खेलकुद

फाइनल पुग्न इङ्ल्यान्डलाई १७२ रनको चुनौती

By खबरहब

June 28, 2024

काठमाडौं – टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा भारतले इङ्ल्यान्डलाई जितका लागि १७२ रनको लक्ष्य दिएको छ ।

गुयानाको प्रोभिडेन्स स्टेडियममा टस हारेर सुरुमा ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७१ रन बनाएको हो ।

भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ५७ रन बनाए । ३९ बलको सामना गरेका रोहितले ६ चौका र २ छक्का प्रहार गरे ।उनलाई १४ औं ओभरको चौथो बलमा इङ्ल्यान्डका आदिल रासिदले बोल्ड गरेका हुन् ।

यस्तै सुर्यकुमार यादवले ३६ बलमा ४ चौका र २ छक्का सहित ४७ रन बनाए । हार्दिक पाण्ड्याले २३ रन बनाउँदा रविन्द्र जडेजा १७ मा नट आउट रहे । भारतले पहिलो विकेटको रुपमा विराट कोहलीलाई ९ र दोस्रो विकेटको रुपमा ऋषभ पन्तलाई चार रनमा गुमाएको थियो ।

इङ्ल्यान्डका लागि क्रिस जोर्डनले तीन विकेट लिए । चार ओभर बलिङ गरेका जोर्डनले ३७ रन खर्चिए । त्यस्तै रीस टोपले, जोफ्रा आर्चर, सैम करन र आदिल रशीदले समान एकएक विकेट लिए ।

भारतीय टोली जारी प्रतियोगितामा अपराजित हुँदै सेमिफाइनलमा पुगेको हो । उता इङ्ल्यान्ड समूह चरणमा अस्ट्रेलिया र सुपर८ मा दक्षिण अफ्रिकासँग हारेको थियो ।