फाइल फोटो

समाचार

पहिरो हटाएपछि अवरुद्ध कर्णाली राजमार्ग पुन : सञ्चालनमा

By खबरहब

June 28, 2024

कालीकोट– पहिरो हटाएपछि आज बिहानदेखि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । गए राति परेको वर्षाले पहिरो जाँदा कालिकोटको सिमानामा पर्ने शुभकालिका–१ दहीखोला र कालेखोला बीचको गगने खोलामा पहिरो गएको थियो ।

कालीकोट खण्ड अवरुद्ध हुँदा यो राजमार्ग भएर आवतजावत गर्ने सवारीसाधन शुक्रबार बिहानैदेखि आवतजावत बन्द भएको थियो । अहिले राजमार्ग खुलेपछि यातायातका साधन चल्न थालेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

पहिरो हटाएपछि अहिले राजमार्ग सुचारु  भएको जिल्ला  प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अर्जुन केसीले बताए ।

उनले भने, ‘कर्णाली राजमार्गको सबैतिरको पहिरो हटाएर सडक सञ्चालन आएको छ ।’ कर्णाली राजमार्ग हिउँदमा धुलाम्मे र वर्षातमा पहिरो जाने गर्दै आएको छ ।