको समाजमा विभेदको स्वरुप कस्तो थियो ? जमिन्दारहरुले किसानमाथि गर्ने शोषणविरुद्ध कसले बोल्थ्यो? यी प्रश्नहरुको खोजी गर्दै जाँदा हामी मधेसमा विसं. २००९ सालतिर चलेको किसान आन्दोलनसम्म पुग्छौं । त्यही किसान आन्दोलनसँग जोडिनुहुन्छ एकजना धनी किसान, अर्थात जमिन्दारका छोरा विष्णुबहादुर मानन्धर ।

नेकपा संयुक्तका नेतासमेत रहेका पुरानो पुस्ताका कम्युनिस्ट नेता मानन्धरले संसार छाडेको आज ठीक ३७ महिना बितेको छ । तर, उहाँको जीवनका पानाहरु पल्टाउँदै जाँदा आधाशाताब्दी पहिलेको नेपाली समाज र कम्युनिस्ट आन्दोलनको चित्र–रेखा पहिल्याउन सकिन्छ ।

नेपालको राजनीतिमा पुराना पुस्ताका लामो समयसम्म संघर्ष गर्दै आउनुभएका तथा लाभको पदबाट धेरैटाढा रहने अनि सामान्य जीवनशैली अपनाउँदै आउने नेकपा संयुक्तका पूर्वमहासचिव एवं बामपंथी नेता विष्णु बहादुर मानन्धरको जन्म बिसं १९८९ मा भएको थियो । ०७७ सालमा उहाँको निधन भयो ।

 प्रजातन्त्रका लागि योगदान

नेपाली कांग्रेसले मानन्धरलाई लखनउ लग्यो । त्यहाँ एकमहिनाको आन्तरिक तयारीपछि उहाँहरूको टिमलाई पश्चिम नेपालको सीमाक्षेत्रमा हातहतियार पुर्याउने र आर्थिक जिम्मेवारी दिएको थियो, जसको नेतृत्व राजेश्वरप्रसाद उपाध्यायले गर्नुभएको थियो । साथै महेन्द्र विक्रम शाह र सूर्यप्रसाद उपाध्यायले पश्चिम नेपालको कमान्डर सम्हाल्नुभएको थियो । त्यसबेला धनगढी कब्जा भइसकेको थियो । देशमा राणाविरोधी आन्दोलन चर्किँदै गएपछि बर्दिया, डोटी, राजापुर, गुलरिया, एकपछि अर्को कब्जा भए । अन्ततः राणा शासकले आफ्नो हारलाई नस्वीकार्नुको साटो दिल्ली सम्झौताको पासा फाल्यो ।

त्यसबेला विष्णुबहादुर मानन्धर लगायत ३५ जनाले दिल्ली सम्झौता धोका हो भनेर कांग्रेसबाट सामूहिक राजीनामा दिए । उता राणा फौजका कमान्डर रुद्र शमशेरका छोरा गोपाल शमशेरसँग रहेका फौजसँग डा. केआई सिंहको विवाद उत्पन्न भएपछि डा.सिंह पनिराणाविरोधी कित्तामा उभिन पुगे ।

यी दुबै विद्रोही समूहको एउटा सशक्त दस्ता बनेपछि नेपालगञ्जका बडाहाकिमलाई पत्र लेखेर आत्मसमर्पण गर्न दबाब दिए । सोहीबमोजिम आत्मसमर्पण पनि भयो ।

यस्तो टकरावको स्थितिबाट गुज्रिरहेको राजनीतिलाई अन्ततः प्रभुको आडमा हस्तक्षेपकारी भूमिका अगाडि सारियो र नेपाली कांग्रेसबाट ५ जना अनि राणाहरुबाट ५ जना रहने गरी मोहन शमशेरकै नेतृत्वमा नयाँ सरकार गठन भयो ।

