अन्तर्राष्ट्रिय

ढुंगा खानीमा दुर्घटना हुँदा १० जनाको मृत्यु

By खबरहब

May 28, 2024

काठमाडौं– लगातार वर्षापछि मिजोरामको राजधानी आइजोलमा ढुंगाको थुप्रो खस्दा दश जनाको ज्यान गएको प्रहरी अधिकारीले बताएका छन् । 

अधिकारीका अनुसार, आइजोलको बाहिरी इलाकामा भारी वर्षाका कारण भएको घटनामा मिजोरामका प्रहरी महानिर्देशक अनिल शुक्लाले सुरुमा सात जनाको मृत्यु भएको पुष्टि भएपनि रिपोर्टमा मृतकको सङ्ख्या बढेर दश पुगेको छ । 

दुर्घटनाका कारण मानिसको मृत्यु हुनुका साथै रूख तथा बिजुलीका खम्बाहरू उखडिएका छन् भने बाढीका कारण धेरै सडक दुर्गम भएका छन् । मिजोरामका डीजीपीले राज्यका विभिन्न भागबाट धेरै पहिरोका घटना भइरहेको जनाएको छ ।

प्रहरी कर्मचारीहरू निरन्तर उद्धार कार्यमा संलग्न रहेको बताउँदै नदीको जलस्तर बढेकाले नदी किनारमा बसोबास गर्ने मानिसलाई सुरक्षित स्थानमा सारिएको डीजीपीले बताए । 

मिजोरमका मुख्यमन्त्री लालदुहोमाले राज्यभित्र प्रभावितलाई सहयोग गर्न राहतको प्याकेज घोषणा गरेका छन् । सूचना तथा जनसम्पर्क विभागले प्रभावित व्यक्तिलाई १५ करोड रुपैयाँ सहायता प्राप्त हुने र मृतकका आफन्तलाई  चार लाख प्रदान गरिने बताएको छ ।