समाचार

गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्र : ओली

By खबरहब

May 28, 2024

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्र भएको बताएका छन् ।

१७औँ गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै अध्यक्ष ओलीले एक वंशको विशेषाधिकार अन्त्य गरी नेपाली जनता आफैँले चुनेका प्रतिनिधिबाट शासकीय व्यवस्था तय गरेको दिनका रूपमा रहेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्– ‘आफूले चुनेका प्रतिनिधिले गल्ती गरे उनीहरूलाई चुनावबाट फेर्न यही व्यवस्थामा मात्र पाइन्छ । कहिलेकाहीँ हामी गलतलाई चुन्न सक्छौँ, तर गलत चुनियो भन्दैमा चुन्ने अधिकार गलत हुन सक्दैन ।’

उनले नेपाली जनताले अधिकार पाएको उल्लेख गर्दै कर्तव्य पनि भुल्न नहुने बताएका छन् ।