सरसर्ती हेर्दा विगतको राणा सरकारभन्दा क्रान्तिपछिको यो मिलिजुली सरकार धेरै अर्थमा जनताको पक्षमा उभिएको देखिन्छ । तर, सरकार गठन भएको एकसाता नबित्दै भरतमणि शर्माको नेतृत्वमा भारतीय फौज नेपालगञ्ज प्रवेश गर्‍यो । सो भारतीय फौजले सरकार विरोधीहरूलाई गिरफ्तार गर्‍यो । ललितचन्द्र शर्मा र बालचन्द्रलाई यातना दिइयो । नेता तुल्सीलाल अमात्य लगायतलाई भारतको मोतीहारी जेलमा बन्दी बनाइयो । अन्य धेरैलाई झुटो मुद्दा चलाएर दमन आरम्भ भयो ।

यस्तो परिस्थितिमा विष्णुबहादुर मानन्धर नयाँ विकल्पको खोजीगर्न २००८ सालतिर आफ्नो दाजुलाई भेट्न पटना जानुभयो। त्यहाँ घरमा पुग्दा सूर्यप्रसाद उपाध्यायसँग पनि भेटघाट र गम्भीर छलफल भयो । सूर्य प्रसाद उपाध्यायले तत्कालीन राजनीतिक अवस्थाको सम्बन्धमा बीपी कोइरालालाई पत्र लेख्नुभयो ।

उक्त पत्र लिएर विष्णुबहादुर बीपी कोइलालाई भेट्न रक्सौल जानुभयो । त्यहाँ घण्टौँको पर्खाइपछि भेटेर पत्र दिनुभयो तर कुरा नमिलेपछि वहाँ नेपाली कांग्रेसबाट टाढिएर नदीको दुई किनारका रूपमा अघि बढ्नुभयो । 

किसान आन्दोलन उठान देशमा साझा उद्देश्यको राजनीतिले गलत किसिमबाट कोल्टे फेर्न थालेपछि मानन्धर एउटा भरपर्दो वैकल्पिक शक्तिको खोजीमा लाग्नुभयो ।

 कृष्ण प्रसाद भण्डारी(अहिलेका वरिष्ठ अधिवक्ता) , लीलाराज उपाध्याय आदिको सहयोगमा एउटा समूह गठनगरी शैक्षिक सुधार स्कुलहरुको स्थापना रकपडाको महंगी नियन्त्रणका साथै किसानका जल्दाबल्दा समस्याको समाधानका लागि रौतहट लगायत छिमेकी जिल्लाका १०–१५ हजार किसानको आन्दोलनले ठूलो प्रभाव  पार्‍यो ।

मानन्धरले थालेको किसान आन्दोलनका पछाडि अखिल नेपाल किसान संघको आयोजना भनेपनि रातो झण्डा समूहको उपस्थितिले कम्युनिस्ट पार्टीको नेतृत्वलाई झल्काएको थियो । 

मुख्यतः गौरको किसान आन्दोलनमा (२००९–२०११) गाउँघरका शोषक जालीफटाहाहरुले गरिब निमुखा किसानसँग दोब्बर–तेब्बर रकम बढी राखेर गरिएको तमसुक च्यात्ने, जलाउनेदेखि लिएर मोहियानी हकको पक्षमा आवाज उठाउनेसम्मका कार्यक्रम भए । रौतहट, बारा, पर्सा र सर्लाहीदेखि पूर्बी जिल्लाहरुमा फरक ढंगले आन्दोलन अघि बढ्यो, जसलाई स्थानीय भाषामा ‘तमसुक फट्टा आन्दोलन’ भनिन्यो ।

यो आन्दोलनको नेतृत्व तुल्सीलाल अमात्य, विष्णुबहादुर मानन्धर, कृष्ण प्रसाद भण्डारी आदिको अगुवाइमा भएको थियो । उक्त आन्दोलनमा  जगदेव राउत शहीद भएका थिए । 

आन्दोलनले कम्युनिस्ट बनायो आन्दोलनका क्रममा मानन्धरलाई आफू कम्युनिस्ट भएको अनुभूति भयो । विसं. २००९ सालमा पार्टी सदस्यताका लागि निवेदन दिएपछि २०१० सालमा उहाँले केदार उपाध्यायबाट पार्टी सदस्यता लिनुभयो । त्यसै वर्ष पार्टीको अधिवेशन हुँदा वहाँ निर्वाचित प्रतिनिधिसमेत चुनिनुभएको थियो ।

बि सं २०१४ सालमा मानन्धर नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य बन्नुभयो । २०१५ सालको आमनिर्वाचनमा नेकपा प्रजातान्त्रिक पार्टीले काठमाडौं र पाल्पाबाट एक–एक सिट अनि रौतहटबाट दुईसिट गरी जम्मा चार सीट हातपार्न सफल भएको थियो । त्यतिबेलाको अवस्थामा पार्टीले तराईका जिल्लामा राम्रो पकड जमाएको थियो ।

विसं. २०१७ सालपछि भारतमा भएको‘दरभंगा प्लेनम’बाट नेपाली कम्युनिष्ट आन्दोलनमा नयाँ राजनैतिक मोड आयो । बहुमतमा रहेको केशरजंग रायमाझी पक्षले रुसी कम्युनिष्टको समर्थन गर्‍यो भने अल्पमतमा रहेको पुष्पलाल पक्षले चिनियाँ कम्युनिष्टको समर्थन गर्‍यो । त्यसबेला बिष्णुबहादुर मानन्धर भने तत्कालीन महासचिव रायमाझीको समूहतिर लाग्नुभयो ।

रायमाझी समूहदेखि नेकपा संयुक्तसम्म विसं. २०१७ सालदेखि ०२५ सालसम्म आइपुग्दा केशरजंग रायमाझी, पुष्पलाल श्रेष्ठ, तुल्सीलाल अमात्य आदि नेताहरुको विवादले गर्दा कम्युनिस्ट पार्टी छिन्न–भिन्न हुन थाल्यो ।

चौथो महाधिवेशनमा (रायमाझी समूहले) अध्यक्ष र महासचिव पद सिर्जना गरेपछि विष्णुबहादुर मानन्धरले अध्यक्षमा डा.केशरजंग रायमाझी र महासचिवमा कृष्णराज बर्मा र कमर शाहको नाम प्रस्ताव गर्नुभयो । तर, दुवैजना महासचिव पदमा बस्न नमानेपछि अन्त्यमा प्रस्तावक मानन्धरनै महासचिवमा चयन हुनुभयो ।

पार्टी संगठनको काम राम्रैसँग अघि बढिरहेको थियो । तर, २०३६ सालको जनमत संग्रह घोषणालगतै डा.रायमाझीपार्टीको जिम्मेवारीबाट तर्किन थाल्नुभयो । पार्टी बैठक बसाल्न नखोज्ने अनि दरबारसँगको निकट सम्बन्ध गाँसिएपछि अन्ततः ०३८ सालको राष्ट्रिय सम्मेलनले डा.केशरजंग  रायमाझी, कृष्णराज बर्मा, प्रेमकुमार भट्टराई र कमर शाहलाई पार्टीबाट निस्कासन  गर्‍यो । त्यो निर्णयलाई मुज्जफरपुरको पाँचौं महाधिवेशनले अनुमोदन  गर्‍यो ।

नेपाली कांग्रेसले थालेको ०४२ सालको सत्याग्रहमा बाम र काँग्रेस बीच मोर्चाबन्दीका लागि मानन्धरले सक्दो प्रयास गर्नुभएको थियो । ठीक त्यसैबेला रामराजाप्रसाद सिंहको बमकाण्ड भयो ।

राष्ट्रिय पञ्चायतका एकजना सदस्यको समेत ज्यान जाने गरी भएको बमकाण्डपछि कम्युनिष्ट पार्टीका नेता विष्णुबहादुर मानन्धर र वहाँका छोरा सुनिल मानन्धर लगायत २२ जनालाई थुनामा राखेर मुद्दा चलाइयो ।

मानन्धरले ०४६ सालको जनआन्दोलनमा पनि बाममोर्चा निर्माणमा अग्रणी भूमिका खेल्नुभयो । त्यसबेला वहाँको नेतृत्वमा साहना प्रधान, तुल्सीलाल अमात्य, मनमोहन अधिकारी, राधाकृष्ण मैनाली  वाममोर्चामा रहे । वहाँको पार्टी पनि बाममोर्चामा सामेल भयो ।

०४७ सालको संविधान निर्माणको मस्यौदा समितिमा रहँदा मानन्धरलाई मन्त्रीका लागि समेत प्रस्ताव आएको थियो । तर, उहाँले नीलाम्बर आचार्यलाई मन्त्रीमा सिफारिस गर्नुभयो ।

मानन्धरले नेकपा संयुक्तको स्थापनामा पुर्याएको योगदानलाई बिर्सन सकिन्न । २०४८ सालको निर्वाचनमा नेकपा ( प्रजातान्त्रिक ) ले २ सीटमा विजयी भएर आफ्नो पुरानो पहिचानलाई जोगाएको थियो । 

मानन्धरबाट सिक्नुपर्ने कुरा विष्णुबहादुर मानन्धर आजका नेता झैं सामदाम दण्डभेदको प्रयोग गरेर सत्ताको वरिपरि सधैँभरि मडारिने नेताहरुमध्ये पर्नुहुन्न ।

आफू सम्पन्न जमिन्दारको छोराले २००७ को क्रान्तिमा बन्दुक उठाउनुभयो । मोहीको पक्षमा वकालत गर्नुभयो । सधैं गरिब–दुःखीहरुको पक्षमा उभिनुभयो । अरुलाई अवसर दिने निःस्वार्थी नेता हिजोआजको राजनीतिमा बिरलै भेटिन्छन् । 

उहाँ आज हामीबीच नरहेता पनि वहाँले दुई–चारवटा विषयप्रति ध्यानाकर्षण गराएर जानुभएको छ ।

एउटा– जनताको हरेक संघर्षलाई टुंगोमा नपुर्याई बीचैमाबारम्बार सम्झौतामा टुङ्याउन खोज्ने प्रवृत्तिप्रति होशियार रहनुपर्छ ।

दोसो– जनताका साझा सवालमा कम्युनिस्ट र कांग्रेसको संयुक्त शक्ति मिलेर अघि बढ्न र समाधान खोज्न आवश्यक छ । तेस्रो– नेताहरुले सर्वसाधारण जनताको जीवनस्तर भन्दा फरक विलासी या उच्च जीवनशैली अपनाउन हुँदैन ।

एउटा सम्पन्न किसानको छोरा, जसले नेपालको हरेक व्यवस्था परिवर्तनको संघर्षमा आफ्नो निःस्वार्थ जीवन खर्चिनुभयो । तर, त्यसबापत लाभको खेतीगर्न कहिल्यै चाहनुभएन । जनताको अधिकारलाई ग्यारेन्टी गराउनपट्टि नै  प्रतिबद्ध रहनुभयो । र, सोहीअनुरूप गरिब सर्वहारा वर्गको नेताका रूपमा आफूलाई ढाल्दै आउनुभएको आचरण र व्यवहार पनि वहाँको उत्तिकै अनुकरणीय देखिन्थ्यो । यत्रो राजनीतिक परिवर्तनका बीचमा उहाँलाई ठुल्ठुला भीडको राजनीतिले पनि कहिल्यै विचलित गराएन ।

अन्ततः आफ्नो स्वास्थ्यका कारण ०६३ साल असोज ७ गते नेकपा संयुक्तको महासचिवबाट राजीनामा गरेर स्वास्थ्यलाभ गर्दै आउनुभएको थियो । वहाँ सधैँ निष्ठा र आदर्शको राजनीति गरेर ९१ वर्षको उमेरमा गतवर्ष हामीबाट सधैँका लागि बिदा हुनुभयो ।

आजका लोकतान्त्रिक एवं क्रान्तिकारी नेताहरुले विष्णुबहादुर मानन्धरको जीवनबाट पाठ सिकेर त्यसलाई व्यवहारमा उतार्न सकेको खण्डमा एउटा स्वस्थ्य राजनीतिको संस्कार बसाल्न ठूलो मद्दत मिल्थ्यो ।

एक निष्ठावान् बामपन्थी नेता विष्णुबहादुर मानन्धरलाई श्रद्धासुमन । लालसलाम ।